नेपाली कम्युनिस्ट पार्टी दर्ताको प्रक्रिया शुरू, निर्वाचन आयाेग पुग्याे पत्र

मूलखबर संवाददाता
काठमाडौं

नेपाली कम्युनिस्ट पार्टीले कानुनी आधिकारिकताकाे लागि  दर्ताकाे प्रक्रिया अगाडि बढाएकाे छ । दल दर्ताकाे  लागि निर्वाचन आयोगमा पत्र पुगेको निर्वाचन आयाेगले बताएको छ ।

बुधबार नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी, नेकपा (समाजवादी), नेकपा, जनसमाजवादी पार्टी, नेकपा (साम्यवादी) पार्टीसहित १० वटा पार्टी एकीकरण भएको थियो।

लगत्तै उनीहरूले पार्टी एकीकरणको जानकारी सहितको पत्र निर्वाचन आयोग पठाएको एक अधिकारीले जानकारी दिए।

उनका अनुसार एकीकृत पार्टीले पठाएको दुई पाने पत्रमा पार्टीको केन्द्रीय कमिटीको सूची बुझाइएको छैन। एकीकृत पार्टीको विधानलगायत दस्तावेज पनि नभएको उनले बताए।

१० वटा राजनीतिक दल मिलेर नेपाली कम्युनिस्ट पार्टी बनेको छ भनेर एकीकृत पार्टीको नाम, चुनाव चिह्न (तारा) सहितको जानकारी आयाेगमा पठाएको बताइएको छ ।

दल दर्ताको लागि विधान, नियमावली, घोषणापत्र २–२ झण्डा, लोगो, छाप, चुनाव चिह्नसहित दल दर्ताका लागि २३ वटा प्रावधान पूरा गर्नुपर्नेछ।  नेपाली कम्युनिस्ट पार्टीका नेता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कमिटीको आकार टुंगो लागिसकेको छैन ।