सरकाले पुनर्निर्माण कार्य ढिलाई गरेकोमा उपराष्ट्रपति पासाङको आपत्ति
काठमाडौं , चैत १९ ।
उपराष्ट्रपति नन्दबहादुर पुन पासाङले सरकाले पुनर्निर्माण कार्य ढिलाई गरेकोमा आपत्ति जनाएका छन् ।
कम्प्यूटर एशोसियसन अफ नेपाल महासंघद्वारा आयोजित क्यान महासंघ अन्तर जिल्लास्तरीय सम्मेलनको उद्घाटन गर्दै उनले भूकम्पपछिको पुनर्निर्माण कार्य तीब्र गतिमा नहुँदा भुकम्प पीडितहरुले दुःख पाएको बताए । उनले भने, ‘हामीले सोचे जसरी, भूकम्पपीडितले अनुभूत गर्ने गरि पुनर्निर्माणको काम अगाडि बढ्न सकेको छैन’ जसले गर्दा दातृ निकाय नै असन्तुष्ट भएका छन् ।
पुनर्निर्माणको काममा भइरहेको ढिलाइप्रति आफूले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको समेत उनले जानकारी गराए । ‘एउटा वर्षा, एउटा हिउँद पार गरेर अर्को वर्षा सुरु हुन लाग्दा पनि भूकम्पपीडित जस्तापाताको टहरो मुनि बस्नुपर्ने स्थिति दुखको विषय हो ।’ उपराष्ट्रपति पासाङले भने ।
उनले सूचना प्रविधिको विकास विना देशको विकास र प्रगतिको कल्पना गर्न नसकिने बताए । ‘राजनीतिक क्रान्तिले गर्न नसकेको प्रगति सुचना र प्रविधिबाट भएको छ । त्यसैले त्यसतर्फ राज्यको ध्यान समयमै जानुपर्छ ।’