प्रचण्डकाे अपिल- सम्भावित जाेखिम र विपद प्रतिकार्यमा जुटाैं
नेकपा माओवादी केन्द्रका संयाेजक पुष्पकमल दाहाल प्रचण्डले सम्भावित भारी वर्षा, बाढी पहिराे र विपदकाे जोखिमविरुद्ध सक्रियतापूर्वक जुट्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।
आज एक प्रेस नाेट जारी गर्दै प्रचण्डले माैसम विभागकाे चेतावनीअनुसार जोखिमजन्य क्षेत्रमा सबै जनसमुदायलाई आवश्यक सतर्कता र सावधानी अपनाउँदै सुरक्षित रहन अपील गरेका छन् ।
उनको नाेटमा भनिएको छ-
मौसम विभागको चेतावनीअनुसार देशका विभिन्न भागमा भारी वर्षा, बाढी, पहिरो, डुबान र भूक्षयको जोखिम छ। जोखिमजन्य क्षेत्रमा सबै जनसमुदायलाई आवश्यक सतर्कता र सावधानी अपनाउँदै सुरक्षित रहन अपील गर्दछु। साथै, तीनै तहका सरकारलाई तीव्र पूर्वतयारी र विपद् प्रतिकार्यमा सक्रिय हुन आग्रह गर्दछु । हाम्रो पार्टीका सबै नेता तथा कार्यकर्ताहरुलाई जनतासँगै रहेर जोखिमविरुद्ध सक्रियतापूर्वक जुट्न निर्देशन दिन्छु।





