अन्तिममा ओली र लेखकसम्म बयान लिने जाँचबुझ आयोगकाे तयारी

मूलखबर संवाददाता
काठमाडौं, २१ कात्तिक

जेन-जी आन्दोलनका क्रममा भएका घटनाका विषयमा छानविन गर्न बनेको जाँचबुझ आयोगले धमाधम बयान लिन थालेको छ। आयोगले २३ र २४ भदौका घटनामा केन्द्रीत भएर बयान लिइरहेको हो।

आइतबारबाट सुरु गरिएको बयानलाई दुई सातासम्म निरन्तर राख्दै प्रहरी जवानदेखि पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकसम्म पुर्‍याएर टुङ्गाउने तयारी छ।

करिब तीन महिनाको समय पाएको आयोगले पहिलो एक महिना भने प्रहरीसँग आन्दोलनका बेला फिल्डमा खटिएकादेखि जिम्मेवारीमा रहेका मानिसहरूको नामावली खोज्नमै बितायो। तर आयोगले बिहीबार मात्र प्रहरीको पूर्ण विवरण प्राप्त गरेको थियो।

आयोगले त्यसअघि नख्खु कारागारका प्रमुख सत्यराज जोशी, नख्खु कारागारमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायतको बयान लिएको थियो भने आयोगको टोली नख्खु कारागार भ्रमणमा पनि गएको थियो।