संविधान दिवसमा प्रचण्डको सन्देश : संविधानविराेधी गतिविधिविरूद्व लाेकतान्त्रिक शक्ति एकताबद्ध बनाैं

मूलखबर संवाददाता
काठमाडौं, ३ असाेज

आज असाेज ३ गते । संविधान दिवस । संविधान दिवसका अवसरमा नेकपा संयाेजक तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुभकामना सन्देश दिँदै संविधानकाे मूल्य र जनअधिकारका विरूद्व हुने र भएका गतिविधिविरूद्व लाेकतान्त्रिक शक्तिहरू एकताबद्ध हुन अपिल गरेका छन् ।

उनको शुभकामना सन्देशमा संविधान केवल एउटा कानुनी दस्तावेज नभई  नेपाली जनताको दशकौँ लामो संघर्ष, जनआन्दोलन, जनयुद्ध, मधेश आन्दोलनलगायत विभिन्न आन्दोलन, त्याग र बलिदानबाट प्राप्त ऐतिहासिक राजनीतिक उपलब्धिको संस्थागत अभिव्यक्ति भएको उल्लेख छ ।

उनलेे नेपालको राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाभिमानमाथि उत्पन्न हुन सक्ने कुनै पनि चुनौतीप्रति हामी सबै सजग हुनुपर्ने पनि बताएका छन् ।

संविधान दिवस–२०८३ का अवसरमा शुभकामना जारी सन्देश

आज नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको ऐतिहासिक दिन । यस अवसरमा लोकतान्त्रिक गणतन्त्र, सामाजिक न्याय, नागरिक अधिकार, राष्ट्रिय स्वाधीनता र जनताको मुक्तिका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने ज्ञात–अज्ञात सम्पूर्ण महान् शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । साथै, निरंकुशता, अन्याय र विभेदका विरुद्ध विभिन्न कालखण्डमा संघर्ष गर्नुहुने सम्पूर्ण अग्रज तथा लोकतन्त्रका योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गर्दछु ।

नेपालको संविधान केवल एउटा कानुनी दस्तावेज होइन । यो नेपाली जनताको दशकौँ लामो संघर्ष, जनआन्दोलन, जनयुद्ध, मधेश आन्दोलनलगायत विभिन्न आन्दोलन, त्याग र बलिदानबाट प्राप्त ऐतिहासिक राजनीतिक उपलब्धिको संस्थागत अभिव्यक्ति हो । संविधानसभाबाट २०७२ असोज ३ गते जारी भएको यस संविधानले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रका रूपमा संस्थागत गर्दै सार्वभौमसत्ता नेपाली जनतामा निहित गरेको छ ।

यस संविधानले नागरिकका मौलिक अधिकार, सामाजिक न्याय, समानुपातिक समावेशिता, संघीयता, धर्मनिरपेक्षता, गणतन्त्र, स्वशासन तथा लोकतान्त्रिक मूल्य–मान्यतालाई संस्थागत गरेको छ । दिगो शान्ति, सुशासन, विकास, समृद्धि र समाजवादउन्मुख सामाजिक–आर्थिक रूपान्तरण यसको मूल उद्देश्य हो ।

संविधान जारी भएको ११ वर्षको यात्रामा हामीले महत्वपूर्ण उपलब्धि हासिल गरेका छौँ । तर संविधानले परिकल्पना गरेको वास्तविक परिवर्तन भने अझै पूरा भएको छैन । संविधानका उपलब्धिलाई जनताको जीवनसँग जोड्नु र बाँकी कार्यभार पूरा गर्नु आजको मुख्य दायित्व हो ।

आज हामी गम्भीर राजनीतिक परिस्थितिबाट गुज्रिरहेका छौँ । संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र जनताले प्राप्त गरेका अधिकारमाथि कुनै पनि कोणबाट हुने प्रहार वा पछाडि फर्काउने प्रयत्न स्वीकार्य हुन सक्दैन । संविधानका मूल्य र जनअधिकारलाई कमजोर पार्ने कुनै पनि गतिविधिका विरुद्ध लोकतान्त्रिक शक्तिहरु एकताबद्ध हुन आवश्यक छ ।

यसैगरी, नेपालको राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाभिमानमाथि उत्पन्न हुन सक्ने कुनै पनि चुनौतीप्रति हामी सबै सजग हुनुपर्छ । राष्ट्रिय हितको रक्षा कुनै एउटा दल वा शक्तिको मात्र जिम्मेवारी होइन; यो सम्पूर्ण नेपालीको साझा दायित्व हो ।

राजनीतिक परिवर्तनलाई आर्थिक–सामाजिक रूपान्तरणसँग जोड्दै शिक्षा, स्वास्थ्य, रोजगारी, उत्पादन र समान अवसरमा सबै नागरिकको पहुँच सुनिश्चित गर्नुपर्छ । संविधानका अक्षर मात्र होइन, यसको आत्मालाई जनताको दैनिक जीवनमा अनुभूत हुने गरी कार्यान्वयन गर्नुपर्छ ।

संविधान दिवस–२०८३ को यस ऐतिहासिक अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु । धन्यवाद ।

३ असोज २०८३
पुष्पकमल दाहाल ‘प्रचण्ड’
संयोजक
नेपाली कम्युनिष्ट पार्टी