विकास र राजनीतिको अन्तरसम्बन्ध–मोहन विक्रम सिंह
कुनै पनि देशका लागि विकासको प्रश्नले अत्यन्त ठूलो महत्व राख्दछ । कुनै देशको कति उन्नति भएको छ ? त्यो कुरा त्यो देशको कति विकास भएको छ ? त्यो कुराले नै फैसला गर्दछ । समाजको प्रारम्भिक कालदेखि नै मानिसहरूले विकासका लागि प्रयत्न गर्दै आएका छन् । जङ्गली युगमा ढुङ्गाको औजारहरू प्रयोग गर्ने मानिस आज जुन सभ्य अवस्थामा पुगेका छन्, त्यसका पछाडि विकासको नै महत्वपूर्ण भूमिका रहेको छ । कुनै देशमा राजनैतिक परिवर्तन वा क्रान्तिपछि पनि विकास कार्यमा जोड दिने गरिन्छ । कुनै राजनैतिक परिवर्तन वा क्रान्ति कति सफल भयो ? त्यो कुराको मूल्याङ्कन पनि कति विकासका कार्यहरू भए ? त्यसका आधारमा नै गरिन्छ र गरिनु पर्दछ ।
राजनीति र विकासको आपसमा घनिष्ट सम्बन्ध छ । वास्तवमा भन्ने हो भने राजनीतिको अन्तिम उद्देश्य नै विकास हुन्छ । समाजवादी क्रान्तिमा यस कारणले जोड दिइन्छ कि त्यसद्वारा समाजको धेरै नै विकास सम्भव हुन्छ । साम्यवादी समाजको निर्माणमा जोड दिनुको अर्थ यो हो कि त्यसमा समाजको उच्चतम विकास सम्भव छ । त्यहाँ जीवनलाई आवश्यक पर्ने सामानको जुन विकास हुन्छ, त्यसले गर्दा सबैको आवश्यकता पुरा गर्न सकिन्छ ।
जङ्गली युगका तुलनामा दास युगमा उत्पादक शक्तिहरूको बढी विकास हुन्छ र त्यही प्रकारले सामन्ती युग वा पूँजीवादी युगमा पनि उत्पादक शक्तिहरूको झन् बढी विकास हुँदै जान्छ । त्यसको परिणामस्वरूप जङ्गली युगको तुलनामा दास युग, सामन्ती युग वा पूँजीवादी युगमा झन् बढी विकास कार्यहरू हुँदै जान्छन् ।मानव समाजको कति विकास भयो ? त्यो कुराको निर्धारण यो कुराले गर्दछ– समाजमा जीवनका लागि आवश्यक पर्ने समाजको कति उत्पादन भयो ? जङ्गली युगको तुलनामा दास युग, सामन्ती युग वा पूँजीवादी युगमा जीवनका लागि आवश्यक पर्ने सामग्रीहरूका उत्तरोत्तर उत्पादन भयो र हुँदै गयो । त्यही आधारमा नै जङ्गली युगको तुलनामा पछिल्ला युगहरूलाई क्रमशः बढी विकसित युगहरू मानिन्छन् । तर प्रत्येक एउटा पिछडिएको युगबाट तुलनात्मक रूपमा विकसित युगमा प्रवेशमा राजनीतिको महत्वपूर्ण भूमिका रहने गरेको छ ।
पहिलेको जङ्गली युगमा पनि समाजको अवस्थाले एक अवस्थाबाट अर्को अवस्थामा प्रवेश गर्ने गरेका छन् । जस्तै कि पुरानो ढुङ्गे युगबाट नयाँ ढुङ्गे युगमा विकास । ती युगहरूमा भौतिक परिस्थिति र आवश्यकता अनुसार नै परिवर्तन भयो । त्यो परिवर्तनमा राजनीतिको कुनै भूमिका रहेको देखिन्न । जङ्गली युगबाट दास युगमा भएको परिवर्तन पनि स्वतस्फुर्त रूपले भएको देखिन्छ । तर दास युगदेखि पूँजीवादी युगहरूसम्मको विकास क्रममा राजनीति वा सङ्घर्षको महत्वपूर्ण भूमिका रहेको देखिन्छ । दास युगिन व्यवस्थाका विरुद्ध धेरै ठूला दास विद्रोहहरू भएका थिए । सामन्ती युगका विरुद्ध ठूला पूँजीवादी क्रान्तिहरू भए । त्यही प्रकारले पूँजीवादका विरुद्ध समाजवादी क्रान्तिहरू भए र संसारको एउटा ठूलो भागमा समाजवादी व्यवस्थाको निर्माण भएको थियो । समाजवादी क्रान्तिपछि रूसमा कति धेरै विकास भएको थियो ? त्यसका लागि खालि एउटा उदाहरण दिनु पर्याप्त हुनेछ । सन् १९२९ मा आर्थिक सङ्कट भएको वेलामा रूस त्यसबाट मुक्त थियो ।
त्यसरी इतिहासका बेग्ला–बेग्लै कालखण्डहरूमा राजनीतिले जुन परिवर्तन वा क्रान्तिहरू ल्याउँछ, त्यसले विकासको गतिलाई तीव्र बनाउँछ । विकाससित जोडिएको अर्को महत्वपूर्ण प्रश्न हो ः त्यो विकासबाट समाजको कति भागलाई फाइदा पुग्दछ ? अहिले विकसित पूँजीवादी देशहरूमा उच्च प्रकारको विकास भएको छ, तर त्यो विकासका उपलब्धिहरूको असमान प्रकारले वितरण हुने गर्दछ । त्यसले गर्दा त्यो विकासबाट मुख्य रूपले समाजको सानो भागलाई मात्र फाइदा पुग्दछ । त्यो विकासबाट प्राप्त हुने फाइदाहरूलाई सम्पूर्ण समाजमा पुर्याउन समाजवादी क्रान्तिको आवश्यकता पर्दछ ।माथिको सङ्क्षिप्त विवरणबाट एकातिर, जीवनका लागि विकासको अत्यन्त ठूलो महत्व भएको कुरा र, अर्कातिर, विकासको गतिलाई अगाडि बढाउन राजनीतिको भूमिका, अर्का शब्दमा विकास र राजनीतिको अन्तरसम्बन्धलाई पनि बुझ्ने प्रयत्न गर्नु पर्दछ ।
नेपाल विकासका लागि अत्यन्त धेरै सम्भावनाहरू भएको देश हो । नेपालका कतिपय नेताहरूले नेपाललाई स्विटजरल्याण्ड वा सिङ्गापुर बनाउने चर्चा गर्ने गरेका छन् । वस्तुगत रूपमा नेपालका त्यसभन्दा बढी विकासका सम्भावनाहरू छन् । तर त्यसका लागि जुन प्रकारको राजनैतिक व्यवस्था हुनु पर्दथ्यो, त्यसको अभाव छ । प्रश्न अहिले नयाँ जनवादी वा समाजवादी व्यवस्था नै नभएकाले विकासमा बाधा पुगेको छ भन्ने होइन । देशमा कमसेकम जुन प्रकारको पूँजीवादी प्रजातान्त्रिक प्रणाली वा देशको विकासका लागि उत्तरदायी प्रकारको प्रशासन यन्त्र हुनु पर्ने हो, त्यसको पनि कमी छ । संसारका विभिन्न देशमा पूँजीवादी व्यवस्था वा सरकार अन्तर्गत पनि धेरै उन्नति भएको छ । तर विकासका लागि त्यति न्यूनतम प्रकारका जिम्मेवारीहरू पुरा गर्न सक्ने प्रकारका उत्तरदायी राजनैतिक व्यवस्था वा सरकारको पनि हाम्रो देशमा अभाव छ । त्यसैले नै हाम्रो देशमा विकासका अत्यन्त धेरै सम्भावनाहरू भएर पनि हाम्रो देश पिछडिएको अवस्थामा छ । त्यो समस्याको समाधानका लागि राजनीति अगाडि आउनु पर्दछ ।
राजनीति भन्नुको अर्थ राजनैतिक दलहरू नै हुन्छ । राजनीतिक व्यवस्था वा सरकारको निर्माण पनि राजनीतिक दलहरूद्वारा नै हुन्छ । हाम्रो देशको गम्भीर समस्या के हो भने प्रमुख राजनीतिक दलहरू नै विकासको कार्यप्रति इमान्दार, उत्तरदायी वा सक्षम देखिन्नन् । खास गरेर उनीहरूमा भएका देशको विकासभन्दा सङ्कीर्ण स्वार्थहरूलाई केन्द्रमा राखेर काम गर्ने, राष्ट्रिय सम्पत्तिको व्यक्तिगत वा दलीय स्वार्थमा दुरूपयोग गर्ने, भ्रष्टाचार गर्ने वा आफ्ना सङ्कीर्ण स्वार्थहरू पुरा गर्न विदेशी शक्ति वा कम्पनीहरूसित राष्ट्रिय स्वार्थहरूको सौदावाजी गर्ने प्रवृत्तिहरूबाट विकासको काममा धेरै नै बाधा पुग्ने गरेको छ । केही उदाहरणहरूबाट त्यो कुरा प्रष्ट हुने छ ।
कुरा पानी र बिजुलीबाट सुरु गरौँ । जल सम्पदाका दृष्टिले नेपाल संसारको एउटा सबैभन्दा धनि देशहरूमध्येमा पर्दछ । त्यो पानीको मात्र सदुपयोग गर्ने हो भने पनि नेपाल थोरै समयमा नै संसारको एउटा अत्यन्त उन्नत देश बन्न सक्दछ । तर त्यो पानीमाथि विदेशी शक्तिहरू, मुख्यतः भारतले एकाधिकार कायम गर्ने प्रयत्न गरिरहेको छ । नेपालका राजनैतिक शक्तिहरूले सत्ता र आफ्ना सङ्कीर्ण स्वार्थ वा कमिसनका लागि विदेशी शक्ति वा कम्पनीहरूसित सम्झौता गरेर पानीको उपयोगको अधिकार अरूलाई दिने गरेका छन् । उदाहरणका लागि, माथिल्लो कर्णालीमा स्वयं नेपालले नै बिजुली उत्पादन गर्न सक्दछ । नेपालका विभिन्न सञ्चय कोष, बैङ्क, प्रवासी वा आवासीय नेपाली वा आवश्यकता अनुसार विदेशी सरकार वा बैङ्कहरूबाट ऋण लिएर पनि त्यो परियोजनालाई पुरा गर्न सकिन्छ । तर त्यसबारे विदेशी कम्पनीसित सम्झौता गरेर त्यो परियोजना विदेशीहरूलाई दिइएको छ । त्यो गम्भीर प्रकारको राष्ट्रघाती कार्य हो । नेपालका अन्य कैयौँ नदीहरूबारे पनि त्यही प्रकारका असमान वा राष्ट्रघाती सन्धिहरू गर्ने गरिएका छन् । त्यसरी जुन पानीले नेपालको विकासमा धेरै नै मद्दत पुर्याउन सक्दथ्यो, त्यी सबै नदीहरूमाथि विदेशीहरूको स्वामित्व कायम हुँदै गएको छ । आज नेपालमा घण्टौँको लोडसेडिङ हुने गर्दछ । जलश्रोतका दृष्टिले यति धेरै धनि भएको देश अन्धकारमा बस्नु पर्ने—त्यो नेपालको राजनैतिक व्यवस्था वा ठूला राजनीतिक दलहरूका गैरजिम्मेवार नीति वा भूमिकाका कारणले हुने गरेको छ ।
नेपालमा कृषिको विकासको पनि ठूलो सम्भावना छ । सिञ्चाइ, बिजुली, कृषिको आधुनिकीकरण गर्ने हो भने कृषिको विकासको धेरै सम्भावना छ । कृषिको क्षेत्रमा नेपाल आत्मनिर्भर बन्न सक्दछ । तर त्यस विषयमा पर्याप्त ध्यान जान नसक्दा नेपाल कृषिको विषयमा झन्पछि झन् परनिर्भर बन्दै गइरहेको छ ।उद्योगको विकासका लागि पनि नेपालका धेरै नै सम्भावनाहरू छन् । उद्योगहरूको विकासका लागि आवश्यक पर्ने कच्चा सामाग्री, बिजुली, जनशक्ति आदिको नेपालमा कमी छैन । देशभित्र पूँजीको सङ्कलन गरेर प्रवासी र आप्रवासी नेपालीहरूलाई लगानीका लागि प्रोत्साहित गरेर, देशभित्रका विभिन्न कोषहरूबाट ऋण लिएर, स्वयं सरकारले लगानी गरेर वा आवश्यकता अनुसार विदेशबाट ऋण लिएर पनि पूँजीको व्यवस्था गर्न सकिन्छ । तर भारतको प्रारम्भदेखि नै नेपालमा उद्योगधन्दाहरूको विकासमा बाधा पुराउने नीति रहेको छ । भारतले अन्तर्राष्ट्रिय पारवहनमा पुराएको बाधाले गर्दा पनि नेपालमा उद्योग र व्यापारको विकासमा बाधा पुग्ने गरेको छ । विदेशी दवावका कारण नेपालका विभिन्न सरकारहरूसित राष्ट्रिय उद्योग र व्यापारको संरक्षण गर्ने नीति अपनाउने गर्दैनन् र उदार भन्सार नीति अपनाउने गर्दछन् । त्यसबाट पनि शिशु उद्योगहरूको विकासमा बाधा पुग्ने गर्दछ ।
नेपालमा पर्यटनको विकासका असीम सम्भावनाहरू छन् । सर्वोच्च शिखर सगरमाथा र पूर्वदेखि पश्चिमसम्म फैलिएको हिम शृङ्खला नेपालमा छ । त्यो बाहेक नेपालभरि नै कैयौँ पर्वत शृङ्खला, पर्वत शिखर, सुन्दर प्राकृतिक दृश्यहरू छन् । प्राकृतिक सुन्दरता, ऐतिहासिक परम्परा, सांस्कृतिक सम्पदा, जातीय विविधताका दृष्टिले पनि नेपाल धेरै नै धनि छ । त्यो बाहेक एउटा अर्को पक्षले पनि नेपालको पर्यटनमा नयाँ आयाम थप्न सक्दछ । त्यो हो– ग्रामीण पर्यटन । त्यसरी नेपालको प्रत्येक गाउँ पर्यटनको दृष्टिले धेरै नै महत्वपूर्ण हुन सक्दछन् । केही पूर्वाधार तयार पार्ने बित्तिकै नेपालमा पर्यटनको व्यापक विकासको सम्भावना छ ।
माथि नेपालको विकासका केही पक्षहरूको मात्र चर्चा गरियो । ती बाहेक अन्य कैयौँ क्षेत्रहरूमा नेपालमा विकासका धेरै सम्भावनाहरू छन् । तर केन्द्रमा उत्तरदायी राजनीतिक व्यवस्थाको अभाव, देशका प्रमुख राजनीतिक शक्तिहरूको गैरजिम्मेवार प्रवृत्ति, प्रशासनको भ्रष्ट र नोकरशाही प्रवृत्तिका कारणले नेपालमा हुन सक्ने विकास पनि हुन सकिरहेको छैन । देशमा व्यापक विकासको सम्भावना छ । तर नेपालमा राजनीतिक दलहरू, सरकार वा प्रशासनले त्यो विकासमा बाधा पुर्याउने काम गरिरहेका छन् । नेपालको विकासका लागि ती सबैमा सुधारको आवश्यकता छ र त्यस प्रकारको विकासपछि नै नेपालमा दु्रत गतिले विकास हुन सक्ने छ ।
त्यस प्रकारको सुधारका लागि व्यापक र देशव्यापी जनचेतना र राजनीतिक भूमिकाको आवश्यकता छ । यहाँ विकास कार्यका लागि आवश्यक जनचेतना र राजनीतिक भूमिकाको आवश्यकताको जुन कुरा गरियो, त्यो स्वतःस्फूर्त रूपले पैदा हुन्न । सही प्रकारको राजनीतिक दर्शनमािथ आधारित तथा देश र जनताप्रति उत्तरदायी प्रकारको दृष्टिकोण र कार्यशैली भएका राजनीतिक शक्तिको नेतृत्वमा नै देशमा त्यस प्रकारको सुधार सम्भव छ । देशका राजनीतिक दलहरूमा जुन प्रकारको गैरजिम्मेवार, भ्रष्ट र स्वार्थपरायण दृष्टिकोण हावी छ, त्यो अवस्थामा त्यस प्रकारको राजनीतिक दलको विकास अत्यन्त कठिन र जटिल कार्य हो । खास गरेर जनताको कुन राजनीतिक दलको कुन प्रकारको दृष्टिकोण, नीति, राजनीतिक लाइन र कार्यशैली छ ? त्यो हेरेरभन्दा पनि कुनै राजनीतिक दलको शक्ति, प्रभाव वा त्यसबाट फाइदा उठाउने सम्भावनामाथि ध्यान दिएर नै कुनै सङ्गठनलाई समर्थन गर्ने प्रवृत्तिका कारणले देशमा र विकासको क्षेत्रमा सही र प्रभावशाली भूमिका खेल्ने राजनीतिक शक्तिको विकास सजिलो हुन्न र हुने छैन । त्यस प्रकारको राजनीतिक शक्तिको विकास नहुँदासम्म अहिलेसम्म विभिन्न राजनीतिक शक्तिहरूले जुन प्रकारको भूमिका खेल्दै आएका छन्, एउटा नयाँ, आत्मनिर्भर र उन्नत नेपालकोे विकास सम्भव छैन । यो अप्रिय तर कटु सत्य हो । गत ६ दशकको इतिहासको सरसरी प्रकारले अध्ययन गर्ने हो भने पनि त्यो कुरामा कुनै शङ्का रहने छैन ।
विकास कार्यसित सम्बन्धित अन्य दुई वटा कुराहरूमाथि पनि हाम्रो ध्यान जानु पर्ने आवश्यकता छ । प्रथम, जे जति विकास हुन्छ, त्यसबाट खालि मुट्ठिभर व्यक्तिहरूलाई फाइदा हुन्छ भने विकासबाट पुग्ने योगदान ऋणात्मक नै हुने छ । त्यसकारण कुनै देशमा विकास बढ्दै जानुका साथै समाजका बहुसङ्ख्यक जनतालाई त्यसबाट लाभ पुगोस्—त्यसप्रति पनि हाम्रो ध्यान जानु पर्दछ ।
द्वितीय, अहिले देशमा जे जति विकास भएको छ, त्यो राजधानी, केही खास स्थान वा सहरहरूमा नै सीमित रहने गरेको छ । देशका दूरवर्ती वा ग्रामीण भागहरूमा विकास कार्यहरू पछाडि पर्ने गरेका छन् । त्यसकारण अहिलेको विकास नीतिमा परिवर्तन गरेर विकेन्द्रित र सन्तुलित प्रकारको विकास नीति अपनाउने प्रयत्न गर्नु पर्दछ, जसबाट देशको सर्वाङ्गीण विकास हुन सकोस् । कुनै पूँजीवादी व्यवस्थाभित्र हुने विकासबाट सम्पूर्ण जनता वा देशको सबै क्षेत्रमा मद्दत पुग्ने सम्भावना अत्यन्त कम हुन्छ । त्यसका लागि विद्यमान अवस्थामा आमूल परिवर्तन हुनु पर्ने आवश्यकता छ, जो लामो क्रान्तिकारी आन्दोलनद्वारा नै सम्भव छ । तैपनि विद्यमान व्यवस्थाभित्र पनि अधिकतम विकासलाई अगाडि बढाउने हाम्रो प्रयत्न हुनुपर्दछ ।