निर्वाचनकाे आवश्यकताबारे दलहरू सकारात्मक : कार्की
अन्तरिम सरकारकी प्रधानमन्त्री शुशिला कार्कीले फागुन २१ मा घाेषणा गरिएको निर्वाचनकाे आवश्यकताबारे दलहरू सकारात्मक भएको बताएकी छिन् ।
राजनीतिक दलका प्रतिनिधिससँग मंगलबार बालुवाटारमा छलफलपछि कार्कीले सामाजिक संजाल ‘एक्स’मार्फत उक्त जानकारी दिएकी हुन् ।
सरकार गठन भएयता पहिलोपटक निर्वाचनबारे आफ्नै पहलमा प्रधानमन्त्री कार्कीले छलफल गरेकी हुन् । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले सरकार र दलहरूलाई राखेर निर्वाचनबारे छलफल गरेका थिए ।
राजनीतिक दलहरूसँगको संवाद सौहार्दपूर्ण रहेको पनि प्रधानमन्त्री कार्कीले लेखेकी छन् । ‘आगामी निर्वाचनको वातावरण बनाउने प्रयासस्वरूप दलहरूसँग सौहार्दपूर्ण संवाद सम्पन्न भएको छ । निर्वाचनको आवश्यकतामा कसैको विमति छैन,’ प्रधानमन्त्रीको भनाइ छ, ‘सबै पक्षका चासो र चिन्ता सम्बोधन गर्दै तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्न सरकार कटिबद्ध छ । आ–आफ्नो ठाउँबाट निर्वाचनमा जुटौँ ।’





