सडकदेखी सदनसम्म आवाज उठेपछि धिताेपत्र बाेर्डमा अख्तियारले मार्याे छापा, कागजात नियन्त्रणमा

मूलखबर संवाददाता
काठमाडौं, २५ बैसाख

धिताेपत्र बाेर्डमा कमिसन र भ्रष्टाचारकाे खेल भएको चर्चा सडकदेखी सदनसम्म भएपछि अख्तियारले छापा मारेकाे छ ।

जलविद्युत् प्रवर्द्धकहरूले प्राथमिक सेयर निष्कासन (आईपीओ) मा कमिसन मागेको आरोप लगाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार नेपाल धितोपत्र बोर्ड (सेबोन) मा छापा मारेको हाे ।

बोर्डका एक कर्मचारीका अनुसार आयोगको एक टोलीले बुधबार बिहान साढे ११ बजे ललितपुर, खुमलटारस्थित बोर्डको कार्यालय पुगेर कागजात नियन्त्रणमा लिएको छ ।

धिताेपत्र बाेर्डका अध्यक्षले हाकाहाकी कमिसन मागेकाे कुरा विद्युु कम्पपनीमा लगानी गर्ने व्यवसायीहरूले बाहिर ल्याएपछि सदनमा समेत यसउपर छानवीन गरी कार्वाही गर्न आवाज उठेकाे थियाे ।

माओवादी सांसद सुवाेध सापकोटाले तत्काल छानवीन गरि कार्वाही गर्न सभामुखले सरकारलाई रूलिङ गर्न माग गरेका थिए ।

अख्तियारबाट खटिएको तीन सदस्यीय टोली दिनभर नै बोर्ड कार्यालयमा बसेर विभिन्न फाइलहरू अध्ययन गरेको र साँझ ४ बजे मात्र कार्यालयबाट बाहिरिएको उनले बताए ।

‘टोलीले मुख्यगरी पछिल्लो पाँच महिनामा बोर्डले आईपीओ अनुमति दिएका, अनुमतिका लागि प्रक्रियामा रहेका, प्रक्रिया अघि बढेकालगायत कम्पनीका कागजात मागेर अनुसन्धान गरेको र तीमध्ये केही फाइल साथमै लिएर गएको छ,’ ती कर्मचारीले भने ।

२२ महिनायता करिब ८९ कम्पनीको आईपीओ अनुमति रोकेको बोर्डले ७ प्रतिशतसम्म कमिसन उठाउन बिचौलिया परिचालन गरेको भन्दै जलविद्युत् प्रवर्द्धकहरूले मंगलबार औपचारिक कार्यक्रम गरेर छानबिनको माग गरेका थिए । त्यही विषयमा आयोगले छानबिन तथा अनुसन्धान प्रक्रिया थालेको हो ।