देशभर तापक्रम घट्दो, काठमाडौंमा ९ डिग्री, जुम्लामा माइनस ३ डिग्री

मूलखबर संवाददाता
काठमाडौं, ३० कात्तिक

काठमाडौँ उपत्यकासहित देशभर तापक्रम घट्दो र चिसो बढ्दो छ। मौसम महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन भने कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भेगमा आंशिक बदली (आकाशमा पातलो बादल) रही देशका बाँकी स्थानमा मौसम मुख्यतया सफा छ।

यस्तै आज दिउँसो कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने मौसम महाशाखाले जनाएको छ।

आज राति कोसी प्रदेशका पहाडी भूभागमा मात्र आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने प्रक्षेपण गरिएको छ।

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज कात्तिक ३० गते आइतबार ९ डिग्री सेल्सियसमा झरेको छ। मौसम महाशाखाको तथ्यांकअनुसार आज देशभरमा सबैभन्दा कम न्यूनतम तापक्रम जुम्लामा माइनस ३.४ डिग्री सेल्सियस छ। महाशाखाले आज बिहान ८:४५ बजे गरेको मापनअनुसार उपत्यकाको न्यूनतम तापक्रम शनिबारभन्दा दशमलव २ घटेर आज ९ डिग्री सेल्सियसमा ओर्लिएको हो।

काठमाडौँ उपत्यकाका लागि यो न्यूनतम तापक्रम यो वर्षको अहिलेसम्मकै कम हो। यसअघि उपत्यकामा सबैभन्दा कम न्यूनतम तापक्रम शनिबार ९२ डिग्री सेल्सियस थियो।