सुनसरी घटनामा सरकारले तत्काल सर्वदलीय संवाद र सहमतिको पहल गर्नुपर्छ : प्रचण्ड
पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सुनसरीमा देखिएको तनावप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सरकारले तत्काल सर्वदलीय संवाद र सहमतिको पहल गर्नुपर्ने बताएका छन्।
सिंहदरबारमा जारी सर्वदलीय बैठकमा धारणा राख्दै उनले संवेदनशील परिस्थितिमा सबै पक्षले संयमता अपनाई सामाजिक सद्भाव र आपसी विश्वास कायम गर्न अग्रसर हुनुपर्ने बताए।
‘सुनसरीमा देखिएको तनावप्रति हामी गम्भीर चिन्ता व्यक्त गर्दछौं। यस्तो संवेदनशील समयमा सबै पक्षले संयमता अपनाउँदै सामाजिक सद्भाव र आपसी विश्वास कायम राख्न अग्रसर हुनुपर्छ,’ उनले भने।
दाहालले भूकम्प, बाढी–पहिरोजस्ता विपद् र संविधान निर्माणजस्ता जटिल प्रक्रियामा राजनीतिक दलहरूले राष्ट्रिय एकता र साझा सहमतिको उदाहरण प्रस्तुत गरेको स्मरण गर्दै अहिले पनि त्यही राजनीतिक परिपक्वता, संवाद र जिम्मेवारी आवश्यक रहेको बताए।
उनले राष्ट्रिय महत्त्वका यस्ता संवेदनशील विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकार साझा समाधानतर्फ अग्रसर हुन नसकेको भन्दै प्रश्न उठाए। साथै, सर्वदलीय बैठक आयोजना गरेकोमा रास्वपा सभापति रवि लामिछानेलाई धन्यवाद पनि दिए।
‘यस्तो अवस्थामा सरकार अझ जिम्मेवार, सक्रिय र संवेदनशील बन्नुपर्छ। प्रधानमन्त्रीले तत्काल सबै राजनीतिक दललाई विश्वासमा लिएर सर्वदलीय संवाद र सहमतिको पहल गर्नुपर्छ,’ उनले भने।
दाहालले संसद्भित्र पनि सरकारको प्रस्तुति अपेक्षाअनुसार प्रभावकारी नरहेको टिप्पणी गरे। उनका अनुसार बल प्रयोग कुनै पनि समस्याको दीर्घकालीन समाधान हुन नसक्ने भएकाले संवाद, सहमति र राजनीतिक समझदारीमार्फत् नै परिस्थिति सहज बनाउन सकिन्छ।
उनले आफ्नो पार्टीले यस विषयमा आधिकारिक धारणा सार्वजनिक गरिसकेको र स्थानीय तहमा संयमता तथा सामाजिक सद्भाव कायम राख्न पार्टी पंक्तिलाई आवश्यक आन्तरिक निर्देशनसमेत दिइसकेको जानकारी दिए। घटनास्थलमा स्थानीय व्यक्तिमात्र नभई बाहिरबाट वातावरण भड्काउने तत्व पनि सक्रिय हुन सक्ने भएकाले सबै पक्ष उच्च सतर्क रहनुपर्ने उनको भनाइ थियो।



