कार्यक्रममा बाेल्दाबाेल्दै ढलेका जिफन्ट उपाध्यक्ष गाैतमकाे मृत्यु

मूलखबर संवाददाता
काठमाडौं, १३ कात्तिक

नेकपा एमाले निकट मजदुर संगठन जिफन्टका केन्द्रीय उपाध्यक्ष कमल गौतमको बाेल्दाबाेल्दै ढलेर निधन भएको छ ।

भैरहवास्थित विद्युत् प्राधिकरणको कार्यालय अगाडि ट्रंकलाइन विवादमा उद्योगहरूमा विद्युत् लाइन काटिएको विरोध कार्यक्रममा उद्योगी र मजदुरले गरेको विरोध प्रदर्शनमा उनी भाषण गर्दागदै बेहोस भएर ढलेका थिए ।

विद्युुत प्राधिकरणले बक्यौता नतिरेको भन्दै १० वटा उद्योगकाे लाइन काटेपछि उद्योगीहरूकाे पक्षमा आन्दोलनमा उत्रिएका मजदुरकाे कार्यक्रममा सम्बाेधन गरिरहेका गाैतमले २५ हजार मजदुर गुमाउन नसक्ने भन्ने अन्तिम अभिव्यक्ति दिँदै गर्दा ढलेका थिए ।

त्यसपछि अस्पताल पुर्याइएका उनलाई चिकित्सकले मृत घाेषणा गरेका थिए ।