आज गणतन्त्र दिवस, के दियो गणतन्त्रले ?

मूलखबर संवाददाता
काठमाडौं, १५ जेठ

आज जेठ १५ गते । नेपालमा गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको दिन अर्थात गणतन्त्र दिवस । नेपाली जनताको वीरतापूर्ण संघर्ष र बलिदानबाट संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १७ वर्ष पूरा भएको छ ।
नेपाली जनताको सात दशकभन्दा लामो त्याग, बलिदानीपूर्ण जनसङ्घर्ष र जनआन्दोलनबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो । रक्तमुछेल विगतलाई शान्तिपूर्ण वर्तमानमा बदल्दै सामाजिक न्याय, स्वाधीनता र नागरिकको अधिकारका लागि युगीन रूपान्तरणको अध्याय आरम्भ भएको दिनको स्मरण गर्दै बिहीबार १८ औँ गणतन्त्र दिवस मनाइँदै छ ।

आज भन्दा १७ वर्ष अगाडि आजकै दिन विसं २०६५ जेठ १५ गते जननिर्वाचित संविधान सभाको पहिलो बैठकबाट २४० वर्षदेखि सत्तामा रहेको राजतन्त्रात्मक व्यवस्था अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको थियो। सार्वभौम सत्ता राजाको र राजपरिवारको हातबाट खोसेर जनताको हातमा ल्याइएको दिन हो आज । तत्कालिन नेकपा माओवदीको नेतृत्वमा ०५२ फागुन १ देखी २०६३ मंसिर ५ सम्म सञ्चालन भएको जनयुद्धको बलमा तथा सात राजनीतिक दलसहित २०६२÷६३को जनआन्दोलनको सहयोगमा नेपालबाट राजतन्त्रात्मक व्यवसथा अन्त्य सम्भव भएको हो ।

एकात्मक, सामन्ती र वंश परम्पराको आधारमा शासन सञ्चालन हुने राजतन्त्रात्मक व्यवस्था को अन्त्य गरी संघिय लोकतन्त्रिक गणतन्त्र स्थापना गर्नको लागि भएको जनयुद्धमा १७ हजार भन्दा वढीको बलिदान भएको छ भने जनआन्दोलन, मधेश आन्दोलन र विभिन्न संघर्षमा कैयौंले ज्यान गुमाएका छन् । त्यसैगरी हजारौं नागरिक अझै वेपत्ताको अवस्थामा छन् ।

यसले पितृसत्तात्मक जहानियाँ सामन्ती राजतन्त्रको अन्त्य गरी सम्पूर्ण उत्पीडित समुदायको अधिकारसहित राज्य सत्तामा समावेशी र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरेको छ । यसले सयौं वर्षदेखि उत्पीडनमा पारिएका वर्ग, क्षेत्र, जाति, भाषा, धर्म, लिंग र संस्कृतिका जनसमुदायको अधिकार स्थापित गर्दै रैती वा प्रजा होइन, आम जनतालाई नागरिकको हैसियत प्रदान गरेको छ । यद्यपि गणतान्त्रिक संविधानबाट प्रदत्त मौलिक हकको अक्षरशः कार्यान्वयन गरेर पूर्णरुपमा अधिकार सम्पन्न बनाउँदै फेरिएको व्यवस्थाअनुकूल नेपाली जनताको आर्थिक, सामाजिक र सांस्कृतिक जीवनमा रुपान्तरण गर्ने कार्यभार अझै बाँकी नै छ ।

गणतन्त्रले हेपिएका चेपिएका, सधै राज्यसत्ताद्वारा उत्पीडिनमा पारिएका वर्ग, लिंग, क्षेत्र र समुदायलाई राज्यको मूल धारमा र नीति निर्माणको तहमा पुर्याएको छ । सामाजिक, सांस्कृतिक र आर्थिक रुपमा जनतालाई अधिकार सम्पन्न पार्दै सामाजिक न्याय, सुशासन र विकासको दिशामा मुलुकलाई लैजाँदै समाजवादी राष्ट्र निर्माण गर्ने संकल्प लिएको छ । गणतन्त्र जनताको पक्षमा, राष्ट्रको पक्षमा र विशेषतः भुई मान्छेको पक्षमा अनुभुत हुनेगरी फैलाउन आवश्यक छ, गणतन्त्रको उपलव्धी जनताको जिवनमा आउने परिवर्तनबाट अनुभुत हुनुपर्दछ ।

संविधानतः जनता सार्वभौमसत्ता सम्पन्न भएका छन् । लिंगिय विभेदले जकडिएको अवस्थामा अहिले ३३ प्रतिशत महिलाको सहभागिता राज्यको सबै तह र निकायमा सुनिश्चित भई कार्यन्वयनमा गएको छ, छुवाछुतलाई अपराधको रुपमा ग्रहण गरी राज्यको सबै तहमा दलितको लागि १३ प्रतिशत सुनिश्चित गरिएको छ, आदिवासी जनजातीलाई राज्यको नीति निर्माण तहदेखि हरेक निकायमा २० प्रशिसत अनिवार्य व्यवस्था कार्यन्वयनमा गएको छ । कर्णाली र सुदुरपश्चिम जस्ता अति विकट र पिछडिएका क्षेत्रका लागि निश्चि आरक्षण र अधिकारको सुनिश्चित भएको छ । मधेशी समुदाय, मुस्लिम समुदाय र अल्पसंख्यक सिमान्तकृत समुदायलाई राज्यको मूलधारमा ल्याउन सम्भव बनायो ।

गणतन्त्र दिवसले जनताको पक्षमा, संविधानको कार्यन्वयनको पक्षमा र शान्ति प्रक्रियालाई पुरा गर्ने सम्वन्धमा ठोस काम गर्न सकोस्, हाम्रो पनि शुभकामना ।