दर्ता भएकामध्ये आधा उद्योग मात्र संचालनमा

IMG_0002
इलाम, ५ वैशाख
घरेलु तथा साना उद्योग विकास समिति इलाममा दर्ता भएकामध्ये १४ सय ५२ उद्योग संचालनमा आएका छन् । समितिमा दर्ता भएका २८ सय ३७ उद्योग मध्ये आधा मात्रै संचालनमा आएको हो । दर्ता भएका मध्ये चिया ७९, राइस मिल दूई सय ६२, कम्प्यूटर प्रशिक्षण ६३, दूध डेरी एक सय ७० उद्योग संचालमा आएका छन् ।
यसैगरि निर्माण व्यवसायी एक सय ९, सिलाईकटाई एक सय २९, हाउस वाइरिङ्ग १८, ग्रिल तथा काष्ठ फर्निचर ६८, व्यूटिपार्लर ५३ र विविध ५ सय १ गरि १४ सय ५२ वटा उद्योग संचालनमा आएका हुन् । दर्ता भएका उद्योग मध्ये १३ सय ८५ वटा उद्योग नियमित रुपमा उद्योग नविकरण नभएको र कतिपय उद्योग खारेज गरिएको घरेलु तथा साना उद्योग विकास समितिले जनाएको छ ।
यस्तै शिप आर्जन गरि उद्योग व्यवसाय संचालन गर्न चाहानेहरुका लागि घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय इलामले १२ वटा शिपमुलक तालिम संचालन गर्ने भएको छ । ग्रामीण क्षेत्रमा रहेका सामान्य लेखपढ गर्न सक्ने युवायुवतीलाई शिप प्रदान गरि उद्यमी बनाउने उदेश्यले घरेलु तथा साना उद्योग विकास समितिले तालिम प्रदान गर्दै आएको छ ।
चालु आर्थिक वर्षमा पनि इलामको माईमझुवा, इलाम नगरपालिका, माइपोखरी, देउमाई नगरपालिका, महमाई, पशुपतिनगर, गोदक, दानाबारी, एकतप्पा, सूर्योदयन गरपालिका, सिद्धिथुम्का र साँखेजुङ गाविसमा शिपमुलक तालिम प्रदान गर्ने घरेलु तथा साना उद्योग विकास समिति इलामका प्रमुख उद्योग अधिकृत नवराज राउतले बताउनुभयो । उद्योग विकास समितिले चालु आर्थिक वर्षमा एक सय ६० युवायुवतीलाई शिप प्रदान गरि उद्योग व्यवसाय संचालन गर्नमा सहयोग गर्नेछ ।
समितिले माईमझुवा गाविसमा मौरीपालन तथा मह प्रशोधन तालिम, इलाम नगरपालिकामा एडभान्स सिलाईकटाई तालिम, माइपोखरीमा फ्रेविक पेन्टिङ, देउमाई नगरपालिकामा प्लवीङ्ग तालिम र महमाई गाविसमा हाउस वाईरिङ्ग तालिम आयोजना गरिने प्रमुख उद्योग अधिकृत नवराज राउतले बताउनुभयो । यसैगरि पशुपतिनगर गाविसमा मेल हेयर कटिङ्ग, इलाम नगरपालिकामा साइन बोर्ड पेन्टिङ्ग, गोदक गाविसमा बासका मुढा बनाउने तामिल, दानाबारी गाविसमा बासका हस्तकला बनाउने तालिम, एकतप्पा गाविसमा ढाका बुनाई तालिम, सूर्योदय गरपालिकामा एडभान्स व्युटीसियन तालिम, सिद्धिथुम्कामा गुडिया बनाउने तालिम र साँखेजुङ्ग गाविसमा हाते चिया बनाउने तालिम आयोजना गर्ने घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालयको कार्यक्रम छ ।
यसैगरि उद्यमीको विकासका लागि उपयुक्त प्रविधि हस्तान्तरण कार्यक्रम पनि चालु आर्थिक वर्षमा संचालन हुने प्रमुख उद्योग अधिकृत नवराज राउतले बताए । तीन लाख रुपैयाँ बजेट रहेको यस कार्यक्रमबाट २० जना लघु उद्यमीलाई सहयोग गर्ने योजना रहेको छ । एक उद्यमीलाई १५ हजार रुपैयाँका दरले उपयुक्त प्रविधि हस्तान्तरण कार्यक्रमबाट प्रदान गरिने उद्योग विकास समितिले उल्लेख गरेको छ । कार्यक्रम अन्तरगत प्रविधि हस्तान्तरण कार्यक्रममा आर्थिक पहुँच नभएका, दलित, अपाङ्ग, आदिवासी, विपन्न उद्यमीलाई सहयोग गर्ने घरेलु तथा साना उद्योग विकास समितिले जनाएको छ । यसैगरि व्यपार प्रवद्र्धनका लागि औद्योगिक प्रद्र्धशनी आयोजना गर्ने संघसंस्थालाई सहयोग गर्ने कार्याक्रम पनि संचान हुने भएको छ । यसैवर्ष तीन निर्वाचन क्षेत्रमा औद्योगिक ग्राम स्थापनाका लागि अध्ययन चालु आर्थिक वर्षमा गरिने प्रमुख उद्योग अधिकृत नवराज राउतले बताए ।
यस्तै गरिबि निवारणका लागि लघु उद्यम विकास कार्याक्रम इलामका चार गाविसमा संचालन हुने भएको छ । चार वर्ष अघिदेखि संचालन हुँदै आएको कार्यक्रम इलामको इरौटार, शान्तिपुर, बाँझो र जोगमाई गाविसमा संचालन हुने प्रमुख उद्योग अधिकृत नवराज राउतले जानकारी दिए । १६ गाविसमा संचालन भइसकेको कार्यक्रमको पहिलो चरण सन् २०१६ सम्म संचालन हुनेछ । गरिबि निवारणका लागि लघु उद्यम विकास कार्याक्रम अन्तरगत इलाममा दूई सय जनालाई सिपमुलक तालिम प्रदान गरि उद्योग स्थापनाका लागि सहयोग गर्ने कार्यक्रम रहेको छ । यस कार्यक्रमबाट यस अघि चारसय ७१ जना उद्यमीको विकास गरिसकिएको तथ्याङ्कमा उल्लेख छ ।