मतदाता नामावली दर्ताको लागि ५ दिन समय थपियाे

मूलखबर संवाददाता
काठमाडौं, २८ कात्तिक

आगामी फागुन २१ का लागि तय गरिएको निर्वाचनको लागि मतदाता नामावलीमा नाम लेखाउनेको चाप बढेपछि निर्वाचन आयोगले त्यसका लागि पाँच दिन समय थप गरेको छ । प्रधानमन्त्री सुशीला कार्कीले समय थप्न आयोगलाई आग्रह गरेकी थिइन् ।

निर्वाचन आयुक्त सगुन शमशेर जबराका अनुसार मतदाता नामावलीमा नाम लेखाउने समय मंसिर ५ गतेसम्म थपिएको हो । आयोगले ३० कात्तिकसम्मको समय दिएको थियो ।

प्रधानमन्त्री कार्कीले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई शुक्रबार टेलिफोन गरेर चाप बढेकाले समय थप्न भनेकी हुन् । दुई दिन मात्रै समय बाँकी रहेका बेला अत्यधिक चाप बढेर पटक पटक आयोगको सर्भर समेत डाउन हुन थालेपछि नाम लेखाउन चाहनेहरुको गुनासो बढेको थियो ।