नेपाल बार निर्वाचनको मतगणना शुरु : १२ वटा मतदान केन्द्रको गणना हुँदा यस्तो छ अवस्था

मूलखबर संवाददाता
काठमाडौं, २५ चैत ।

नेपाल बार एसोसिएसनको निर्वाचनको मतगणना शुरु भएको छ । चैत २३ गते भएको निर्वाचनको मतगणना आज २५ गते अपरान्ह मात्रै शुरु भएको हो । आज पहिलो दिन भएको मतगणनामा कोशी प्रदेशका चार र मधेशको एक जिल्लाको मतगणना परिणाम सार्वजनिक भएको छ ।

राति ८ बजेसम्म चलेको मतगणनाअनुसार बृहत् लोकतान्त्रिक, प्रगतिशील, पेशागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट अध्यक्षका उम्मेदवार वरिष्ठ अधिवक्ता प्राडा विजयप्रसाद मिश्र अगाडि देखिएका छन् । उनले प्रतिद्वन्द्वी व्यावसायिक कानुन व्यवसायी समूहका वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठलाई २७३ मतले पछाडि छाडिसकेका छन् । श्रेष्ठले मात्र ४३४ मत पाएका छन् । मिश्रले भने ७०७ मत प्राप्त गरेका छन् ।

बारको केन्द्रीय कार्यालय काठमाडौँस्थित विभिन्न तीन स्थानमा मतगणना भइरहेको छ । आज झापा, बारा, मोरङ, इलाम, विराटनगर, सुनसरी, धनकुटा, राजविराज, उदयपुर, सिराहा, सर्लाही र रौतहट गरी १२ वटा मतदान केन्द्रको मतगणना गरिएको हो । बाँकी मतगणना मंगलबार बिहान ८ बजेदेखि सुरु हुने निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता ताराबहादुर सिटौलाले जानकारी दिएका छन् ।

कोसी प्रदेशका झापा, इलाम, धनकुटा र उदयपुर तथा मधेश प्रदेशको सिरहा जिल्लाको मतगणना सकिँदा वरिष्ठ अधिवक्ता विजयप्रसाद मिश्रले २ सय १५ मत प्राप्त गरेका थिय ।
माओवादी र रास्वपानिकटका कानुन व्यवसायीको गठबन्धनका अध्यक्ष उम्मेदवार वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले १ सय ३२ मत प्राप्त गरेको नेपाल बारले जारी गरेको मतगणना अपडेटमा उल्लेख छ ।

एसोसियसनको नयाँ नेतृत्व छनोटका लागि शनिबार निर्वाचन भएको थियो । बारमा देशभरबाट ९ हजार ९ सय५७ मतदाता रहेकामा ८० प्रतिशत मत खसेको थियो । काठमाडौं र बाहिर गरी जम्मा ३६ वटा मतदान केन्द्रमा मतदान भएको थियो ।

बारको नयाँ नेतृत्वका लागि अध्यक्षमा बृहत् लोकतान्त्रिक, प्रगतिशील,पेसागत,राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता विजयप्रसाद मिश्र र व्यावसायिक कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ प्रतिस्पर्धामा रहेका छन् ।