विपद अपडेट: मृत्यु हुने ५३ पुगे, वेपत्ता ७ जना, हजारौं विस्थापित

मूलखबर संवाददाता
काठमाडौं, २० असाेज

असाेज १७ र १८ मा आएकाे भारी वर्षाका कारण उत्पन्न बाढी पहिराे र विपदमा परी मृत्यु हुनेकाे संख्या ५३ पुगेको छ । त्यसैगरी ७ जना बेपत्ता भएका छन् । विपदका कारण हजारौं घरपरिवार विस्थापित भएका छन् ।

मृत्यु हुनेमध्ये ६ जनाले पाँचथर जीप दुर्घटनामा ज्यान गुमाएका हुन् भने अरुले बाढी, पहिरो र चट्याङका कारण ज्यान गुमाएका हुन् ।

केन्द्रीय प्रहरी प्रवक्ता विनोद घिमिरेका अनुसार, बाढी, पहिरोमा परेर २ हजार २३ घर परिवार विस्थापित भएका छन् भने १९ पशुचौपायाको मृत्यु भएको छ १९१ घर डुबानमा छन् ।

ज्यान गुमाउनेमध्ये सबैभन्दा धेरै इलामका छन् । डीआईजी समेत रहेका घिमिरेका अनुसार, इलाममा पहिरोमा परेर ३७ जनाको मृत्यु भएको छ भने ५ जना घाइते छन् । ज्यान गुमाउनेमा १३ पुरुष, १४ महिला, ३ बालक र ८ बालिका छन् ।