
काठमाडौं उपत्यकामा मनाईने घोडेजात्रा घोडा दौडाएर सुरु
काठमाडौं उपत्यकामा चैते कृष्ण औंसीको दिन मनाईने घोडेजात्रा सुरु भएको छ ।काठमाडौं उपत्यकामा प्रचलित मध्येको यो जात्रा प्राचीन जात्रा मानिन्छ ।
जात्राको अवसरमा नेपाली सेनाले टुँडिखेलमा घोडा दौडाएर यसको सुरुवात गरेको हो । सेनाले घोडाका विभिन्न खेल देखाउने तयारी गरेको छ । यस्तै ललितपुरको पाटनमा एक्लो घोडा दगुराएर घोडेजात्रा मनाइन्छ ।
परापूर्व कालदेखि उपत्यकाको मानव बस्तीमा राक्षसले बालबालिका खाइदिने तथा विभिन्न दुःख दिने गरेको र त्यो राक्षसलाई घोडाको टापले कुल्चाएर मारिएको किंवदन्तीका आधारमा घोडजात्रा मनाइएको पाइन्छ ।
अर्को किंवदन्ती अनुसार हरेक वर्षको चैत्र शुक्ल प्रतिपदाबाट नयाँ वर्षको थालनी हुने विश्वासका आधारमा अघिल्लो दिन चैत्र कृष्ण औँसीमा घोडा कुदाएर नयाँ वर्षलाई स्वागत गरिने प्रचलन रहेको हो । घोडे जात्राको अवसरमा सरकारले बिहीबार काठमाडौं उपत्कायमा सार्वजनिक बिदा दिएको छ ।
