कांग्रेस निर्वाचनमा भाग लिन तयार, वातावरण बनाउन सरकारलाई आग्रह

मूलखबर संवाददाता
काठमाडौं, ४ कात्तिक

नेपाली कांग्रेस फागुन २१ मा घाेषणा गरिएको निर्वाचनमा भाग लिन तयार भएको छ ।  प्रधानमन्त्री शुशिला कार्कीकाे आयाेजनामा भएको सर्वदलिय बैठकमा कांग्रेस नेताहरूले साे धारणा व्यक्त गरेका हुन् ।

बैठकमा कांग्रेस महामन्त्री गगन थापाले फागुन २१ को निर्वाचनमा भाग लिन आफूहरू पूर्ण प्रतिबद्ध रहेको बताएका छन्। सँगसँगै, यो सरकारले चुनावको वातावरण बनाउन नसकेको पनि उनले बताए।

महामन्त्री थापाले भने, ‘हामी राजनीतिक रूपले के कुरामा प्रस्ट छौं भने संसद विघटन संविधानसम्मत होइन। यसको संवैधानिक परीक्षण सम्बन्धित निकायले गर्ला। तर राष्ट्रपतिले विशिष्ट अवस्थामा निर्वाचन घोषणा गरेर गइसकेपछि निर्वाचनबाटै संसद लिएर आउनुपर्छ भन्ने हाम्रो दलको धारणा छ। हामी निर्वाचनमा जान पूर्ण प्रतिबद्ध छौं।’

बैठकमा कांग्रेस तर्फबाट महामन्त्री थापा र प्रवक्ता प्रकाशशरण महत सहभागी थिए।

थापाले अगाडि भने, ‘निर्वाचनको वातावरण बनाउने काम सरकारको हो। यसमा हाम्रो पनि सहयोग रहन्छ। तर सरकारले निर्वाचनको वातावरण बनाउन जुन प्रकारले काम गर्नुपर्थ्यो, त्यो गर्न सकेको छैन।’