म जतिबेला जनयुद्धको नेतृत्व गरेर आधार इलाकामा थिएँ, अहिलेभन्दा धेरै सुविधा थियो- प्रचण्ड

prachanda१. २०५२ फागुन १ गते कहाँ हुनुहुन्थ्यो, त्यो दिन तपाईंको दिमागमा के कुरा खेलिरहेको थियो ?

त्यस दिन म काठमाडौंमै थिएँ । त्यतिबेलाको बसाइ कलंकीमा थियो । नयाँ इतिहास बनाउने संकल्पसहित त्यो दिन हामीले युगान्तकारी जनयुद्ध घोषणा गरेका थियौं । त्यतिबेला मेरो दिमाग क्रान्तिकारी रोमाञ्चले निकै तरंगित भएको थियो, जुन अहिले पनि म उस्तै रूपमा स्मरण गर्छु ।

२. सिन्धुली, गोरखा र रोल्पामा जनयुद्धको पहिलो फौजी कारबाही गर्नुभयो । राज्यविरुद्ध घोषितरूपमा युद्ध अगाडि बढाउने त्यो कारवाही हुँदा त्यसबेला ठ्याक्कै के सोच्नुभएको थियो ?

हामीले जनयुद्धको थालनी वा कारबाही गर्ने प्रक्रियामा केही कुरालाई केन्द्रमा राखेका थियौं र त्यसलाई गम्भीर ढंगले बुझेका थियौं । त्यो हो नेपाली विशेषता । माक्र्सवादका आधारभूत सिद्धान्तहरूलाई नेपाली विशेषतामा मिलाइएन भने जनयुद्धजस्तो हिंसात्मक विद्रोह अघि बढ्न सक्दैन । त्यही निष्कर्षसहित हामीले प्रतीकात्मक कारबाही अघि बढाएका थियौं । रोल्पाको होलेरी कारबाही राज्यसंरचनाका विरुद्व विद्रोहको प्रतीकका रूपमा गरिएको थियो । गोरखामा कृषि विकास बैंकमाथिको आक्रमण किसान विद्रोह र मुक्तिको प्रतीकका रूपमा गरिएको थियो । काभ्रेमा पनि सामन्त, जमिन्दारका विरुद्व कारवाही गरिएको थियो । यसरी हेर्दा सबै कारबाहीको प्रकृति नेपालको दलाल, नोकरशाह र सामन्त वर्गको राज्यमाथि प्रहार गर्ने उद्देश्यद्वारा निर्देशित र परिलक्षित थिए ।
अर्को स्मरणयोग्य कुरा के छ भने कुनै एउटा चिङकाङसान (चिनियाँ क्रान्तिको आधार इलाका) बनाएर नेपालमा जनयुद्ध सुरु गर्न सम्भव छैन भन्ने कुरामा हामी सुरुमै प्रष्ट थियौं । नेपालको भू–राजनीतिक बनोट, इतिहास, संस्कृति, जातीय बनावट, यी सबै कुरा हेरेर हामीले निष्कर्ष निकालेका थियौं–एक ठाउँबाट होइन, देशका विभिन्न ठाउँबाट विद्रोह अगाडि बढाउनुपर्छ । यही निष्कर्षअनुसार नै हामीले विभिन्न जिल्लामा कारबाही गरेका थियौं । १५ दिनमै हामीले हजारौं साना कारवबाही सञ्चालन गरेका थियौं ।

prachanda interview in guest room (8)

३. जनयुद्धका लागि फागुन १ नै रोज्नुको विशिष्ट कारण छ ?
हो, फागुन १ नै रोज्नुको केही कारणहरू छन् । राजनीतिक विद्रोह र आन्दोलन प्रायः यही महिनामा भएको छ, त्यो इतिहासले पनि हामीलाई फागुन महिना रोज्न प्रेरित गर्यो । अर्को कुरा, फागुन ७ लाई बुर्जुवाहरूले ठूलो उपलब्धिको दिनका रूपमा लिन्छन् । मजदुर, किसानको लोकतन्त्र फागुन १ लाई बनाउनुपर्छ भन्ने उद्देश्य र वर्गीय अवधारणासहित ७ भन्दा अगाडि १ मै सुरु गरेर हामी अग्रगामी हौं भन्ने सन्देश दिन पनि त्यो दिन रोजेका थियौं ।

४. सुरुमा त आशंका हुने नै भए, जनयुद्ध सुरु भएपछि अब चाहिँ धक्का–मुक्का ढंगले अगाडि बढाउन सकिन्छ भन्ने तपाईंलाई कहिले लाग्यो ?

खासगरी एक दशक नेपालको कम्युनिष्ट आन्दोलनभित्र र आफ्नै पार्टीभित्र पनि ठूलोे विचारधारात्मक अध्ययन, बहस, छलफल र संघर्ष चलेको थियो । त्यस संघर्षको बीचबाट मैले माक्र्सवादलाई जसरी आत्मसात गरेँ, नेपालको इतिहासको जसरी अध्ययन गरेँ, त्यसबाट जनयुद्ध सफल हुनेमा विश्वस्त थिएँ । त्यतिबेला म, मोहन वैद्य ‘किरण’ र रामबहादुर थापा ‘बादल’ नेपालमा जनयुद्ध सम्भव छ त भन्नेबारे ठूलै अध्ययनमा लागेका थियौं । त्यसका लागि विश्व इतिहास, दर्शन, राजनीतिक अर्थशास्त्र अनि वैज्ञानिक समाजवादका क्षेत्रका अनुभवहरू, अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन र नेपालकै अध्ययनमा हामी असाध्यै धेरै केन्द्रित भएका थियौं । गहन अध्ययनबाट हामी यो निष्कर्षमा पुग्यौं कि जनयुद्ध एउटा राजनीतिक धक्काको रूपमा लुकीछिपी नभएर जनतालाई थाहा दिएर सुरु गर्नुपर्छ । यही निष्कर्षका आधारमा हामीले सबैलाई जानकारी दिएर नै जनयुद्ध सुरु गरेका थियौं ।

५. पहिलो वार्ता हुँदा कृष्णबहादुर महरा, टोपबहादुर रायमाझी र अग्नि सापकोटालाई काठमाडौं पठाउनुभयो ? उहाँहरूलाई के भनेर पठाउनुभएको थियो, त्यसबेला ?

हामीले पार्टीको दोस्रो राष्ट्रिय सम्मेलनपछि मूल राजनीतिक कार्यनीति भनेर संविधानसभाबाट संविधान निर्माण गर्ने प्रक्रिया पारित गराएका थियौं । यो वार्तामा अन्य विषय पनि थिए, तर मुख्य विषय यसलाई नै बनाएका थियौं । यहाँनिर विचारणीय कुरा के छ भने संविधानसभाबाट संविधान बनाउँदा लोकतान्त्रिक र वैधानिक पनि हुने र जनताको सहभागिता पनि हुने सोचेर हामीले महराजीको नेतृत्वमा वार्ता टोली पठाएका थियौं ।

६. त्यसबेला तपाईंलाई कत्तिको विश्वास थियो वार्ताबाट निकास सम्भव छ भन्नेमा ?
पहिलोपटक वार्ता गर्न टोली पठाउँदा मलाई वार्ताबाट कुरा मिल्छ भन्ने विश्वास थिएन । त्यतिबेला नै सरकार र राज्यले निकास दिन्छ भन्ने लागेको थिएन ।

prachanda interview in guest room (2)

७. पहिलो वार्ता भंग हुँदा कस्तो महसुस भएको थियो ?

पहिलो वार्ता भंगलाई मैले स्वभाविकरूपमा लिएँ । पहिलो वार्ता टोली बनाउँदा राज्य र सरकारमा रहेका पार्टीहरूको अहंकार घटेकै थिएन । उनीहरूले जनताको आवाजलाई सुनिहाल्छन् र जनताका कुरा मानिहाल्छन् भन्ने कुरा नलागेकाले भंग भएपछि पनि त्यसलाई स्वभाविक रूपमा लिइयो । त्यसपछि हामी ठूला–ठूला फौजी र राजनीतिक आक्रमणमा लाग्यौं ।

८. ०५८ मंसिर ८ मा दाङलगायतका ठाउँमा पहिलोपटक सेनामाथि हमला गर्नुभयो । सेनामाथि हमला गरेर के सन्देश दिन खोज्नुभएको थियो ?

नेपाली जनताको विद्रोह र क्रान्ति नयाँ चरणमा प्रवेश गर्यो भन्ने सन्देश हामीले यो आक्रमणबाट दिन चाहेका थियौं । राज्यले जसरी माओवादी विद्रोह र आन्दोलनलाई अवमूल्यन गरिरहेको थियो, उसलाई हाम्रो हैसियत देखाउन पनि यो आक्रमण आवश्यक थियो । क्रान्ति नयाँ चरणमा पुग्यो भन्ने सन्देश दिनकै लागि हामीले यो आक्रमण गरेका थियौं ।

९. दोस्रो वार्ता सफल होला भन्ने विश्वास थियो वा थिएन ?

दोस्रो वार्ता टोली ‘हाइलेभल’मा नै विचार गरेर पठाइएको थियो । वार्ता टोलीको संरचना जस्तो थियो, पहिलो भन्दा दोस्रोबाट केही निकास निस्कन्छ कि भन्ने अपेक्षा अलि बढी थियो । तर, विश्वस्त फेरि पनि थिएनौं । सरकारमा असाध्यै उतार–चढाव र सरकारमा रहेका दलबीचको अन्तरविरोध चर्किएर गइरहेको थियो । यस्तो कमजोर सरकार भइरहेका बेला सरकारले निकास देला भन्नेमा ढुक्क हुने र विश्वास गर्ने आधार थिएन । तर, सरकार कमजोर हुँदै गएको र परिस्थिति झन् जटिल बन्दै गएको स्थितिमा पार्टीहरूलाई पनि पहिलो वार्तामा भन्दा दोस्रो वार्तामा हामीसँग सम्झौता गर्ने या सहमति खोज्ने वाध्यता बढेको थियो । हाम्रो आसा पनि बढेको थियो । तर, विश्वस्त हुन सकेका थिएनौं ।

१०. दोस्रो वार्ता भंग हुँदा तपाईंलाई के लागेको थियो ?

त्यतिबेला पनि मलाई स्वभाविक नै लागेको थियो ।

११. ज्ञानेन्द्र शाहको कदमले माओवादी जनयुद्धका लागि केही अर्थ राख्यो ?

ज्ञानेन्द्रको कदम प्रतिक्रान्तिको परकाष्ठा थियो । पुरानो राज्यमा प्रतिगमनको उत्कर्ष थियो ज्ञानेन्द्रको कदम । हामी क्रान्तिको प्रक्रियामा नयाँ–नयाँ उचाइमा जाँदै गर्दा ज्ञानेन्द्रले चालेको कदमले फाइदा नै भयो । हामीले ज्ञानेन्द्रको नकारात्मक कदमको बीचमा कहीँ न कहीँ सकारात्मक तालमेल गर्यौं । खासगरी, ज्ञानेन्द्रको त्यो कदमबाट प्रताडित कांग्रेस–एमालेसँग नजिक्याउन यसले भूमिका खेल्यो । यो हाम्रा लागि अवसर बनेर आएको थियो ।

१२. संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यदिशा चुनवाङबाट कसरी जन्मिएको थियो ? यसका पछाडिको सबैभन्दा महत्वपूर्ण कारण के मान्नुहुन्छ ?

चुनवाङबाट नै संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यदिशा जन्मियो भन्ने कुरा सत्य होइन । त्योभन्दा पहिले दोस्रो राष्ट्रिय सम्मेलनको बेलादेखि नै मैले प्रस्तुत गरेको दस्तावेजमा ती कुराहरू प्रष्ट छ । राजतन्त्र अन्त्य गर्ने, सर्वपक्षीय सम्मेलन गर्ने, संविधानसभा र गणतन्त्रका कुरा त्यसमा थियो । गणतन्त्र कार्यनीतिका रूपमा हामीले दोस्रो राष्ट्रिय सम्मेलनबाट अघि सार्यौं, त्यो जनवादी गणतन्त्र थिएन, संघीय लोकतान्त्रिक गणतन्त्रकै थियो । चुनवाङ बैठकले त्यसलाई अझ प्रष्टरूपमा राखेर अब व्यवहारमा नै यसलाई लिएर जानुपर्छ भन्ने कुरामा जोड दिएको हो । तर, त्यो कार्यनीति चुनवाङबाट सुरु भएको भन्ने होइन, यो गलत हो । कतिपय व्यक्तिहरू यो कार्यनीति प्रचण्डको होइन पनि भन्छन्, यो भन्दा ठूलो झूट र अनैतिकता मेरो दृष्टिमा अरू केही होइन ।

१३. त्यो कार्यदिशा पारित गरेर अगाडि नबढेको भए जनयुद्ध के हुन्थ्यो, कहाँ हुन्थ्यो जस्तो लाग्छ ?

दोस्रो राष्ट्रिय सम्मेलनमा नेपाली धरातलीय यथार्थता, वर्गशक्ति सन्तुलन, जनताको आन्दोलनलाई बुझेर हामीले त्यो कार्यदिशा लिएका थियौं । यदि नेपालको भू–राजनीतिक अवस्था र अन्तर्राष्ट्रिय शक्ति सन्तुलनलाई हेरेर त्यो कार्यदिशा नलिएको भए नेपालको जनयुद्धको पनि त्यस्तै नियती हुन्थ्यो, जस्तो पेरू, बर्मा र मलायाको भएको थियो । दोस्रो राष्ट्रिय सम्मेलनले अंगीकार गरेको कार्यनीतिले नै माओवादी युद्धलाई विकासको उत्कर्षमा पुर्यायो, सम्झौतामार्फत नेपालमा ठूलो राजनीतिक परिवर्तनको प्रमुख कारण पनि बन्न सक्यो । यसअर्थमा मलाई दोस्रो राष्ट्रिय सम्मेलनको निर्णयप्रति गर्व छ ।

prachanda interview in guest room (1)

१४. शान्तिपूर्ण र सशस्त्र संघर्ष गरिरहेका पार्टी मिलेर आन्दोलन गर्ने जनयुद्ध नयाँ प्रयोग तपाईंहरूले गर्नुभयो, तपाईंलाई त्यो आन्दोलनको ढाँचा बनाउँदा लागेको थियो कि यो प्रयोग सफल नहुन पनि सक्छ ?

विद्रोहको नेतृत्व गरिरहेको पार्टीको लिडर हुनुको नाताले मलाई नेतृत्वले कसरी सोच्छ भन्ने कुराले त्यो आन्दोलन र देशको आन्दोलन कसरी अघि जान्छ भन्ने कुरामा झण्डै–झण्डै निर्णायक भूमिका खेल्छ भन्ने विश्वास थियो । जब जनयुद्ध ५ वर्ष पूरा गरेर ६ वर्षमा प्रवेश गर्दै थियो, त्यसपछि मलाई लाग्यो– नेपालको राजनीतिलाई अब नयाँ प्रयोग गर्नुपर्छ । त्यसैले हामीले नेपाली कांग्रेससँग पटक–पटक र एमालेसँग लखनउ, दिल्ली र पटना त कहिले देशभित्रै बारबार छलफल गर्यौं । द्वन्द्वात्मक भौतिकवादअनुसार छ भनेर यो राजनीतिक प्रयोग गर्ने जुन दृष्टिकोण मैले बनाएँ, म त्यो सफल हुने कुरामा पहिलेदेखि नै विश्वस्त थिए ।

१५. ०६२–०६३ को आन्दोलन सफल भएको दिन कस्तो महसुस भयो ?

०६२–०६३ को जनआन्दोलन १२ बुँदे समझदारीमा आधारित थियो । किनभने आन्दोलनको कुरा यथास्थितिवादी पार्टीहरू कांग्रेस–एमालेले लामो समयदेखि गर्दै आइरहेका थिए । ज्ञानेन्द्रले प्रतिगमन गरेदेखि नै उहाँहरू आन्दोलनमा भए पनि जनतामा उहाँहरूको आन्दोलनप्रति बिल्कुल विश्वास थिएन र ठूलो निराशाको स्थिति थियो । जब माओवादीले संसद्वादी पार्टीसँग सम्झौता गर्यो भन्ने कुरा भयो र जनतामा आन्दोलनमा जान हामीले अपिल गर्यौं, त्यसपछि नै ०६२–६३ को आन्दोलनले नयाँ गति लिएको हो । त्यसकारण मलाई के लाग्छ भने जनयुद्ध र जनआन्दोलनको फ्युजन गर्ने जो सोचाइ हामीले ५–७ वर्षदेखि बनाउँदै लगेका थियौं, त्यसको प्रयोगको सुन्दर परिणति हो– ६२ ६३ को आन्दोलन । हुन त यो कुरा अहिले कांग्रेस, एमाले र बुर्जुवा यथास्थितिवादी शक्ति मान्न तयार छैनन् । उनीहरूले जनता र क्रान्तिको नेतृत्व गर्ने नायकलाई कुनै हालतमा स्थापित हुन दिन चाहँदैनन् । उनीहरूका नेता जतिसुकै असक्षम भए पनि, केही भूमिका नभए पनि देउताजसरी सम्मान गर्छन् । क्रान्तिका नेताहरूले इतिहासमा ठूलाठूला परिवर्तन सम्भव बनाएर युग नै बदल्दा पनि उनीहरूले केही नै गरेका होइनन्, हामीले नै गरेको हो जस्तो गर्छन् । तर, यथार्थ यथार्थ नै हुन्छ । त्यसलाई इतिहासले सयौं वर्षसम्म पनि खोतलिरहन्छ, कसैले कमजोर आँक्दैमा यो कमजोर हुँदैन । सत्य यही हो कि जनयुद्धको जगमा नै ०६२–६३ को आन्दोलन भएको हो । यसमा जनयुद्धमा सहभागी सबैले गर्व गर्नुपर्छ ।

१६. सिक्लेसबाट तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौलाले हेलिकप्टर चढाएर काठमाडौं ल्याउनुभयो, हेलिकप्टर चढेको बेला तपाईंको दिमागको के कुरा खेल्यो ?

मैले जुन राजनीतिक प्रयोग र विकासको छलफल पार्टीभित्र र बाहिर चलाइरहेको थिएँ, त्यही प्रयोगको नयाँ कडीका रूपमा मैले यसलाई लिएको थिएँ । जतिबेला म पहिलोपटक सरकारको हेलिकप्टर पोखराबाट चढ्दै थिएँ, मलाई त्यो नयाँ राजनीतिक प्रयोग र नयाँ इतिहास रचना गर्ने कडी हो भन्ने अनुभूति भएको थियो ।

prachanda interview in guest room (7)

१७. ०६३ असार २ गते बालुवाटारमा राष्ट्रिय–अन्तर्राष्ट्रिय संचारमाध्यमका क्यामराका फलासहरू झेल्दा भूमिगत नेता तपार्इंलाई कस्तो अनुभूति भएको थियो ?

अनुभूतिको दृष्टिकोणबाट त नयाँ थियो, तर ममा राष्ट्र, जनता, क्रान्ति र परिवर्तनप्रति जुन जिम्मेवारी बोध थियो, त्यसको ‘स्टेयरिङ’ र ‘गियर’ बदलेर नयाँ प्रक्रियामा लैजानुपर्छ भन्ने लागिसकेको थियो । त्यही हुनाले त्यो दिन मैले सहज रूपमा मिडिया ‘फेस’ गरेँ ।

१८. संविधानसभाको चुनावका लागि उम्मेद्वारी दर्ता गराउँदा के सोच्नुभयो ?

आफ्नो राजनीतिक कार्यनीति सफल हुँदैछ भन्ने कुराको अनुभूत भएको थियो, मलाई त्यतिबेला । किनकि ०५७ सालमा संविधानसभाबाट संविधान बनाउने प्रक्रियालाई नै मूल कार्यनीति बनाउनु पर्छ भनेर लडेको थिएँ । त्यो एजेन्डामा सिंगो देश नै तयार भएर जाँदै गरेको अवस्थामा म रोमाञ्चित नहुने कुरै भएन । अझै त्यसको उम्मेद्वार बन्दैछु भन्ने अनुभूतिले निकै उत्साहित बनाएको थियो, त्यतिबेला ।

१९. प्रधानमन्त्रीको सपथ लिएर सिंहदरवार फर्कंदा झण्डावाल गाडीमा हुनुहुन्थ्यो, त्यो बेला बाटोमा मनमा के कुरा खेल्यो ?

यो एउटा राजनीतिक आन्दोलन र क्रान्तिको इतिहासमा अविस्मरणीय घटनाक्रम हो भन्ने मलाई लागिरहेको थियो । अर्कातिर, यो बडो जोखिमपूर्ण प्रयोग गरिरहेको छु भन्ने पनि थियो । सपथ लिएर प्रधानमन्त्रीको कार्यालयमा गणतन्त्र नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री भएर प्रवेश गर्दा म असाध्यै खुसी पनि थिइनँ, जोखिमपूर्ण यात्रामा जाँदा के होला भन्ने कुरा मेरो दिमागमा आइराखेको थियो । आफ्नो बाटो जोखिमपूर्ण भएको मलाई राम्रै हेक्का थियो । पार्टीभित्र–बाहिर र अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरूले कसरी मलाई हेर्लान् भन्ने कुरा र त्यसभित्र आउन सक्ने जोखिमका कुरा मेरो दिमागमा खेलेका थिए । साँच्चै भन्नुहुन्छ भने झण्डै–झण्डै त्यो मेरा लागि झिलिमिली जस्तै थियो । भर्खरै जनयुद्धको आधार इलाकाबाट आएर तुरुन्तै प्रधानमन्त्री हुने कुरा हाम्रो कल्पनामै थिएन । हामी मन्त्री र प्रधानमन्त्री हुन जनयुद्धमा हिँडेका पनि थिएनौं । नसोचेको स्थितिमा आइपुगेकाले मलाई झिलिमिलीजस्तै महसुस भयो ।

म राति ३ बजेबाट सोच्दै गएर ५ बजेसम्म राजीनामा दिने निष्कर्षमा पुगेँ । किन पुगेँ भन्ने कुराको त लामो कथा छ । तर पनि म के भन्छु भने पार्टीभित्र–बाहिर र अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको भयानक चलखेल देखेपछि यसको विरुद्व खडा हुनुपर्छ भन्ने निष्कर्षका साथ मैले राजीनामा दिएको थिएँ ।

prachanda interview in guest room (4)२०. कट्वाल काण्डमा राजीनामा दिनुभयो । त्यो रात निद्रा लाग्यो कि धेरै चिन्तन मननमै रात बित्यो ?

अब राजीनामा दिन्छु भन्ने कुरा पार्टीभित्र कसैलाई पनि भनेको थिइनँ, बाहिरकाले त झन् कल्पना पनि गरेका थिएनन् । सरकारमै भएका पार्टीहरूले पनि यस्तो सोचेका थिएनन्, किनकि म अत्यधिक बहुमतमा थिएँ । म राति ३ बजेबाट सोच्दै गएर ५ बजेसम्म राजीनामा दिने निष्कर्षमा पुगेँ । किन पुगेँ भन्ने कुराको त लामो कथा छ । तर पनि म के भन्छु भने पार्टीभित्र–बाहिर र अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको भयानक चलखेल देखेपछि यसको विरुद्व खडा हुनुपर्छ भन्ने निष्कर्षका साथ मैले राजीनामा दिएको थिएँ । राजीनामा दिनुभन्दा ५–७ दिन अगाडिदेखि बालुवाटारमा झण्डै–झण्डै झडपको अवस्था थियो, कतिबेला झडप हुने हो भन्ने त्रासमा म थिएँ । फौजी झडप नै हुने हो कि भन्ने अवस्थाबाट पनि गुज्रिएको, पार्टीभित्र पनि एकखालको जटिलता देखिएकाले तनाव भएको थियो । तर, म सरकारमा हुँदा कसैले पनि दायाँ–बायाँ गर्यो भनेर भन्न सकेनन् । त्यो इतिहासकै सबैभन्दा देश र जनताको सेवामा केन्द्रित सरकार थियो । तर, त्यसलाई निकै घेराबन्दी र दबाब भयो । यही कारण बिहान स्थायी समिति बैठक राखेर प्रस्ताव लगेँ र राजीनामा दिने निर्णय गराएँ । धेरैले यो कुरा पत्याउन नसक्ने खालको थियो । त्यो सरकारले धेरै राम्रो नीति तथा कार्यक्रम ल्याएको थियो, तर त्यसको अहिले चर्चा गरिन्नँ ।

२१. दोस्रो संविधानसभामा तेस्रो पार्टी भएको रात के–के कुरा मनमा खेल्यो ?

मैले यो कुरा धेरैपटक भनेको छु, लामो भन्न चाहन्नँ । मलाई सपनाबाट ब्युँझिएजस्तो लागेको थियो त्यो परिणाम सुन्दा । दोस्रो संविधानसभाको निर्वाचन अगाडिमात्र होइन, निर्वाचन सकिएलगत्तै जनता र निर्वाचन सफल पार्नेलाई धन्यवाद दिएँ, परिणाम आफ्नै पक्षमा आउँछ भनेर । जब परिणाम आयो, त्यतिबेला मलाई म त सपनामा रहेछु, विपना त अर्कै रहेछ भन्ने लाग्यो ।

२२. पार्टीभित्रका अन्तरसंघर्ष, जुन तपाईंलाई सबैभन्दा नराम्रा लाग्यो, कुन मान्नुहुन्छ ?
अन्तरसंघर्षको उत्कर्ष नेतृत्वका लागि पीडादायी हुन्छ, त्यो आफ्नो ठाउँमा छ । माओवादी आन्दोलन सबैको सामूहिक प्रयत्नले अगाडि आएको थियो, तर जनयुद्ध लडेका साथी त्यसरी विभाजित भएर जाँदा मलाई अत्यन्त दुःख र पीडा महसुस भएको थियो । बाबुरामजी जाँदा मलाई कत्ति पनि पीडाको महसुस भएको छैन, के भएको हो म आफैंलाई अनौठो लागेको छ ।

२३. वैद्यहरू फुटेर गएको साँझ तपाईंको मनमा के कुरा खेल्यो ?
अघिल्लो दिन राति १० बजे पनि वैद्यजीसँग पार्टी विभाजन गर्न हुँदैन भनेर कुरा भएको थियो । उहाँ त्यतिबेला पनि पार्टी विभाजन गर्ने मुडमा हुनुहुन्थेन, त्यो कुरा अहिले स्पष्ट नै भइसकेको छ । वहाँको पार्टी विभाजन गर्ने इच्छा नभए पनि वातावरण विभाजित नभइ रहनसक्ने अवस्था रहेन । उहाँले यो कुरा प्रष्टरूपमै भन्नुभएको थियो । उहाँले मलाई प्रष्टै रूपमा म रहन सक्दिनँ भनेर भन्नुभएको थियो ।
विभाजित भए पनि म दूरी बढाउने गरी गइनँ । गाली गलौज र बदनाम गर्ने गरी गएनौं । म उहाँहरूले बोलाएको कार्यक्रममा तुरुन्तै गएको थिएँ । मलाई उहाँहरू एकदिन फर्कनुहुनेछ भन्ने लागेकाले मैले कहिल्यै अर्को व्यवहार गरिनँ ।

prachanda interview in guest room (5)२४. बाबुरामले छाडेर हिडेको रात तपाईंलाई कस्तो अनुभूति भयो ?

अनौठो त मानेँ मैले । अघिल्लो दिन दिउँसो ३ बजेदेखि ५ बजेसम्म २ घण्टा कुरा गरेर अब केन्द्रिय समितिको बैठक बस्ने, बैठक छिटो सकेर गम्भीर अन्तरक्रिया गरेर अघि जाने भनेर छलफल गरेका थियौं । को–को साथी बसेर छलफल गर्ने भन्ने विषयमा पनि उहाँले भनेको कुरा मानेको थिएँ । त्यस अवस्थामा अचानक पार्टी छाडेर जाने कुरा आउँदा मलाई अचम्म लाग्यो । तर उहाँले निकै ठूलो भूल गर्नुभयो । यो अरू विभाजन जस्तो होइन । एकातिर संविधान बनाउन आफैँ पहल गर्ने, हस्ताक्षर गर्ने । अर्कातर्फ, संविधान बिथोल्न जलाउने र च्यात्नेसँग मिल्न जाने । यो कहिँकतै स्वभाविक छैन ।
उहाँ राष्ट्र संकटमा परेका बेला राष्ट्रलाई जसले संकटमा पारेका छन्, तिनैको हित गर्न दौडिनुभयो । जनता, पार्टी, आन्दोलन, सहिद, बेपत्ता परिवार सबका आकांक्षाहरूलाई लात हानेर जानुभयो । उहाँसँग संघर्ष त परिरहन्थ्यो पहिलेदेखि नै, तर अहिले चैँ ठूलो भूल नै गर्नुभयो । यही भूलकै कारण उहाँको राजनैतिक अवसान भएको छ । उहाँ या त सपनामा दौडनुभएको छ या त विक्षिप्त भएर दौडनु भएको छ । उहाँले यस्तो कदम चाल्नुभयो, जसले जनता, पार्टी र उहाँ आफैलाई पनि हित गर्दैन ।

२५. कुटनीतिक सम्बन्धका हिसाबले सवैभन्दा महत्वपूर्ण कुरा कुन रह्यो यो २१ वर्षमा ?

मेरो विचारमा हामीले जनयुद्ध र जनआन्दोलनमा पनि देशभक्तिपूर्ण धारालाई जहिले पनि माथि उठाउने र त्यसप्रति इमानदार रहने कोशिस गर्यौं । चाहे जनयुद्धको सुरुङयुद्धको योजना बनाउँदा होस्, वा गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री भइसकेपछिको पहिलो विदेश भ्रमण गर्दा होस् । संविधान बनाउनको निम्ति तमाम दवाब र घेराबन्दीलाई तोड्ने क्रममा मैले धेरै अफ्ठेरासँग जुध्नुपर्यो । सरकार बनाउने बेलामा आफ्नै साथीहरू विदेशी शक्तिहरूको इच्छाअनुसार दौडिए र निकै बल लगाएर त्यसको प्रतिवाद गर्नुपर्यो । अहिले पनि नाकाबन्दी र मधेस आन्दोलनको समस्या समाधान गर्न सन्तुलित कुटनैतिक भूमिका खेलियो । नझुकिकन, राष्ट्रलाई तल नपारिकन जनताको स्वाभिमान जोगाएर आत्मसम्मान कायम राख्दै समस्याको समाधान गर्ने ठाउँमा देशलाई पुर्याइयो भन्ने लाग्छ । यसले मेरो कुटनीतिक स्थिति के हो भन्ने जनतालाई थाहा छ भन्ने लाग्छ । त्यसबाहेके संयुक्त राष्ट्रसंघको साधारणसभामा प्रस्तुत हुँदा मप्रति विश्वभर आकर्षण देखेको थिएँ । ती सबैसँग मैले ‘डिल’ गरेँ । त्यो हेर्यो भने मौलिक कुटनीतिक पहल अगाडि जाँदै गरेको चित्र देख्न सकिन्छ ।

मैले यो १० वर्षको स्थितिलाई हेर्दा मिडियालाई दोष दिने वा मलाई आलोचना गर्नेहरूलाई दोष दिने कुरा प्रमुख ठानेको छैन । आफैंले कमजोरी कहाँ–कहाँ गरेँ भन्नेमा केन्द्रित छु । कहाँ–कहाँ मेरो कमजोरी भयो र मिडियाले भन्दा सुन्ने र पढ्ने कुरा के भयो भन्ने हेरिरहेको हुन्छु । मैले आलोचना सुन्ने र आत्मसात् गर्ने अधिकतम प्रयास गर्छु ।

२६. तपाई धेरै विवादमा तानिनुभयो र यसमा मिडियाले पनि भूमिका खेले ? कहिलेकाहीँ लाग्दैन मिडियाले किन यसो गर्छन भन्ने ?

मैले यो १० वर्षको स्थितिलाई हेर्दा मिडियालाई दोष दिने वा मलाई आलोचना गर्नेहरूलाई दोष दिने कुरा प्रमुख ठानेको छैन । आफैंले कमजोरी कहाँ–कहाँ गरेँ भन्नेमा केन्द्रित छु । कहाँ–कहाँ मेरो कमजोरी भयो र मिडियाले भन्दा सुन्ने र पढ्ने कुरा के भयो भन्ने हेरिरहेको हुन्छु । मैले आलोचना सुन्ने र आत्मसात् गर्ने अधिकतम प्रयास गर्छु । त्यसपछि आफ्नो निर्णयहरूलाई सन्तुलित बनाएर राष्ट्र र जनताका पक्षमा अगाडि बढाउँछु । यो पहिलो कुरा हो ।
दोस्रो कुरा, क्रान्तिको नेतृत्व गरेर आएको र जनताका एजेन्डाहरूको प्रमुख प्रवक्ता भएको नाताले मलाई बद्नाम नगरेसम्म प्रतिक्रियावादी र यथास्थितिवादीको हित हुँदैनथ्यो । बाबुराम वा किरणजीलाई बद्नाम गरेर केही अर्थ हुँदैनथ्यो । प्रचण्डलाई नै सिध्याउनुपर्छ भन्ने उनीहरूलाई लागेको हो । किनभने नेताको प्रतिकका रूपमा प्रचण्ड भएको हुनाले उसैलाई नङ्ग्याउन के गर्नुपर्छ भनेर उनीहरू लागिरहे । त्यो अहिले पनि जारी छ । तर मेरो ध्यानचाहिँ मेरै कमजोरी के हो भन्नेतिर गयो । त्यसैले अहिले मलाई गाली गरे पनि जनता सुन्ने पक्षमा छैनन् । जनतामा प्रचण्डलाई अनावश्यक गाली गर्दारहेछन् भन्ने परिसकेको छ । त्यसैले त्यस्ता मिडिया पनि अलि हच्केका छन् जस्तो लाग्छ ।

prachanda interview in guest room (6)२७. ०५२ फागुन १ देखि ०७२ फागुन १ सम्म आउँदा आफूले गरेको सबैभन्दा खराव निर्णय के मान्नुहुन्छ ?

दोस्रो संविधानसभा अगाडि जुन सरकार बनाउन मैले पहल गरेँ, मद्दत गरेँ, सबैभन्दा वाहियात निर्णय त्यही हो । चिप्लिएको, मनोगत भएको, फसेको त्यहीँ हो । संविधानसभाको निर्वाचन गर्न जस्तो सरकारलाई साथ दिएँ । मलाई अहिलेसम्मको ‘ब्लन्डर’ त्यही लाग्छ ।

२८. तपाईंको एउटा सपना, जुन पूरा गर्ने मन छ ?

राष्ट्र र जनताको सपना नै मेरो सपना हो । त्यहाँबाट म चिप्लिँदो गल्ती भएका छन् । राष्ट्र र जनताको सपना बोकेर हिँड्दा सफल भएको छु । एक दशक मैले जनयुद्धको विचार निर्माण गर्न साथीहरूसँग मिलेर काम गरे । अर्को एक दशक मैले जनयुद्धबाट नेपाली समाज र राजनैतिक परिवर्तन गर्ने पं्रक्रियामा विद्रोहको नेतृत्व गरेँ । अब भन्दा अप्ठेरो नहोला र जनतालाई पनि विश्वास लाग्ला कि अर्को एक दशक मैले शान्ति प्रक्रिया र संविधान निर्माण प्रक्रियाको नेतृत्व गरेँ । अबको १० वर्ष म समाजवादी आन्दोलनको नेतृत्व गर्ने स्थितिमा छु र मेरो प्रयत्न त्यही दिशातिर केन्द्रित हुन्छ ।

prachanda interview in guest room (3)२९. हिजो माओवादीले भन्दा देश जुरुक्कै उठ्थ्यो । आज तपाईंहरू कता–कता निदाएजस्तो, हराएजस्तो हुनुभयो भनेर जनताले प्रश्न गरिरहेका छन् । अब फुटेका सबै माओवादी धाराहरू मिल्न सक्छन् ?

जनताको अपेक्षाअनुसार हामी कति ठाउँमा चिप्लियौँ पनि । त्यसले पनि निराशा भयो । सहिद, घाइते, अपांग, बेपत्ताहरूको सपना पूरा भएको छैन । त्यसकारण सबै विभाजित माओवादी धाराहरूलाई फेरि एकै ठाउँमा केन्द्रिकृत गर्ने र क्रान्ति तथा आन्दोलनलाई नयाँ शिराबाट अगाडि बढाउने ‘मिसन’ अहिले बनाउनुपर्छ भन्ने लाग्छ । अहिलेको परिस्थितअनुसार सदन, सडक र सरकारका सबै मोर्चाबाट एकचोटी फेरि माओवादी आयो भन्ने बनाउनु आवश्यक छ । किनभने माओवादीको पहिचान भनेको उत्पीडित, शोषित, दलित, मधेसी, मजदुर, किसान, मुस्लिमलगायत सबै श्रमिक जनताको मुक्तिका लागि लड्नेको रूपमा बनेको छ । अहिलेचाहिँ अरूको पहिचान बनाउँछु भन्दा–भन्दै आफ्नै पहिचान गुमाएकोजस्तो अवस्था छ माओवादीको । त्यसैले एकचोटी फेरि माओवादी असली पहिचान अर्थात् जनताको असली सेवक र मुक्तिको नेतृत्वकर्ताको पहिचान साबित एकताद्धारा गर्नु छ । म त्यही ‘मिसन’मा छु ।

३०. शक्ति, चर्चा र साधनस्रोत प्रचण्डको जीवनमा सबै प्राप्त भए । तपाईंले आफ्नो जीवनमा कुनै कुरा अभाव महसुस भएको छ ?

मैले यस विषयमा धेरै पटक भनेको छु । मानिसहरूले भन्छन् कि म सुविधामा रम्ने तरिकाको विलासी जीवन बिताउने तरिकाको भएँ । यस्तो सुन्दा मलाई अनौठो पनि लाग्छ अनि गहिरो पीडा पनि । म जतिबेला जनयुद्धको नेतृत्व गरेर आधार इलाकामा थिएँ, अहिलेभन्दा धेरै सुविधा थियो । यद्यपि भौतिक जीवन त खतरामा थियो, कुनै पनि बेला मारिन सक्थेँ । गिरफ्तार हुनसक्थेँ, यातना पाउन सक्थेँ । तर अरू तनाव त्यति थिएन । क्रान्तिमा हुने क्षति र उपलब्धि सँगसँगै अगाडी बढेको थियो ।
तर यता आएपछि न खाने फुर्सद छ, न त सुत्ने फुर्सद नै । २४ घण्टामा ५–७ घण्टा सुत्नेबाहेक मेरो व्यक्तिगत जीवन छैन । अहिले पनि मलाई व्यक्तिगतरूपमा भनेको सुन्छु, यसरी कमायो रे ! तर म चुनौती र दाबाका साथ भन्न सक्छु, मेरी श्रीमतीको नाममा भरतपुरमा रहेको एक कट्ठा जमिनबाहेक दुनियाँमा अरू केही निस्कियो भने जनताको अगाडि जस्तो सजाय भोग्न पनि तयार छु । मेरो चिन्ता अहिले पनि राष्ट्र र जनताप्रति नै छ । पूर्वप्रधानमन्त्री भएको कारण राज्यले सुरक्षाको व्यवस्था गरिदिएको छ । त्यसरी हिँड्नुपर्ने बाध्यता पनि छ मलाई । म जुन घरमा बस्छु, त्यहाँ राष्ट्रिय अन्तर्राष्ट्रिय कुटनीतिज्ञहरू आउँछन् । नेताहरू आउँछन् । सुरक्षाविहिन र सामान्य ढंगबाट बसेर पनि भएन । तर म हिजो पनि राष्ट्र र जनताकै लागि सोचिरहेको हुन्थेँ, आज पनि सोचिरहेको छु । मलाई त्यही कुराले खुसी दिएको छ, घरले वा गाडीले होइन । त्यस्तो आनन्द लिने फुर्सद पाएको पनि छैन ।

३१. अन्त्यमा, के प्रचण्डको राजनीतिक सन्यास सम्भव छ ? फागुन १ का सन्दर्भमा घाइते, अपांग र जनतालाई के भन्नुहुन्छ ?
प्रचण्डको चाहना के छ भन्ने कुरा सहायक छ । मलाई लाग्छ राष्ट्र र जनताले त्यो विश्राम लिने समय देलाजस्तो छैन । शान्तिप्रक्रियाका १० बर्षमा धेरै उतारचढाव आए । तर पनि क्रान्ति जारी छ । हाम्रा महान् सहिद, घाइते, अपांग र लाखौं जनताले बगाएको रगत खेर जाने छैन । त्यसमा विश्वस्त रहन आग्रह गर्दछु ।

– See more at: http://cmprachanda.com