माओवादी केन्द्रकाे केन्द्रीय समिति बैठक आज बस्दै, यस्तो छ एजेन्डा
नेकपा (माओवादी केन्द्र)को महाधिवेशन आयोजक केन्द्रीय समितिको बैठक आज बस्दैछ । आज दिउँसो १ बजे कमलादीस्थित प्रज्ञा भवनमा बस्ने केन्द्रीय कार्यलय सचिव गणेशमान पुनले जानकारी दिए ।
आजकाे बैठकबाट माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) सहितका ९ दलहरूबीच भएको एकता गर्ने सहमतिको अनुमोदन गरिने जनाइएको छ ।
माओवादी केन्द्रकाे असाेज १० गते सम्पन्न केन्द्रीय समिति बैठकले मंसिरमा महाधिवेशन गर्ने निर्णय गरेको थियाे तर एकता हुने भएपछि महाधिवेशन फेरी सर्ने भएको छ । आजकाे बैठकमा केन्द्रीय सदस्यहरू, प्रदेश पदाधिकारीहरू, सल्लाहकार र केन्द्रीय आयाेगका सदस्यहरू सहभागी हुनेछन् ।
पछिल्लो सचिवालय बैठकका निर्णयहरू र ९ दलीय सहमतिको अनुमोदनपछि बैठक समापन हुने पार्टीले जनाएको छ ।
यसैगरी, पार्टी एकताको घोषणा कात्तिक १९ गते दिउँसो १ बजे भृकुटीमण्डपमा गर्ने तयारी भएको पुनले बताए । आइतबार माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका ८ दलहरूबीच एकता सहमति पत्रमा हस्ताक्षर भएको थियो । भने साेमबार विहान गाेपाल किराँती नेतृत्वको पार्टीसँग एकता भएको थियाे ।
एकताबारे माओवादी नेता तथा पुर्व उपमहासचिव जनार्दन शर्माले असहमति जनाएका छन् उनलेे एकता राेकेर महाधिवेशन गर्नुपर्ने धारणा राखेका छन् । उनलाई एकता प्रक्रियामा सहभागी हुन र विभाजनकाे बाटाे नराेज्न नेता कार्यकर्ताकाे दबाब छ ।
आइतबार माओवादी केन्द्र, एकीकृत समाजवादीसहित ८ दलले १८ बुँदे पार्टी एकता सहमतिपत्रमा हस्ताक्षर गरेका थिए ।हस्ताक्षर गर्नेमा माओवादी केन्द्र (पुष्पकमल दाहाल), नेकपा एस (माधवकुमार नेपाल), नेपाल समाजवादी (महिन्द्रराय यादव), नेकपा समाजवादी (राजु कार्की), जनसमाजवादी (सुभाषराज काफ्ले), नेकपा (चिरण पुन), माओवादी समाजवादी (कर्णजीत बुढाथोकी) र नेकपा साम्यवादी (प्रेमबहादुर सिंह) छन् ।
आठै दलका केन्द्रीय समितिहरू सहभागी भएर १९ कात्तिकमा एकता राष्ट्रिय सम्मेलन गर्ने निर्णय भएको छ । उक्त सम्मेलनले नै पार्टी एकताको घोषणा, घोषणापत्र र अन्तरिम विधान पारित गर्नुका साथै केन्द्रीय समितिको गठन गर्ने लगायतका सहमति भएको छ ।





