
भिजिट भिसा प्रकरणः प्रतिनिधिसभामा विपक्षीले मागे गृहमन्त्रीको राजीनामा
संसद्का विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरूले राजीनामा मागेका हुन् ।
सभामुख देवराज घिमिरेले बैठकको आजको कारबाही प्रारम्भ हुन्छ भनेबित्तिकै विपक्षी दलका सांसदहरू उठेर अवरोध गरेका थिए । त्यसपछि सभामुखले प्रमुख प्रतिपक्षी दलका सांसद वर्षमान पुनलाई बोल्न दिएका थिए ।
पुनले सञ्चारमाध्यममा मात्र नभई घरघरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसाको नाममा करोडौं असुलेर मानव तस्करी गरिएको विषयको चर्चा भइरहेको बताएका छन् । उहाँले यो प्रकरणको निष्पक्ष छानबिनका लागि राजीनामा दिएर मार्ग प्रशस्त गर्न गृहमन्त्रीलाई आग्रह गर्नुभएको छ। राजीनामा नदिएसम्म संसद् बैठक अघि बढ्न नसक्ने उहाँको भनाइ थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले पनि गृहमन्त्रीमाथि गम्भीर आरोप लागेकाले मार्ग प्रशस्त गर्न आग्रह गर्नु भएको छ । उहाँले गृहमन्त्री पदमै रहेका बेला निष्पक्ष छानबिन हुन नसक्ने बताउनु भयो ।