तिहार शुरु, आज काग तिहार मनाइँदै

मूलखबर संवाददाता
काठमाडौं, २ कात्तिक

नेपालीहरुको दोश्रो मुख्य चाडको रुपमा मनाइने यस वर्षको तिहार आज बाट शूर भएको छ । तिहारमा मनाइने यमपञ्चकमध्ये आज काग तिहार रहेको छ ।
प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मिठा परिकार दिएर मनाइँदै छ ।

बिहान सूर्योदयकालमा त्रयोदशी परेको छ । त्यसैले शास्त्रसम्मत् रूपमा आज आइतबारलाई यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले बताए ।

यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रूपमा मान्ने शास्त्रीय विधान रहेको छ । कागले यमराजसमक्ष राम्रो खबर लगिदिओस् भनेर आजका दिन कागलाई पूजा आराधनासहित मिठो खान दिई खुसी पार्ने गरिएको हो ।