सकियाे एमाले केन्द्रीय कमिटी बैठक, संकट समाधानकाे एकमात्र विकल्प संसद पुनःस्थापना भएको ठहर
नेकपा एमालेकाे केन्द्रीय समितिकाे बैठक सकिएको छ । केन्द्रीय समिति बैठकले वर्तमान राजनीतिक संकटको समाधान प्रतिनिधिसभाकाे पुनःस्थापना मात्रै रहेको निष्कर्ष निकालेकाे छ ।
एमालेले सरकार निर्वाचनको आधार बनाउनेतिर नभइ उल्टो बाटो हिँडिरहेको निष्कर्ष निकाल्दै प्रतिनिधिसभा पुनर्स्थापनाका लागि संविधान पक्षधर राजनीतिक शक्तिहरुलाई एकजुट हुन अपील पनि गरेको छ ।
केन्द्रीय कमिटीको तीन दिनसम्म काठमाडौंमा चलेको बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन पारित गर्दै संविधानको रक्षाका लागि एक हुने उल्लेख गरेको छ । बैठकले शुक्रबार पारित गरेको २२ बुँदे प्रस्तावमा एमाले लोकतन्त्रको रक्षाका लागि उभिएको पार्टी भएको र ताजा जनादेश लिने कुरामा स्पष्ट भए पनि अहिले परिस्थिति त्यतातर्फ नरहेको उल्लेख गरेको छ ।
मुलुकको प्रमुख राजनीतिक पार्टी र लोकतन्त्रको प्राप्ति एवं रक्षाका लागि अग्रपङ्क्तिमा उभिएको पार्टी हुनुको नाताले नेकपा (एमाले) ताजा जनादेश लिने, आवधिक रूपमा जनअनुमोदित हुने र निर्वाचनको प्रतिष्पर्धामा सहभागी हुँदै जनादेश प्राप्त हुँदा सरकार सञ्चालन गर्ने एवं त्यसो नहुँदा जिम्मेवार प्रतिपक्षको भूमिका खेल्ने मान्यतामा अविचलित छ’ एमाले बैठकले पारित गरेको प्रस्तावमा छ ।
एमालेले सरकार निर्वाचनको वातावरण बनाउनेतिर होइन, अनिर्वाचित सत्ता लम्ब्याउँने दिशामा उद्यत् देखिइरहेको निष्कर्ष । ‘निर्वाचनको मूल पक्षका रूपमा दलहरूसँग संवाद, परामर्श र सहकार्य त परै छाडौं, सम्पर्क समेत गर्न चाहिरहेको छैन’ एमालेले भनेको छ,’उल्टै निषेध र मुठभेडको बाटोमा हिँडिरहेको छ । नेताहरूलाई स्थान हद तोक्ने, राहदानी रद्द गर्ने, शान्तिपूर्ण कार्यक्रमलाई निषेध गर्ने, मिडिया ट्रायल गर्दै चरित्र हत्या गर्ने काम गरिरहेको छ ।’





