कुनै पनि पाठ चयन गर्नुहोस् र सुन्न आइकनमा क्लिक गर्नुहोस्!

फोनिजको आठौं महाधिवेशन लुम्बिनीमा हुने, तयारी तिब्र

मूलखबर संवाददाता
काठमाडौं

आदिवासी जनजाति पत्रकारहरुको साझा संस्था नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को आठौं संघीय महाधिवेशन चैत २९ र ३० गते लुम्बिनीमा हुन गइरहेको छ । महाधिवेशनको उदघाटन सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गर्नुहुनेछ ।

फोनिज संघीय महाधिवेशनको सबै तयारी करिब पूरा भएको फोनिज महासचिव समीर बलामीले जानकारी दिनुभयो । महाधिवेशनमा पाँचसय प्रतिनिधि तथा पर्यवेक्षकको सहभागिता रहने उहाँको भनाइ छ ।

फोनिजको ६६ जिल्लामा समिति रहेको छ । आठ जातीय पत्रकार संगठन आवद्ध छन् भने आठ विदेश शाखा रहेको फोनिज पदाधिकारीहरुको भनाइ छ । फोनिजमा साढे चार हजार आदिबासी जनजाति पत्रकार आवद्ध छन् ।

आठौं महाधिवेशनका लागि वरिष्ठ उपाध्यक्ष लक्की चौधरी अध्यक्षमा दावी गर्नुभएको छ । यसअघिको कार्यकालमा समेत उपाध्यक्ष रहिसक्नुभएका चौधरीले तराई–मधेसबाट अहिलेसम्म फोनिजको नेतृत्वमा कोही आउने अवसर प्राप्त नगरेकाले आफूले यस पटक स्वाभाविक दावी गरेको बताउनुभएको छ ।

२०५६ साउन २७ गते तत्कालीन रुपमा नेपाल आदिबासी जनजाति पत्रकार संघ (अनिज) को रुपमा स्थापना भएको संस्था २०७० सालमा फोनिजमा रुपान्तरण भएको थियो । आठ जातीय पत्रकार सम्बद्ध फोनिजमा मगर, थारु, गुरुङ, शेर्पा, तामाङ, नेवाः, राई र लिम्बु पत्रकार संघ आवद्ध छन् ।

आफ्नो रजत वर्ष मनाइसकेको फोनिजमा अहिलेसम्म राई, गुरुङ र तामाङ समुदायबाट पत्रकारले नेतृत्व गरिसक्नुभएको छ । संस्थापक अध्यक्ष चन्द्रसिंह कुलुङ राईले दुई कार्यकाल फोनिजको नेतृत्व गर्नुभयो । त्यसपछि खिम घलेले एक कार्यकाल नेतृत्वमा रहनुभयो । सोपछि मोहनसिंह लामाले एक कार्यकाल नेतृत्वमा रहनुभयो । लामापछि पत्रकार डण्ड गुरुङले दुई कार्यकाल फोनिजको नेतृत्वमा रहनुभयो । अहिले गजुरधन राई फोनिजको नेतृत्व गरिरहनुभएको छ ।

लुम्बिनीमा हुने आठौं महाधिवेशनले ५३ सदस्यीय संघीय समिति गठन गर्नेछ । फोनिजमा अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित पाँच उपाध्यक्ष, महासचिव, पाँच सचिव, कोषाध्यक्ष र सहकोषाध्यक्ष गरी १५ सदस्यीय पदाधिकारी रहने विधानमा व्यवस्था छ ।

छान्नुहोस् र सुन्नुहोस्