उच्चस्तरीय छानबिन समिति नबन्दासम्म सदन चल्न नदिने: विपक्षी

मूलखबर संवाददाता
काठमाडौं

विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा छानबिन गर्न उच्चस्तरीय छानबिन समिति नबन्दासम्म सदन चल्न नदिने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठक सुरु हुने बित्तकै विपक्षी सांसदहरूले उठेर विरोध जनाए पछि सभामुख देवराज घिमिरेले प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का सांसद वर्षमान पुनलाई बोल्न दिनुभएको थियो ।

पुनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत (सहसचिव) तीर्थराज भट्टराई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिनको दायरामा राखेको र त्यो विषयमा गृहमन्त्री रमेश लेखकको सचिवालय पनि जोडिएको देखिएकाले राजीनामा दिएर मार्ग प्रशस्त गर्न माग गरेका छन्।

‘गृहमन्त्रीज्यूको सचिवालय जोडिएको कुरा आइरहेका छन् । उहाँमाथि र उहाँको सचिवालयमाथि आरोप लागेपछि उहाँले निष्पक्ष छानबिनका लागि मार्ग प्रशस्त गरिदिनुपर्छ । र घटनाको छानबिनका लागि उच्च स्तरीय छानबिन आयोग बन्नुपर्छ । त्यो नहुँदासम्म संसद् चल्न सक्दैन,’ पुनले भन्नुभयो ।