पार्टी एकताबारे माओवादी केन्द्रले दियाे यस्तो स्पष्टीकरण
नेकपा माओवादी केन्द्रले पार्टी एकताबारे विभिन्न मिडियामा विभिन्न ढंगबाट आएका प्रचाहरूबारे स्पष्टीकरण दिएकाे छ ।
माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी बीच एकता हुन लागेकाे र विचार, तथा नेतृत्वबारे ठाेस भएको भनेर मिडियामा समाचार आएपछि पार्टीका संयाेजक पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले प्रेस नाेटमार्फत स्पष्ट पारेकाे हाे ।
नाेटकाे पुरा पाठ
नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकले गरेको निर्णय र आवश्यकता बमोजिम समाजवादी मोर्चामा आबद्द राजनीतिक दल तथा अन्य वामपन्थी एवं प्रगतिशील समूहहरुबीच नेपाली समाजवादी क्रान्तिका कार्यभार पुरा गर्न एकता तथा संयुक्त मोर्चा निर्माणका लागि वैचारिक तथा सांगठनिक विषयहरुमा घनिभूत छलफल जारी छ । यद्दपी कुनै पनि दलसँग एकता गर्ने लगायतका विषयमा अन्तिम निर्णय र टुंगो लागिसकेको छैन ।
बिभिन्न समयमा नेपाली जनताको अगुवाईमा भएका क्रान्ति र संघर्षहरुलाई रक्षा गर्दै बाँकी कार्यभार पुरा गर्न एकता अनिवार्य शर्त रहेको नेकपा (माओवादी केन्द्र)को ठहर छ । इतिहासको यही आवश्यकतालाई मनन गर्दै अहिले एकताका लागि बिभिन्न पक्षसँग सघन छलफल भइरहे पनि एकताबारे कुनै पनि विषय टुंगो नलागेकाले सामाजिक संजाल तथा केही संचार माध्यममार्फत भएको प्रचारमा सत्यता नरहेको स्पष्ट गर्दछौं ।
-संयोजक क. प्रचण्डको सचिवालय





