राष्ट्रपति पाैडेल र राष्ट्रिय सभा अध्यक्ष दाहालद्वारा दशैंकाे शुभकामना व्यक्त
राष्ट्रपति रामचन्द्र पाैडेल र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले दशैंकाे अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।
बडादसैँ २०८३ का अवसरमा छुट्टाछुट्टै सन्देश जारी गर्दै पाैडेल र दाहालले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।
बडादसैँका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै राष्ट्रपतिले बहुजातीय, बहुधार्मिक र बहुसाँस्कृतिक मुलुक नेपालका प्रत्येक जातजातिका आ–आफ्नै परम्परा रहेता पनि यसपर्वले पारिवारिक मिलन, सामाजिक मेलमिलाप, क्षमा, सद्भाव र भाइचारालाई मजबुद बनाउन महत्वपूर्ण योगदान पुर्याएको बताउनुभएको छ ।
बडादसैँले भौगोलिक, साँस्कृतिक र भाषिक विविधताबीचको सामाजिक एकतालाई थप सुदृढ गर्नुका साथै साँस्कृतिक एकता र पहिचानलाई अक्षुण्ण राख्न मद्धत पु¥याएको उहाँको भनाइ छ ।
राष्ट्रपति पौडेलले विजया दशमीका दिन दुर्गा भगवतीले दानवी शक्तिमाथि र रामले रावणमाथि विजय हासिल गरेको धार्मिक तथा ऐतिहासिक कथन स्मरण गराउँदै दसैँ अन्यायमाथि न्यायको एवम् असत्यमाथि सत्यको विजय भएको उत्सवका रूपमा मनाइने उल्लेख गर्नुभएको छ ।
दसैँमा पारिवारिक जमघट एवम् पुनर्मिलन भई खुशीयाली र हार्दिकता साटासाट गरिने उल्लेख गर्दै राष्ट्रपतिले पारिवारिक, समाजिक, धार्मिक, साँस्कृतिक एवम् राष्ट्रियताका हिसाबले दसैँको अत्यन्तै महत्व रहेको बताउनुभएको छ ।
त्यसैगरी राष्ट्रिय सभा अध्यक्ष दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव, सहिष्णुता र पारस्परिक सम्मानलाई अझ सुदृढ बनाउँदै समुन्नत, समावेशी र समृद्ध नेपाल निर्माणमा योगदान गर्न बडादसैँले सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
बडादसैँ–२०८३ का अवसरमा आज शुभकामना दिँदै उहाँले यसपर्वले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, एकता, सहकार्य र भ्रातृत्वको भावना अझ सुदृढ बनाओस् भनी शुभेच्छा प्रकट गर्नुभएको छ । उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।
दसैँ धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्व बोकेको मौलिक पर्व भएको उल्लेख गर्दै अध्यक्ष दाहालले असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको प्रतीकका रुपमा मनाइने तथा मान्यजनबाट टीका र जमरा ग्रहणसँगै आशिर्वाद लिने परम्पराले पनि यस पर्वको महत्व बढेको बताउनुभएको छ ।
“घटस्थापनादेखि विजयादशमीसम्मका धार्मिक अनुष्ठान, मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा तथा पारिवारिक पुनर्मिलनले हाम्रो सांस्कृतिक विरासत, आत्मीयता र पुस्तान्तरण हुँदै आएका संस्कारलाई जीवन्त बनाएका छन्” अध्यक्ष दाहालले शुभकामना सन्देशमा भन्नुभएको छ ।





