क्रिकेटमा नेपालकाे अर्को सफलता: कतारमाथि ५ रनकाे जित
नेपालले फेरि अर्को सफलता हात पारेकाे छ । क्रिकेटको अन्तर्राष्ट्रिय प्रतियाेगिता ट्वान्टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा सोमबार कतारमाथि ५ रनको रोमाञ्चक विजय हात पारेको छ ।
सन्दीप लामिछानेले ५ विकेट लिएपछि ओमानको मस्कटमा भइरहेको प्रतियोगितामा १ सय ४८ रनको लक्ष्य लिएर मैदान उत्रिएको कतार १९.५ ओभरमा १ सय ४२ रनमा अलआउट भयो । सुपर लिगमा नेपालको यो लगातार दोस्रो विजय हो । नेपालले अघिल्लो दिन सुपर सिक्सको पहिलो खेलमा यूएईलाई १ रनले पराजित गरेको थियो ।
नेपाल र ओमानको समान ६ अंक छ । नेपाल र ओमान बुधबार खेल्दै छन् । यसले यी दुई टोलीको विश्वकपमा पुग्ने औपचारिकता निश्चित गर्नेछ । यूएई र जापानको २–२ अंक छ । नेपालले अन्तिम खेल सामोओसँग शुक्रबार खेल्नेछ ।
अर्को एक पटक हारको नजिक पुगेर नतिजा उल्टाएको नेपाल यस विजयपछि ट्वान्टी–२० विश्वकपको नजिक पुगेको हो ।
तस्बिर : फाइल फाेटाे





