जेनजी आन्दोलनपछि पहिलोपटक देउवा दम्पती सार्वजनिक, बैठकमा सम्वाेधन
जेनजी आन्दोलनबाट सत्ताविमुख बनेकाे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जेनजी आक्रमणमा घाइतेभएपछि पहिलोपटक पार्टी कार्यलयमा आयाेजित बैठकमा सार्वजनिक भएका छन् ।
आजको केन्द्रीय कार्यसमितिको बैठकमा आफैं उपस्थित भएका उनलेे उपसभापति खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन्।

आजको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको अध्यक्षता सभापति देउवाले नै गरेका थिए । त्यस क्रममा उनले खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका हुन् । देउवाले स्वास्थ्यका कारण पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई दिएको बताएका छन् ।
‘स्वास्थ्यका कारण पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापतिलाई दिएको छु, अब केन्द्रीय कार्यसमितिले तोकिएकै समयभित्रै महाधिवेशनको मिति तोक्ने छ’ देउवाको भनाइ उदृत गर्दै एक केन्द्रीय सदस्यले बताए ।
देउवाले जेनजी आन्दोलनमा मृत्यु भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै २४ गते भएको देशव्यापी विध्वंसकारी घटना मच्याउनेलाई कार्वाहीकाे माग पनि गरेका छन् ।
उनलेे आगामी १५ ओैं महाधिवेशनबाट विधिवत रूपमै नेतृत्व परिवर्तन गर्ने र आफु बाहेक अरूले नेतृत्व गर्ने बताए ।
देउवाले लिखित सम्बाेधन गर्दै प्रतिनिधिसभा विघटनकाे विराेध गरेका थिए भने निर्वाचन घाेषणा भएतापनि वातावरण बनाउन सरकार गम्भीर हुनुपर्ने बताए ।
देउवाले भनेका छन्- `सरकारले फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने मिति तोकेको छ । तथापि, स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनको वातावरण बन्न सकेको छैन । निर्वाचनको पूर्वसर्तका रुपमा रहेको शान्ति सुरक्षाको ग्यारेन्टी छैन । सुरक्षा निकाय मनोबल गिरेर निरीह भएका छन् । तसर्थ निर्वाचनका लागि शान्ति सुरक्षाको अवस्था सामान्य बनाउने र शान्तिपूर्ण निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुन्छ र सबैले स्वतः स्फूर्त निर्वाचनमा भाग लिने अवस्था निर्माण हुन्छ भन्ने कुराको सुनिश्चितता गराउने जिम्मा सरकारको हो, यसतर्फ सरकारको ध्यान जाओस् । सरकारले निर्वाचनका लागि वातावरण बनाउन सकेमा देशलाई पुनः संवैधानिक बाटोमा फर्काउने आधार निर्वाचन हो भन्ने हाम्रो विश्वास छ ।’





