काेलकत्तामा दुर्गा पुजामा भागदाैड, १९ काे मृत्युु, २५ घाइते

मूलखबर संवाददाता
नयाँ दिल्ली, १ कात्तिक

भारतको पूर्वी राज्य पश्चिम बङ्गालको राजधानी कोलकातामा दुर्गा पूजा पर्वका क्रममा भएको भागदौडमा कम्तीमा १९ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।

अधिकारीहरूका अनुसार शनिबार राति वर्षा हुन थालेपछि मण्डप नजिकै भेला भएका मानिसहरू ओत लाग्न दौडिँदा भागदौड मच्चिएको हो ।

प्रहरीका अनुसार केही भक्तजन सडकमा लडेपछि भीड अनियन्त्रित बनेको थियो । घटनामा घाइते भएकाहरूको कोलकाता मेडिकल कलेज तथा अस्पतालमा उपचार भइरहेको छ ।

अस्पताल पुग्नुभएका मुख्यमन्त्री सुभेन्दु अधिकारीले १९ जनाको मृत्यु भएको र २५ जना घाइतेको उपचार भइरहेको जानकारी दिनुभयो । उहाँले राज्यको उच्च अदालतका न्यायाधीशको नेतृत्वमा विशेष अनुसन्धान टोली गठन गरी घटनाको छानबिन गरिने बताउनुभयो ।

प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ । केही दुर्गा पूजा मण्डपका आयोजक, निजी सुरक्षाकर्मी तथा ड्युटीमा खटिएका कर्मचारीलाई हिरासतमा लिइएको अधिकारीहरूले बताएका छन् । घटनामा भीड व्यवस्थापन र सुरक्षामा कमजोरी भए–नभएकोबारे अनुसन्धान भइरहेको छ ।

दुर्गा पूजा पर्वका लागि कोलकाताभरि स्थानीय रूपमा ‘पण्डाल’ भनिने करिब तीन हजार पाँच सय मण्डप निर्माण गरिएका छन् । घटनापछि अधिकारीहरूले कोलकाताका बढी भीडभाड हुने स्थल अस्थायी रूपमा बन्द गर्न आयोजकहरूलाई सुझाव दिएका छन् ।

भारतमा ठूला धार्मिक पर्वका क्रममा भीड अनियन्त्रित हुँदा भागदौडका घटना बारम्बार हुने गरेका छन् । यस्ता पर्वमा लाखौँ मानिस सीमित क्षेत्रमा भेला हुने गरे पनि पर्याप्त सुरक्षा र प्रभावकारी भीड व्यवस्थापनको अभाव रहने गरेको छ ।

सन् २०२५ जनवरीमा महाकुम्भ पर्वका क्रममा पवित्र नदीमा स्नान गर्न हजारौँ हिन्दू तीर्थयात्री एकैपटक अघि बढ्दा भएको भागदौडमा कम्तीमा ३० जनाको मृत्यु भएको थियो ।

त्यसैगरी, सन् २०१३ मा मध्य प्रदेश राज्यको एउटा मन्दिरमा धार्मिक पर्वका क्रममा पुल भत्किने डरले तीर्थयात्रीहरू आत्तिँदा भएको भागदौडमा कम्तीमा ११५ जनाको मृत्यु भएको थियो । केही मानिसको नदीमा डुबेर मृत्यु भएको थियो । एपी