किन आत्तिए पुर्व राजा ज्ञानेन्द्र ?
पूर्वराजा ज्ञानेन्द्र शाहले नराम्रो सपना देखेकोले थाइल्यान्डबाट फर्किएर ज्योतिषहरुसँग परामर्शमा जुटेको बताइन्छ । उनी उपलब्धि लिएर मात्र स्वदेश फर्किने भन्दै माघ दोस्रो साता थाइल्यान्ड पुगेका थिए । तर नराम्रो सपना देखेकोले छिट्टै फर्किएका हुन् ।
यसअघि उनले आप्ना पिता महेन्द्रको श्राद्ध गर्न ब्राह्मण बोलाउँथे । तर यसपटक भने एकछाकी बसेर आफैले बाबुको श्राद्ध गरे । महेन्द्रको श्राद्ध फागुन ११ गते परेको थियो । ज्ञानेन्द्र फागुन ९ गते नेपाल फर्किएर १० गते एकछाकी बसी ११ गते श्राद्ध गरेका थिए ।
समाचार स्रोतअनुसार सपनामा बाबु महेन्द्रसँग दोहोरो कुरा भएका कारण उनी आत्तिएका हुन् । मरेका मान्छेसँग दोहोरो कुरा हुनुलाई नेपाली समाज अनिष्टको संकेत मानिन्छ ।
धर्मशास्त्रअनुसार राजाले बाबु-आमाको श्राद्ध गर्नु पर्दैन । त्यो काम राजाका भाइहरुले गर्ने गर्छन् । वीरन्द्रको वंशविनाशपछि ज्ञानेन्द्र र धिरेन्द्रले महेन्द्रको श्राद्ध गर्दै आएका थिए । तर धिरेन्द्रको पनि हत्या भएकोले श्राद्ध गर्न ब्राह्मणको व्यवस्था गरिएको थियो ।
राजसंस्थाको अन्त्य भएपछि ज्ञानेन्द्रले स्वतः पितैको श्राद्ध गर्नुपर्ने थियो तर उनले राजसंस्था संकटमा परेको मात्रै ठानेका छन् । त्यसैले उनले गद्दीबाट च्युत भएपछि पनि आफूलाई राजा ठान्दै बाबु-आमाको श्राद्ध गरेका थिएनन् ।-साँघु साप्ताहिक