मुस्ताङलगायत हिमाली क्षेत्रमा हिमपात

मूलखबर संवाददाता
काठमाडौं, ११ कात्तिक

मुस्ताङमा मङ्गलबार बिहानैदेखि हिमपात भएको छ । उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदर कुण्ड गाउँपालिकाको बस्ती तथा आसपासका क्षेत्रका आंशिक हिमपात भएको छ ।

तिब्ब्तसँग सीमा जोडिएको उपल्लो मुस्ताङको छोसेरको कोरला नाका, छोसेर, छोन्हुप, लोमानथाङ, घमी, चराङ सुरखाङ लगायतको उच्च हिमाली क्षेत्रमा हिमपात भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले बताउनुभयो ।

एक्याप प्रमुख पौडेलले भन्नुभयो, ‘‘लोमान्थाङ बजारमै हिमपात भइरहेको छ, चिसो बढेको छ, उपल्लो मुस्ताङ जाने पर्यटकले सतर्कता अपनाउनुपर्ने देखिन्छ ।’’ यता हिन्दू तथा बौद्धमार्गीहरूको महत्त्वपूर्ण तिर्थस्थल मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा बर्षा भइरहेको वडा अध्यक्ष अध्यक्ष कर्म घ्यचो गुरुङले बताउनुभयो ।