‘जन्मभूमि’ शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा
मोहन निरौलाको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘जन्मभूमि’ शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आउनेछ ।
स्वाभिमानी नेपालीको सार्वभौम सत्ता र राजनीतिमाथि भारतले गर्दै आएको हस्तक्षेप, सीमा अतिक्रमण र हालै गरिएको नाकाबन्दीविरुद्ध फिल्म उभिएको निर्माणपक्षले जनाएको छ । मूलत: सामाजिक कथामा केन्द्रित फिल्ममा राष्ट्रप्रेम झल्काउने क्रममा छिमेक सम्बन्ध पनि दर्साइएको हो ।
निर्देशक निरौलाकै कथा तथा पटकथा रहेको फिल्मको निर्माण सुरज गिरीले गरेका हुन् । विनोद श्रेष्ठ, अनु शाह, निश्मा घिमिरे, ओम प्रतीक, केशव भट्टराई, उत्तम केसी, सगुन श्रेष्ठ, रमेश अधिकारी, बीएस लामिछाने र मोहन निरौला स्वयंको अभिनय रहेको फिल्ममा विश्वकै कान्छा निर्देशक तथा बाल कलाकार सौगात विष्ट तथा नव कलाकार जेविका कार्की र अग्रिम गिरी पनि रहेका छन् ।
निर्देशक निरौलाले फिल्ममा मौलिक नेपाली जनजीवनको कथा समेटिएको बताउँदै भने, ‘फिल्ममार्फत् दर्शकलाई राष्ट्रियता बोध गराउने प्रयत्न गरेको छु । हेरौं कतिको सफल हुन्छु ।’ निरौलाले २० वर्ष पहिले पनि यसै नाममा फिल्म बनाएका थिए । यसपटक नयाँ परिवेश र राजनीतिक अवस्थालाई ध्यानमा राखेर नयाँ पुस्तामा राष्ट्रप्रेम जगाउन खोजेको उनले दाबी गरेका छन् ।