लीला भुईंचालोको, खेल राजनीतिको

चैत्र ६, २०७२- समय बित्न निमेष लाग्दैन । अस्ति भर्खर मनाएको जस्तो लाग्छ नयाँ वर्ष । अर्थात विक्रम सम्वत् २०७२ वैशाख १ गते । बाह्र दिनमै यो वर्ष विनाशकारी सावित भएपछि मानिसले यसलाई सम्झनाबाट मेटाउन खोजेका छन् । तर, यो मेटिनेवाला छैन । जतिसुकै सरकारी कामकाज र चलनचल्तीको सम्वत् भए पनि ‘वैधानिक वर्षारम्भ’ मनाउने हाम्रो चलन छैन । जे जति मनाइन्छ त्यो अंग्रेजी वर्षारम्भमै मदिरामय मनाइन्छ धुमधामसँग । त्यसैले होला, विक्रम सम्वत्ले पहाडको एकतर्फी र घुम्ती सडकको अन्तिम बिन्दुमा बनेको जेब्राक्रसिङ पार गरिसकेको कसैले पत्तै पाउँदैन ।

वर्षको समाप्तिसँगै प्राकृतिक प्रकोप र राजनीतिक विग्रहका चरम यातनादायी दिनहरू मानिसको स्मृतिबाट लखेटिने तरखरमा छन् । सम्झनाको कन्तुरमा यति कुरूप वस्तुहरू स्थायी रूपले रहन थाले भने सामान्य मानिसका लागि जिउनु कठिन हुन्छ । पीडाहरू सधैंका लागि लोप हुन सक्दैनन् । काठमाडौं सहरमा एउटा सुनधारा अहिले पनि छ । त्यो पुरिन बाँकी नै छ । सुनको धाराबाट पानी आउँछ कि आउँदैन ? त्यो जानी राख्नुपर्ने कुरा भएन ।

पित्तल र तामाका गाग्री बोकेर मस्किँदै सुनधारामा पानी थाप्न कोही आउँदैन हिजोआज । वरपरका टोलबाट गाग्री बोकेर भीड छिचोल्दै धारासम्म आउनु सम्भव नै छैन । सुनधारा साबुत भए पनि त्यसको छेउमा ठाडो उभिएको धरहरा अब छैन । इतिहासको ज्युँदोजाग्दो प्रतीकको सरकारी मान्यता पाएर लामो कालखण्डसम्म ठडिएको त्यो धरहरा वैशाख १२ गते भुईंचालोको सहिद बन्यो । त्यसलाई धेरैले बिर्सिन चाहेका छन् । तर, सरकार र यसका प्रमुख भने माना–मुठ्ठी उठाएर पनि धरहरा बनाउन लागिपरेका छन् ।

सरकार प्रमुख बन्नुुभन्दा केही पहिले उनी धरहरा चढेर रमाएका थिए भन्दैमा उनको नाति पुस्ता पनि धरहराको उचाइमा रमाउन सक्दैन । उसका लागि त ढल्दै गरेको धरहराको भिडियो नै पर्याप्त छ रमाउनका लागि । उसै पनि सहर धरहराभन्दा अग्ला घरहरूले भरिइसकेको छ ।

उद्यमीहरूले बनाउन लागेको चन्द्रागिरि छिचल्ने रोपवे सञ्चालनमा आएपछि तीन सहरको दृश्यावलोकन आकर्षक र रमणीय हुनेछ । हामीमध्ये धेरै हात्तीवनको डाँडो उक्लिएका छौं होला । लोडसेडिङ नभएको साँझ त्यहाँबाट देखिने जगमग उज्यालो उपत्यकाको दृश्य कसैको मनबाट हट्नै सक्दैन ।

सुनेको कुरा हो, उहिले रणवांकुरहरूले धरहराको बार्दलीबाट बिगुल फुकेपछि रैतीहरू टुँडिखेलमा जम्मा हुनुपथ्र्यो रे शासकको नयाँ उर्दी सुन्न । उतिबेला देश उर्दीमा चल्थ्यो । अहिले लोकतन्त्रको समयमा संवैधानिक ढंगले देश चलाउनुपर्छ भन्छन् नेताहरू । देश भने उर्दीमुक्त हुन सकेको छैन । यत्ति हो कि, अहिले सरकारले दुनियाँलाई सूचना दिन बिगुल फुकिरहनुपर्ने न अवस्था छ, न आवश्यकता ।

सरकारसँग दुनियाँलाई सुनाउनुपर्ने खासै सूचना पनि छैनन् । एउटा नाकाबन्दीको अन्त्य भएको छ । छिमेकी देशका नेताहरू बेलाबेलामा संविधानको पूर्णताका बारे प्रश्न गरिरहेका सुनिन्छन् । संविधानले पूर्णता नपाएसम्म यो चलायमान र गतिशील हुँदैन । कांग्रेसका नेताहरू भन्न थालेका छन्, हाम्रो नेतृत्वमा बनेको नेपालको संविधानको कार्यान्वयन हामीले मात्र गर्न सक्छौं । त्यही पर्खिंदै छ संविधान । राजनीति र सत्ताको यो कबड्डी खेलमा कसले जित्ला र कसले हार्ला ? भन्न सकिँदैन ।

सरकारले राष्ट्रवादको संगीत जति चर्को स्वरमा बजाए पनि संविधान अहिलेसम्म बबुरो नै छ । राजनीतिको वृत्तमा मधेसको माग पूरा नभए अर्को चरणको नाकाबन्दी सुरु गर्नुपर्ने गम्भीर चर्चा हुन थालेको छ । किनभने बजारमा ग्यास सुलभ भएको छैन, ग्यासमा नाकाबन्दी जारी नै रहेको छ । किनभने संविधानमा मधेसले न्यायपूर्ण प्रतिनिधित्व पाएको छैन ।

भुुईंचालोले तहसनहस बनाएको देशमा जनताले जसोतसो राहतमा पाएको देशी–विदेशी पाल र त्रिपालमा घुस्रेर वर्षाकाल काटे । देशमा भुईंचालो नगएको भए ती जनताले चिटिक्क परेका सुन्दर पाल कहिल्यै देख्न पाउँदैनथे । ट्रकको छत बनेको त्रिपाल मात्रै देख्ने थिए । राहतमा आएका ती पाल दामी थिए, जसको वितरण जनताको औकात हेरेर गरियो ।

पार्टी, सरकार र राजनीतिमा जसको पहुँच बढी थियो, तिनले राम्रो, उम्दा र ब्रान्डेड पाल पाए । अरू पाल सामान्य थिए । भनिएको थियो, ६ महिना पालमा गुजारा गर । ६ महिनापछि वर्षा सकिन्छ, संविधान पनि लेखिन्छ, त्यसपछि बनाउला घर । जनता मौन भए । मौनको अर्थ थियो स्वीकार छ सरकार ।

छिट्टै घर बन्ने आशा र अपेक्षामा पालभित्र गुजारा गर्न थालेपछि जनताले पानीमा भिज्लान् भन्ने डरले वस्तुभाउलाई पनि पालको एकछेउमा घुसारे । अलिअलि दसैं र अलिअलि तिहार मनाए । अलिअलि फलेको अन्नपात बटुलेर आँगनमा थुपारे । मान्द्रो, गुन्द्री, राडी जे भेटियो त्यसैले छोपछाप पारेर भोलिका लागि अन्नपातको जतन गरे । त्यसपछि भित्रियो जाडो ।

चिसो मौसममा जनताका कठांग्रिएका कानले सरकारको दिव्य वचन सुने– भुईंचालो पीडितको समस्याप्रति सरकार संवेदनशील छ । जाडो मौसमको निखारतिर सरकारले आफ्नो संवेदनशील स्वभाव देखायो । भुईंचालो पीडितहरूले कम्बल नामको एकसरो च्याङ्लो भेट्टाए । अलिकति पैसा पनि हात पर्‍यो । अहिले गर्मी उभारमा चढ्न लागेको छ र पनि सरकारले न्यानो बाँड्न छाडेको छैन । यो विडम्बना हो कि जनतामाथिको चरम व्यंग्य ? थाहा छैन ।

यो वर्ष खासै नयाँ केही भएन । विनाश र सर्वनाशले तर्साएको मानिसको मुटु पूरै वर्ष कम्पन र परकम्पनको भयमा काँप्नु स्वाभाविक थियो । बिस्तारै भुईंचालोको राजनीतीकरण सुरु भयो । सरकारमा सहभागी दल स्वयंले भुईंचालो पीडितलाई उचित राहत दिन नसकेको आरोप लगाएपछि अघिल्लो सरकार लड्खडाएको थियो । नयाँ सरकार आयो र पनि यसले केही गरेन । भुईंचालो पीडितका लागि एक हुल आफन्तहरू पुनर्निर्माण आयोगमा भर्ती गर्‍यो ।

एक हुल एनजीओको हातमा रिपोर्ट लेख्ने काम सुम्पियो । नाकाबन्दी र विपदको यस्तो समयमा, जस्तो कि हुने गर्छ– वस्तुको अभाव र मूल्य एकैसाथ हलक्क बढ्यो । जनता दुब्लाउँदै गए । बजार मोटाउँदै गयो । मधेस आन्दोलनमा एक थान संविधानको नाममा दर्जनौं थान मानिस मारिए । जनता मारिए, पुलिस मारिए । देशमा नयाँ संविधान बन्यो र बन्यो नयाँ सरकार । दुर्भाग्य, नयाँ सरकार बनेर पनि नयाँ संविधानले चलायमान हुने मौका पाएन ।

गठन भएको दिनदेखि सरकारको गाडी पहाडको घुम्ती सडकमा एकतर्फी दौडिन थाल्यो । अहिलेसम्म यो दौडिइरहेको छ । कहाँ पुगेर अड्किने हो अथवा कुन धरापमा ठोक्किने हो ? कसैले भन्न सक्दैन । सरकार प्रमुखले दिल्लीको यात्रा ‘सफलतापूर्वक’ सम्पन्न गरे । अब बेइजिङ र बोआओसम्मको यात्रामा निस्किँदै छन् । यो बाहेक, नयाँ साँच्चै नै केही भएन वा हुन पाएन । विनाश नै नयाँ थियो हामी र हामीपछिका पुस्ताका लागि । गतिरोध नयाँ थिएन । गफ सधैं गतिशील गरे पनि हामीले कहिले पो गति लिन सकेका छौं र ?

नयाँ केही नभएकै होइन । नयाँ भयो कांग्रेसको महाधिवेशन र सभापतिको चुनाव । संसदीय हिसाबले आजको नेपालको सबभन्दा ठूलो र ऐतिहासिक दलले नयाँ नेतृत्व रोज्यो । कांग्रेसको शक्तिशाली पदमा चुनिएका शेरबहादुर देउवाले पार्टी एकताको, कार्यकर्ताप्रति समान व्यवहारको र अन्याय हुन नदिने व्यवस्थाको सपना बाँडे । यस्तै सपना देखेका थिए उनलाई चुन्ने नेता र कार्यकर्ताहरूले । तर, राजनीतिक पार्टीमा एकता, समान व्यवहार र न्याय समअर्थी शब्द होइनन् । ती संघारमा सजाएर राख्ने वस्तु हुन् ।

ती शब्दहरू संगीतमय सुनिन्छन् । प्रतिस्पर्धाको राजनीतिक खेलमा ती अचानक चम्किन्छन् । न्यायालयले न्याय दिँदा एउटा पक्षले मात्र न्याय पाउँछ । एउटा पक्ष पराजित नभई अर्को पक्षले न्याय पाउँदैन । जस्तो कि कांग्रेसका जब्बर नेता खुमबहादुर खड्का शेखर कोइरालापछि सबभन्दा बढी भोट ल्याएर कार्यसमिति सदस्यमा चुनिए । उनले चार दिनअघि पंक्तिकारसँगको भेटमा बताएका थिए, ‘अदालतले मलाई धरौटी राखेर छुट्न सकिने कानुनी प्रावधानसमेत प्रयोग गर्न दिएन । जेलमा बस्दा म बिरामी परें । अहिले किड्नी फेरेर बसेको छु । तीन चार महिना हिंड्न सक्दिनँ होला । खुसी छु साथीहरूले जिताए । एक तहको न्याय पाएँ मैले ।’

राजनीति षड्यन्त्रकारी खेल हो । यही आशय थियो खड्काको । होइन भने, ‘नेपाललाई हिन्दु राष्ट्रबाट धर्मनिरपेक्ष बनाउने प्रस्ताव कांग्रेस केन्द्रीय समितिमा कहिल्यै छलफलमा नै आएन । सभापति गिरिजाबाबुले ‘मलाई त थाहै भएन’ भन्दै सिटौलाको काँधमा बन्दुक राखेर पड्काइदिनुभयो । उहाँ दबाबमा हुनुहुन्थ्यो ।

माओवादीको दबाब थियो । उहाँले झेल्न सक्नुभएन त्यो दबाब । पार्टीलाई विश्वासमा लिएर काम गर्नुभएको भए दबाब झेल्न सजिलो हुन्थ्यो । म स्पष्ट छु र हिन्दु राष्ट्रका पक्षमा छु । हिन्दु राष्ट्र हाम्रो वैशिष्ट्य हो । हाम्रो पहिचान हो । संसारको एउटै मात्र हिन्दु राष्ट्र । म हिन्दु राष्ट्रका लागि काम गर्छुु । कांग्रेसका हजारौं–हजार साथी हिन्दु राष्ट्रको पक्षमा छन् । मुस्लिम गणतन्त्र हुन्छ भने किन हुँदैन हिन्दु गणतन्त्र ? अहिले हिन्दु राष्ट्र फर्काउनु निकै कठिन कुरा पक्कै हो । निश्चय पनि, असम्भव होइन ।’

उनको कुरा सुन्दा यस्तो लाग्यो, कुनै दिन यी नेताले सत्ताको शिखर चुमे भने हिन्दुहरूको जनसंख्या हलक्क बढ्नेछ । त्यतिखेर राज्यले समस्त हिन्दुलाई जतिसक्दो बढी सन्तान उत्पादन गर्न प्रोत्साहित गर्नेछ । सन्तान जन्माउने र हिन्दु बढाउने होडमा लाग्नेछन् जनता ।

हिन्दु धर्मसँगै जोडिएको छ शिवरात्रि । योपटक पनि शिवरात्रि आयो । तर, मधेसका दर्शनार्थी कमै आए । शिवरात्रिमा मधेस र विदेशबाट आउने दर्शनार्थीको संख्या घट्ने क्रममा छ । पशुपतिको दर्शन गर्न शिवरात्रि नै पर्खिनु पर्दैन । रमाइलो कुरा, पशुपतिनाथसँगै पशुपति क्षेत्रको विकास भएको छ । वाग्मती किनारको मसानमा दशकौंअघि योजना गरिएको विद्युत्् शवदाह गृह खोलिएको छ । पशुपति मन्दिर परिसरका बस्तीहरू उजाडिएका छन् ।

एउटा सानो गाउँबाट भव्य बजारमा रूपान्तरित हुन थालेको छ यो क्षेत्र । मन्दिर निकटको आधुनिक बजारमा दसौं डान्स बार र सयौं मदिरालय खुलेका छन् । साँझ–बिहान मन्दिर परिसरमा भजन हुन्छ । साँझ मन्दिरमा आरती सकिएसँगै निकटको आधुनिक बजारमा हेलेन र बिन्दुहरू ‘पिया तू, अब तो आजा’ को संगीतमा छट्पटिइरहेका हुन्छन् । वातावरण उदार छ ।

श्रीपशुपतिनाथले हामी सबैको कल्याण गरेका छन् अहिलेसम्म ।

-कान्तिपुरबाट