हालसम्म १२६ दल दर्ता, ३० दल दर्ताको चरणमा, कुलमानकाे पार्टीमा सुमना र सुदन समुह बसेनन्
जेनजी आन्दोलनपछि गठीत अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभाकाे निर्वाचन आव्हान गरेपछि निर्वाचन आयाेगमा दल दर्ताकाे चाप बढेकाे छ । कात्तिक मसान्तसम्म दिइएको दल दर्थाकाे अवधि नजिकिँदै गर्दा विभिन्न नयाँ दलहरू दर्तामा तछाडमछाड गरिरहेका छन् ।
निर्वाचन आयोगका अनुसार मंगलबारसम्म ३० दल दर्ताको चरणमा छन् । यसमध्ये २१ नयाँ हुन् भने नौ पुराना हुन् । आयोगमा दर्ता भएका दलको संख्या १२६ पुगेको छ । आयोगले वामदेव गौतम नेतृत्वको नेकपा एकीकरण अभियाननामक दललाई खारेज गरेको छ ।
ऊर्जामन्त्री कुलमान घिसिङको अग्रसरतामा उज्यालो नेपाल पार्र्टी पुनर्गठन गर्दै निर्वाचन आयोगमा पुन: कागजात पेस गरिएको छ । २७ साउनमै काभ्रेका ज्ञानबहादुर तामाङले दिएको निवेदनमै पार्टी पुनर्गठनको कागजात बुझाइएको हो ।
अन्तरिम सरकारमा तीनवटा मन्त्रालय सम्हालिरहेका घिसिङ पार्टीमा प्रत्यक्ष जोडिएका छैनन् । तर, विभिन्न पक्षसँग छलफल गरी उनले पूर्वऊर्जासचिव अनुपकुमार उपाध्यायको संयोजकत्वमा उज्यालो पार्टी दर्ता प्रक्रिया अगाडि बढाएका हुन् । ५१ सदस्यीय केन्द्रीय समिति रहेको पार्टीको चुनाव चिह्न बलेको चिम रहेको छ ।
उज्यालो नेपाल पार्टी गठनका क्रममा सुरुवातमा पूर्वमन्त्री सुमना श्रेष्ठ, हामी नेपालका संयोजक सुदन गुरुङको समूह पनि छलफलमा थियो । ऊर्जामन्त्री घिसिङले चरणबद्ध छलफल गरेका थिए । तर, अन्तिममा पार्टीको नाम, संयोजकमा असहमति जनाउँदै श्रेष्ठ जोडिइनन् । श्रेष्ठ नजोडिएपछि दर्ता गर्ने दिन मंगलबार सुदन गुरुङ पनि पछि जोडिने भन्दै बाहिरिए ।
सोमबारसम्म सुदन गुरुङको जेन–जी नेटवर्कमा आबद्ध ६ वटा प्रदेशका संयोजक उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्य बन्न सहमत हुँदै सूचीमा नाम राखिएको थियो । तर, मंगलबार सुदन गुरुङले अहिले साथ दिन नसक्ने भनेपछि उनीहरूको नाम हटाएर केन्द्रीय सदस्यको सूची आयोगमा बुझाइएको एक सदस्यले बताए ।
अधिवक्ता रमन कर्णको संयोजकत्वमा जेन–जी युवाहरूले जनादेश पार्टी नेपाल गठन गरेका छन् । युवाहरूले हातमा माइक बोकेको चुनाव चिह्न राखेर दल गठन गरी दर्ताका लागि मंगलबार निर्वाचन आयोगमा निवेदन दिएका हुन् । पार्टीको मस्यौदाकार जस्मिन ओझाले पार्टीमा १८ वर्षदेखि ८० वर्ष उमेरसम्म पाँचवटा जेनरेसन (पुस्ता)को प्रतिनिधित्व रहेको बताइन् । पार्टीको केन्द्रीय समिति ४९ सदस्यीय रहेको छ ।





