मधेश प्रदेशमा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका लागि चीनद्वारा दुई महत्वपूर्ण परियोजना हस्तान्तरण

मूलखबर संवाददाता
काठमाडौं, २० जेठ ।

मधेश प्रदेशमा शिक्षा तथा स्वास्थ्य पूर्वाधार सुदृढ गर्नतर्फ एक महत्वपूर्ण कदमस्वरूप चीन ग्रामीण विकास प्रतिष्ठान (CFRD) ले चीन सरकारको आर्थिक सहयोगमा र नेपालीस्थित चिनियाँ युवा अगुवा समूहको साझेदारीमा दुई प्रमुख परियोजना – “एनलाइटनिङ द फ्युचर” शिक्षा परियोजना र “आरामदायक बिर्थिङ अभियान” मातृ स्वास्थ्य परियोजना — औपचारिक रूपमा हस्तान्तरण गरेको छ।

“एनलाइटनिङ द फ्युचर” परियोजनाअन्तर्गत दुई सामुदायिक विद्यालयहरूमा १४४ सेट डेस्क र बेञ्च, स्मार्ट बोर्ड, सेतो बोर्ड, शैक्षिक सामग्री तथा ६०२ विद्यार्थी पोशाक वितरण गरिएको छ। यस परियोजनाले शिक्षा गुणस्तर सुधार गर्दै सिकाइ वातावरण सुदृढ पार्न मद्दत पुर्‍याउने लक्ष्य राखेको छ, जसले संयुक्त राष्ट्रसंघीय दिगो विकास लक्ष्यअनुसार समावेशी र समान पहुँचयुक्त शिक्षालाई प्रवर्द्धन गर्दछ।

त्यस्तै, “आरामदायक बिर्थिङ अभियान” परियोजनाअन्तर्गत मधेश प्रादेशिक अस्पतालका प्रसूति कक्षहरूमा एयर कन्डिशनर जडान गरिएको छ, जसले आमाहरूको स्वास्थ्य सुरक्षा, सुविधा र प्रसूतिकालीन वातावरणमा गुणात्मक सुधार ल्याउने अपेक्षा गरिएको छ।

यी कार्यक्रमहरूमा पूर्व उपप्रधानमन्त्री श्री ईश्वर पोखरेल र मधेश प्रदेशसभा अध्यक्ष माननीय रामचन्द्र मण्डल प्रमुख अतिथिका रूपमा सहभागी भए। साथै, चिनियाँ दूतावासका अधिकारीहरू, प्रदेश तथा स्थानीय सरकारका प्रतिनिधिहरू, सांसदहरू, विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी, स्वास्थ्यकर्मी तथा परियोजना सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

CFRD नेपाल प्रमुख सुश्री झोउ झिकियाङले कार्यक्रममा बोल्दै, “यी परियोजनाहरू चिनियाँ जनताको नेपाली समुदायप्रतिको गहिरो मित्रता र ग्रामीण विकासप्रतिको प्रतिबद्धताको प्रतिविम्ब हुन्,” भन्दै स्थानीय सरकार र समुदायको निरन्तर समर्थनप्रति आभार व्यक्त गरिन्। उनले शिक्षा, स्वास्थ्य तथा सुरक्षित खानेपानीका क्षेत्रमा सीधै सेवा पुर्‍याउने यस्ता परियोजनाहरू संयुक्त राष्ट्रसंघीय २०३० दिगो विकास लक्ष्य प्राप्तितर्फको ठोस प्रयास भएको बताइन्।

सन् २०१६ देखि CFRD ले मधेश प्रदेशमा ३०,००० भन्दा बढी सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई “लभ प्याकेज” र “वर्म प्याकेज” उपलब्ध गराउँदै आएको छ। COVID-19 महामारीका बेला प्रतिष्ठानले हात धुने स्टेसनहरू जडान, खाद्यान्न तथा शैक्षिक सामग्री वितरण, क्वारेन्टाइन र अक्सिजन केन्द्र निर्माणमा समेत सहयोग पुर्‍याएको थियो।

सन् २०२५ मा नेपाल-चीन कूटनीतिक सम्बन्धको ७० औं वार्षिकोत्सव परेको अवसरमा यी परियोजनाहरू दुई देशबीचको स्थायी मित्रता र सहकार्यको प्रतीक बनेका छन्। दुवै देशका अधिकारीहरूले आगामी दिनहरूमा यस्ता परियोजनाहरू अझ विस्तार गर्दै नेपाली समुदायलाई थप लाभ पुर्‍याउने आशा व्यक्त गरे।