निर्वाचनमार्फत नै निकास खोज्नुपर्छ : पाण्डे

मूलखबर संवाददाता
काठमाडौं, २९ असाेज

अहिलेको राजनीतिक संकटको समाधान संविधानका प्रावधानमा मात्रै खोज्न सम्भव नभएको बताउँदै आगामी निर्वाचनमार्फत नै निकास खोज्नुपर्ने धारणा नेकपा (माओवादी केन्द्र) ले व्यक्त गरेको छ ।

बुधबार सभामुख देवराज घिमिरेले बोलाएको सर्वदलीय बैठकमा माओवादी केन्द्रका तर्फबाट नेता हितराज पाण्डेले हालको परिस्थितिमा संसद् पुनर्स्थापनाको माग यथार्थपरक नहुने टिप्पणी गरे ।

उनले भने, “संविधानको किताब हेरेर अहिलेको निकास ननिस्कन्छ । परिस्थिति हेरेर अघि बढ्नुपर्छ ।” पाण्डेले जेन–जी आन्दोलनलाई “इतिहासकै दुर्लभ घटना” भन्दै माओवादीसहित सबै दलले आफ्ना कमजोरीहरूको इमानदार समीक्षा गर्नुपर्ने आवश्यकता औंल्याए ।

“संविधानको किताब हेर्दा अहिलेको सरकार गठन र विघटन असंवैधानिक देखिन सक्छ,” उनले थपे, “तर अहिलेको परिस्थितिमा निकास भनेको चुनाव नै हो । सरकारले त्यसका लागि वातावरण तयार गर्नुपर्छ ।”