समाजवादी क्रान्ति सम्पन्न गर्न जस्तोसुकै चुनाैती सामना गर्न तयार छाैं : प्रचण्ड

मूलखबर संवाददाता
काठमाडौं, २० कात्तिक

नवगठित नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफुहरू परिवर्तनको लागि मृत्यु जितेर आएको उल्लेख गर्दै आफूहरुलाई नतर्साउन चेतावनी दिएका छन् । उनले समाजवादी क्रान्ति सम्पन्न गर्न जस्तोसुकै चुनाैति सामना गर्न तयार रहेको बताए ।

१० पार्टी एकीकरण घाेषणा सभा तथा एकता राष्ट्रिय सम्मेलनमा सम्बाेधन गर्दै प्रचण्डले नेपालकाे सामन्तवादका विरूद्व, राजतन्त्रको विरूद्व र तमाम खालका शाेषण, दमन र उत्पीडनका विरूद्व लड्दा मृत्यु जितेर आएको उल्लेख गरेका हुन् । उनलेे  आफूहरू पनि सच्चिनुको विकल्प नभएको उल्लेख गर्दै जनतामा आशा स्थापना गर्नुपर्ने बताए ।

‘हामी सच्चिनुको कुनै विकल्प छैन । जस्तोसुकै त्याग तपस्या गर्नुको कुनै विकल्प छैन । लाखौँ जनताको आशा यहाँ परेको छ । हामी आशा र सपना पूरा गर्न कुनै कसर बाँकी नराख्ने संकल्प गरेको छौँ,’ उनले भने, ‘केहीले मृत्युदेखि तर्साउने गरेका छन् । नेताहरु मारिन्छन् भनेपछि तर्सिन्छन् भनेका होलान् । हामी मृत्यु जितेर हिँडेको मान्छे हौँ । हामीलाई राष्ट्र र लोकतन्त्र बचाउने चिन्ता छ । हामीलाई व्यक्तिगत चिन्ता केही छैन । त्यसै पनि आफ्नो भन्नु केही रहेन ।’

प्रचण्डले नेपालकाे कम्युनिस्ट आन्दोलनमा यो एकता ऐतिहासिक भएको बताए । उनलेे भने अघिल्लो पटक नेकपा बन्दा भएका बहुमत सचिवालयका साथीहरू हामी यहाँ छाै, याे एकता वृहत बाम एकताकाे अभियान हाे । उनलेे आफुलाई संयाेजककाे जिम्मेवारी दिएकाेमा सबैलाई धन्यवाद दिँदै भने- ‘मलाई संयोजकको रुपमा १० घटकको ठूलो भारी, जिम्मेवारी दिनु भएको छ, मलाई विशेष हर्ष र गर्वको महसुस भएको छ । सबैको एउटै विचार आएको छ । एक ढिक्का भएर देशको चुनौती सामना गर्न सक्छौँ भन्ने विश्वास पैदा भएको छ ।’

अब नयाँ पार्टी नयाँ ढंगले अघि बढ्ने उनले बताए । ‘अब पार्टी नयाँ ढंगले अघि बढाउन सक्छौँ । आजको दिनमा नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा कहिल्यै नबिर्सने दिन हुनेछ,’ उनले भने, ‘कम्युनिस्ट इतिहासमा १० घटकको एकता भएको दिन छैन । यो एकता अभूतपूर्व, ऐतिहासिक र असाधारण छ । ऐतिहासिक दिनमा रुपमा अंकित भएको छ ।’