सार्वजनिक यातायात सुधार्ने की राइड शेयरिङकाे विराेध गर्ने ?
मैला सीटहरू, चर्को स्वरमा ‘छाडा’ गीतहरू । न समयमा हिंड्छन्, न समयमा गन्तव्यमा पुर्याउँछन् । गुन्द्रुक कोचेजस्तो यात्रु कोच्ने अनि भाडामा मनोमानी ।
राइड सेयरिङ आएपछि हाम्रा सार्वजनिक यातायातका यी सकसबाट यात्रुले केही हदसम्म भएपनि राहत पाएका छन् ।
बस, माइक्रो र टेम्पु नचल्ने भित्रि बाटाहरूमा जानुपर्दा होस् या इमन्जेर्सी पर्दा ट्याक्सीको बार्गेनिङ । १०००/१५०० भन्दा कममा हिंड्दै नहिंड्ने ।
अहिले त्यसको झन्डै आधा रकममा यात्रुले पठाओ ट्याक्सी, इनड्राइभमा यात्रा गर्न पाएका छन् ।
आफ्नो मनोमानी मात्रै चल्न पाउनुपर्छ भन्ने यातायात व्यवसायीको अहिलेको माग र यही माग राखेर गरिएको विरोध एकदमै वाइयात हो ।
यसको अर्थ राइड सेयरिङमा चाहिँ केही समस्या छैन भन्ने होइन । अफलाइन बार्गेनिङ अनि राइडरले कम्पनीलाई बुझाउनुपर्ने प्रतिशत धेरै भएका कारण यात्रुले राइड सेयरिङमा पनि महङ्गो भाडा तिर्नु परिरहेको छ । २०/२४ प्रतिशतमा रहेको कमिसनलाई ५/१० प्रतिशतमा झार्न सके यात्रुले सहुलियत मूल्यमा यात्रा गर्न पाउँछन् । सुरक्षाका खातिर पनि अफलाइन यात्रालाई भने निरूत्साहित गर्नैपर्छ ।
यति पढिसकेपछि तपाईको मनमा प्रश्न उठ्न सक्छ, अनि के सार्वजनिक यातायात चाहिँ बन्दै गरिदिने ?
होइन । सार्वजनिक यातायातमा व्यापक सुधार गर्ने ।
क.) सरसफाइ – सिटहरू चिटिक्क, सफा र मेन्टेन भएको हुनप¥यो ।
ख.) साउन्ड पोलुसन नियन्त्रण – चर्कोे आवाजमा गीत बजाउन प्रतिबन्ध, गीत बजाउँदा मसिनो आवाजमा बजाउने !
ग.) समयमा छुट्ने र समयमा गन्तव्यमा पुग्ने – हाम्रा सार्वजनिक यातायात समयमा छुट्ने र समयमा गन्तव्यमा पुग्ने हो भने स्कुल कलेज जाने, कार्यालय जाने वा अन्त जहाँसुकै हिंड्दा पनि अधिकांशले सार्वजनिक यातायात नै प्रयोग गर्छन् । सार्वजनिक यातायातको भर नहुँदा सक्नेले आफ्नै गाडी र बाइक/स्कुटर किन्ने अनि नसक्नेले पठाओ/इन्ड्राइभ प्रयोग गर्नु परिरहेको छ ।
घ.) चालक र सहचालकको बोली व्यवहारमा परिवर्तन – हाम्रा सार्वजनिक यातायातका चालक र सहचालकले मैले यात्रुलाई सेवा दिइरहेको छु, सभ्य र मीठो बोली बोल्नुपर्छ भन्ने कुरा थाहा पाउनुपर्छ र सोही अनुसारको व्यवहार गर्नुपर्छ । हतार भए ट्याक्सी चढे भइहाल्यो नि, आफ्नै गाडीमा गए भइहाल्यो नि भनेर ठाडो जवाफ फर्काउनु भएन ।
#हेल्लो सरकार, सार्वजनिक यातायात सुधार्ने हिम्मत छ ? योजना छ ? कि रेल, पानीजहाज र अन्तराष्ट्रिय विमानस्थलको भाषण गरेरै फुर्सद छैन ? 😡




