प्रचण्ड भारत जाँदै, एकता सन्देश सभामा सम्बाेधन गर्ने

मूलखबर संवाददाता
काठमाडौं, २० पुस

नेपाली कम्युनिस्ट पार्टीका संयाेजक पुष्पकमल दाहाल प्रचण्ड भारत जाने भएका छन् ।

नेपाली समाज भारतको आयोजनामा भारतको राष्ट्रिय राजधानी नयाँ दिल्लीमा “एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रममा सहभागी हुन प्रचण्ड भारत जान लागेका उनको सचिवालयले जनाएको छ ।

उनले नेपाली समुदायका साझा सरोकार, नेपाल–भारत सम्बन्धको मजबुती, प्रवासी नेपालीका समस्या र अवसर, साथै एकता र सहकार्यको महत्वबारे समसामयिक सन्देश प्रदान गर्ने समाजका महासचिव आरबी खड्काले बताएका छन् ।

उनका अनुसार साेमबार नयाँ दिल्लीमा कार्यक्रम हुनेछ ।

यस्तो छ समाजकाे विज्ञप्ति

नेपाली समाज भारतको आयोजनामा भारतको राष्ट्रिय राजधानी नयाँ दिल्लीमा “एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रम” आयोजना हुन गइरहेको छ। नेपाली समुदायबीच आपसी सद्भाव, सहकार्य र साझा भविष्यप्रतिको प्रतिबद्धतालाई अझ सुदृढ बनाउने उद्देश्यले आयोजना हुन लागेको यस कार्यक्रमप्रति भारतभर रहनुहुने नेपाली समुदायमा उत्साह बढ्दै गएको छ।

उक्त कार्यक्रममा नेपाल सरकारका सम्माननीय पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक, आदरणीय नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ज्यूको गरिमामय उपस्थिति रहनेछ। कार्यक्रममा उहाँद्वारा नेपाली समुदायका साझा सरोकार, नेपाल–भारत सम्बन्धको मजबुती, प्रवासी नेपालीका समस्या र अवसर, साथै एकता र सहकार्यको महत्वबारे समसामयिक सन्देश प्रदान गरिनेछ।

भारतमा बसोबास गर्दै आएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई एकताबद्ध गर्दै सामाजिक–राजनीतिक चेतनाको अभिवृद्धि गर्नु नै यस कार्यक्रमको मुख्य उद्देश्य हो। नेपाली समाज भारतले प्रवासी नेपालीहरूको हक–हित, पहिचान र आपसी सहकार्यलाई निरन्तर सुदृढ बनाउँदै आएको सन्दर्भमा यो कार्यक्रम महत्वपूर्ण मानिएको छ।

यस ऐतिहासिक अवसरमा सहभागी भई कार्यक्रमलाई भव्य र सफल बनाउन भारतमा रहनुहुने सम्पूर्ण नेपाली समुदायलाई नेपाली समाज भारतले हार्दिक रूपमा आह्वान गरेको छ।

कार्यक्रम विवरण:
मिति: ०५ जनवरी २०२६, सोमवार
समय: दिउँसो ०१:०० बजे
स्थान: लाजपत भवन अडिटोरियम
लाजपत नगर, नयाँ दिल्ली – ११००२४
(मूलचन्द मेट्रो स्टेशन नजिक)

आयोजक:
आरबी खड़का
महासचिव
नेपाली समाज भारत