अबको केही दिन नेपालमा वर्षा र हिमपात हुने, सतर्कता अपनाउन आग्रह
अबको केही दिन नेपालमा वर्षा र हिमपात हुने भएको छ । अरब सागर र बङ्गालको खाडी दुवैतर्फ बनेको न्यूनचापीय प्रणालीका कारण नेपालमा अबको केही दिन बदलीसहित वर्षा र हिमपात हुने भएको हो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दुई प्रणालीको असरले सोमबार रातिदेखि पश्चिम नेपाल हुँदै वर्षा सुरु भएको छ, जसले यतिबेला धान काट्ने, छाँट्ने, झार्न व्यस्त रहेका किसान प्रभावित हुने भएका छन् ।
यस प्रणालीको असरले बुधबार बिहानसम्म गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका विभिन्न भूभागमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसमविद् डेविड ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार अन्य प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा भारीदेखि मध्यमसम्मको हिमपात हुँदा देशभर चिसो बढ्ने छ । चिसोले जनजीवनमा असर पार्न सुरु हुने भएकाले सचेत रहन भनिएको छ ।
कृषि मौसमविद् रामेश्वर रिमालले काटेका धानको सुरक्षा गर्न किसानलाई सुझाव दिनुभएको छ । खेतमै रहेका धानलाई छापो हालेर जोगाउन, झारिसकेको भए केही दिन भकारीमा राख्न भनिएको छ । तथापि यस प्रणालीले हिउँदे तरकारी बालीलाई भने राहत दिने छ । सुक्खा पाखोबारीमा लगाइने हिउँदे तरकारी बालीका लागि यो वर्षा अमृतसरह हुने छ । किसानले भर्खरै रोपेका आलुका बेर्नाका लागि पनि वर्षाले राहत दिने छ । हिमाली भेगमा लगाइएका आलुका लागि भने छापो हालेर जोगाउनुपर्ने भएकाले सजग रहन उहाँले सुझाउनुभएको छ । त्यस्तै भर्खर हुर्कंदै गरेका तरकारीका बेर्नालाई न्यानो दिएर राख्नुपर्ने छ ।
देशभर फैलिसकेको यस प्रणालीले साताभरै प्रभाव पार्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहिलो तीन दिन पश्चिम नेपालमा कायम रहने वर्षाको प्रणाली पछिल्लो तीन दिन मधेश र पूर्वी भेगतर्फ सक्रिय हुने अनुमान गरिएको छ ।





