सरकारले गर्याे १३ देशका लागि राजदूत सिफारिस
सरकारले १३ देशका लागि राजदूत सिफारिस गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १३ देशमा राजदूत नियुक्त गर्नका लागि सिफारिस गरेको हो। बाँकी राजदूतहरूको सिफारिस संयुक्त राष्ट्रसंघको महासभाबाट प्रधानमन्त्रीसहितको प्रतिनिधिमण्डल फर्केपछि मात्र नियुक्तिको सिफारिस हुनेछ ।
सिफारिस भएका १३ जना मध्ये ४ जना महिला छन् । सिफारिस भएका मध्ये भारतका लागि निश्चलनाथ पाण्डे, चीनका लागि कल्याणराज शर्मा र अमेरिकाका लागि चिरनजंग थापा रहेका छन् ।
बेलायतका लागि सिफारिस भएका व्यक्ति पूर्वप्रधान सेनापति गौरव शम्शेर जबरा हुन् । प्राप्ति शेरचन स्पेन, सरु जोशी जर्मनी,पद्माक्षी राणा ओमान र मञ्चला झा श्रीलंकाका लागि सिफारिस भएका छन् । झा मधेशी समुदायकी हुन् ।
मधेशी समुदायबाटै इजरायलका लागि सुरेशकुमार कर्ण सिफारिस भएका छन् । जनजातीतर्फ दक्षिण कोरियाका लागि संगम श्रेष्ठ सिफारिस छन् । सरु जोशी र प्राप्ति शेरचन पनि जनजाती समुदायकै हुन् ।
दलित समुदायबाट भने साउदी अरेबियाका लागि गिरीबहादुर सुनार सिफारिस भएका छन् । अब सरकारले प्रस्तावित राजदूतहरूको नाम संसदीय सुनुवाइका लागि पठाउनेछ। संसदीय सुनुवाइ सकिएपछि सरकारले सम्बन्धित मुलुकमा ‘अग्रिमो’ का लागि पठाउनेछ। अग्रिमो आएपछि राष्ट्रपतिले सम्बन्धित मुलुकका लागि राजदूतमा नियुक्त गर्नेछन्।
अब राजदूत अस्ट्रेलिया, जापान, मलेसिया, कतार, रुस, इजिप्ट, बहराइन, बंगलादेश, म्यानमारमा राजदूत नियुक्ति गर्न बाँकी छन् ।



