जेनजीलाई प्रजिअकाे वार्ताकाे निम्ताे, आक्रमणकारीमाथि कार्वाही नभए वार्तामा नबस्ने जेनजीकाे भनाइ
बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले सिमरामा प्रदर्शनमा उत्रिएका जेन–जी युवाहरूलाई वार्तामा बोलाएका छन् । जिल्ला सुरक्षा समितिको बैठक बसेर उनीहरूलाई वार्ताका लागि जिल्ला प्रशासन कार्यालय कलैयामा बोलाइएको सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले बताए ।
जेन-जी समूहका जिल्ला संयोजक सम्राट उपाध्याय आफूहरूमाथि कुटपिट गर्नेहरूलाई पक्राउ गरेपछि मात्र वार्ता हुने बताउँछन् । ‘हाम्रो विरोध प्रदर्शन र वार्ता सँगसँगै हुन्छ,’ उपाध्यायले भने, ‘किटानी जाहेरीअनुसार ६ जनालाई पक्राउ गरी कारबाही नगरेसम्म विरोध र प्रदर्शन जारी रहन्छ ।’
जिल्ला प्रहरी कार्यालयले भने घटनामा संलग्न २ जनालाई पक्राउ गरिसकेको जनाएको छ । जिप्रकाले विज्ञप्ति सार्वजिनक गरेर पक्राउ परेका दुवैमाथि अनुसन्धान सुरु भइसकेको जनाएको छ ।




