
जनतालाई सबै विषयको जानकारी दिनु, सचेत गराउनु र मधेसको विकास र समृद्धिमा अगाडि बढ्नु अभियानको उद्धेश्य हो : प्रचण्ड
• तपाईंहरूको यो अभियान के हो ?
– तपाईंहरूलाई थाहा छ हामी अहिले विशेष अभियान अन्तर्गत हुलाकी राजमार्ग केन्द्रित पूर्वपश्चिम तराई–मधेस जागरण अभियानमा छौँ । पहिलो दिन हामीले झापामा बितायौँ । दोस्रो दिन हामीले मोरङमा विभिन्न कार्यक्रम गरेर मनायौँ । अब हामी क्रमशः कञ्चनपुरसम्म पुग्दैछौँ ।
• तपाईं अभियानमा उत्साहित छु भन्नुभयो । चुनाव अघिको समयमा प्रचण्डले आँधीहुरी ल्याउनु हुन्छ तर, जब चुनाव आउँछ, तपाईं म बहकिएँ भनेर फेरि कोहीसँग समझदारी गरेर जानुहुन्छ भन्ने पनि त नि ?
– त्यो ठाउँ मैले सिद्ध्याइसकेको छु । ०८४ मा कांग्रेस र एमालेसँग मेरो सहकार्य हुँदैन । लाखौँ जनतासँग भनिसकेँ । त्यहाँबाट म ब्याक हुनसक्ने अवस्था छैन ।
• तपाईंले ठुलो पार्टी बनाउने भन्नुभएको छ । ठुलो पार्टी भएर पनि दोस्रो र तेस्रो पार्टीले सरकार चलाउने रहेछन् । ठुलो पार्टी भएर सत्ता सहयात्रीमात्रै बन्ने हो ?
– पहिलो पार्टी भएपछि हामीले धेरै गर्न सकिन्छ । संविधान संशोधनतिर देशलाई लान सकिन्छ । नबनेका ऐनहरू बनाउन सकिन्छ । फटाफट ऐन बनाउने बित्तिकै परिस्थिति नयाँ बन्छ । संविधानले व्यवस्था गरेका थुपै्र कुरा छन् । जस्तै स्वायत्त प्रदेश, संरक्षित प्रदेशहरूको परिकल्पना संविधानले गरेको छ । त्यसलाई कार्यान्वयन गर्ने ऐनहरू बनाउन सकिन्छ । सबैभन्दा ठुलो कुरा सुशासनको पक्षमा अर्को नयाँ रेकर्ड बनाउन सकिन्छ ।
• तपाईंहरू समाजवाद ल्याउने भन्नुहुन्छ । त्यस्तो कार्यक्रम के छ ? के समाजवाद भनेको सभा, सम्मेलन, संगठन बनाएर वा भिडभाड गरेर आउने हो ?
– हामीले भिडभाडबाट समाजवाद आउँछ भनेर कहिले भनेका छौँ ? हामीले त उत्पादनको निम्ति संघर्ष तलैबाट गर्नुपर्छ भनेका छौँ । हाम्रो पार्टीले जितेका १२३ वटा पालिका छन् । ती पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष उपाध्यक्षलाई बोलाएर हामीले दुई दिन विस्तारपूर्वक समाजवादको भ्रुण तलबाट रोप्ने हो, माथिबाट वर्षिने कुरा होइन भनेर व्यापक रूपमा भनेका छौँ । त्यो डकुमेन्ट तपाईंहरूले पनि हेर्नुहोला ।
समाजवाद निर्माण तलबाट गरिन्छ । जनताको बिचबाट गरिन्छ । आत्मनिर्भर अर्थतन्त्रको जग बसाएर गरिन्छ । कृषिमा व्यापक सुधार, पर्यटनलगायत उत्पादन, उत्पादकत्व वृद्धिमा ध्यान दिने गरी योजना हाम्रो बनिसकेको छ । तपाईं पत्रकार साथीहरूले बरु त्यो हेर्नुहोला र बल्ल कार्यक्रम आएछ भन्नुहोला ।
• अभियानको विभिन्न उद्देश्यको कुरा गर्नुभयो तर, तपाईंले मञ्चमा बोल्दा पार्टीभित्रको एकता छ, कुनै विवाद छैन भनेर बढी ऊर्जा खपत गरिरहनु भएको छ नि ?
– होइन । मैले त्यस्तो एकाध ठाउँमा मात्रै बोलेको छु । हामी एकताबद्ध नै छौँ । केन्द्रीय समितिको ३ दिनसम्म चलेको बैठकमा १ हजारभन्दा बढी सहभागी हुनुहुन्थ्यो । उहाँ सबैको एक मतले डकुमेन्ट पास भएको छ । योजना पास भएको छ । त्यसकारण त्यहाँ एकता छ भन्ने विषय तपाईंहरूले बुझ्नु प¥यो ।
एकथरि मानिसहरूले खोतलेर निकाल्न खोज्छन् । माओवादी बढेको त एकाथरि मानिसहरूलाई मन परेको छैन । दलालहरूलाई, नोकरशाहलाई मनपरेको छैन । जाली फटाहालाई मन परेको छैन नि । फेरि माओवादी बढ्ने हो कि के हो भन्ने चिन्ता भएकाहरूले बढाइचढाइ गर्ने गरेका छन् तर, हामी केन्द्रीय समितिले एक मतका साथ डकुमेन्ट पास गरेका छौँ । सबै नेताहरू सँगै हिँडेका छौँ । त्यसकारण मैले एकताबद्ध छौँ भनेर ऊर्जा खपत गरेको तपाईंको कुरा सत्य होइन ।
• प्रसङ्ग बदलौँ । यो सरकार त ढलिहाल्छ भन्नुहुन्थ्यो तपाईं तर, सरकार त नढल्ने भयो नि ?
– सरकार मैलेभन्दा पनि सरकारमा भएका नेताहरूले नै ढल्छ भनेर भन्ने गरेको कुरालाई बेलाबेलामा संकेत गर्ने गरेको हुँ । अर्को, किन मैले ढल्छ भनेको हो भने यो सरकार जसरी गठन भएको छ, त्यो नै अस्वाभाविक छ, अप्राकृतिक छ । त्यसकारण आफ्नै बोझले सरकार ढल्छ भनेको हो । फाइदाको कुरा भन्नुहुन्छ भने उनीहरू ०८४ सम्म बसे पनि हामीलाई कुनै टेन्सन छैन । हामी जनताको बिचमा जान्छौँ । हाम्रो वर्गतिर, हाम्रो मुद्दा, सहिद परिवार, बेपत्ता परिवारतिर फर्किएका छौँ । त्यसले एउटा ऊर्जा पैदा भएको छ । त्यसकारण हामी सरकार अहिले ढाल्ने र बनाउने खेलमा चाहिँ बिल्कुलै छैनौँ । पत्रकार साथीहरूले यो कुरामा विश्वस्त भएर भनिदिए हुन्छ । माओवादी सरकारको खेलमा छैन ।
• सरकार ढाल्न नसकेर त्यो खेलमा नलाग्नु भएको हो कि ?
– खेलमा छैन । सक्नु भएन भन्नुहुन्छ भने मैले अहिले नै धेरै कुरा किन भन्नु र ? हामी त्यो खेलमा छैनौँ ।
• तपाईंले कांग्रेस र एमालेसँगको संगतले माओवादीलाई घाटा भयो भन्नुभयो । घाटाचाहिँ के–के भयो ?
– यो देशमा जटिल परिस्थिति बन्दै थियो । हामी खुला थियौँ । हामी सशस्त्र थियौँ । हामी हातहतियारसहित थियौँ । सूचना सञ्चारको सम्पूर्ण व्यवस्था हामीसँग थियो । ज्ञानेन्द्रले ‘कु’ गरिसकेपछि कांग्रेस, एमालेचाहिँ कोही नजरबन्दमा थिए । कोही हिरासतमा थिए । कोही भूमिगत जाने स्थिति थियो । त्यसबेला मैले गिरिजाबाबु र माधव नेपालसँग मेरो कम्युनिकेसन च्यानलबाट कुरा गर्थें । उहाँहरूसँग कुनै च्यानल थिएन ।
दोस्रो कुरा, हामीले नै १२ बुँदे समझदारीको आधार बनायौँ र सहमतिको वातावरण बन्यो । तेस्रो कुरा, संविधान सभाबाट संविधान बनाउने बेलामा हामीले नै पहल ग¥यौँ । कांग्रेस र एमालेलाई संविधान बनाउनुसँग धेरै रुचि थिएन ।
तपाईंहरूले पनि बुझ्नु भएकै होला । कांग्रेस र एमालेको मूल नेतृत्वलाई संविधान बनाउन रुचि थिएन । मैले पूर्वका सभाहरूमा भनेको पनि छु । केपीजीलाई प्रधानमन्त्री, सुशीलजीलाई राष्ट्रपति बनाउने सहमति गरेपछि मात्रै संविधान बनेको हो । नत्र फेरि पनि संविधान नबनेर देश ठुलो दुर्घटनामा जान पनि सक्थ्यो ।
त्यसकारण हामीले जनयुद्धमा मात्रै होइन, शान्ति प्रक्रियामा आएपछि पनि सबैलाई मिलाउन अधिकतम प्रयास गरेको हो । फेरि अर्को कुरा, कांग्रेससँग हामी सहकार्य गरेको बेलामा एक ढंगले, एमालेसँग गरेको बेलामा अर्को ढंगले साथीहरूले यो टीआरसीसँग सम्बन्धित विषयलाई बहुमतले टुङ्ग्याउँ, बहुमतले टुङ्ग्याउँ भन्नुहुन्थ्यो । तर, त्यो हुन सक्दैन । १२ बुँदे समझदारीका सहयात्रीहरू, शान्ति सम्झौताको हस्ताक्षरकर्ता र सहयात्रीहरूको सहमतिले मात्रै यो देशमा सङ्क्रमणकालको अन्त्य हुनसक्छ, शान्ति प्रक्रिया निष्कर्षमा पुग्न सक्छ भनेर अडिएको म हो । यो कुरा तपाईंहरूले बुझ्नु भएको होला सायद ।
मैले अडान लिएको कारण नै म प्रधानमन्त्री हुँदै बनेको कार्यदलले सहमतिको आधार बनायो र सहमति भयो । त्यसकारण यो देशमा समझदारी, सहमति, शान्तिको पनि सुत्रधार, संविधान सभा, संघीय लोकतान्त्रिक गणतन्त्रको सूत्रधारचाहिँ माओवादी केन्द्र नै हो । यो कुरा प्रतिक्रियावादीहरूले बुझ्न चाहँदैनन् । बुझे पनि भन्न चाहँदैनन् ।
संविधानको तलदेखि माथिसम्म माओवादीको इन्डिकेसन छ । तपाईं सार्वभौम नेपाली जनतादेखि समाजवादउन्मुख राज्य व्यवस्था, मौलिक अधिकार, समावेशीता, समाुनपातिकता सबै माओवादी नै हो । त्यसकारण एकथरि ठुला भनिएका पार्टीहरूलाई पनि यो संविधान मन परेको छैन । यो संविधान कहिले च्यातौँ जस्तो भएको छ । कहिले पटकपटक संसद विघटन गर्ने, अस्ति भर्खरै संविधान संशोधन भन्ने गरी गरिएको कुरा पनि त्यही हो ।
त्यसकारण यो सबै परिवर्तनको संविधान, महिला, दलित, जनजाति, मधेसी, मुस्लिमको अधिकारको विषय आउनुमा माओवादी बलिदान र संघर्षको परिणाम हो । तपाईंहरूले पनि दह्रोसँग भन्दा हुन्छ । सत्य यही हो । मलाई खुसी के छ भने नेपाली जनताले अब फेरि बुझ्यो । बिचमा हामीले पनि केही गल्ती ग¥यौँ ।
• पूर्वराजाले फागुन ७ गते दिएको वक्तव्यको व्यापक चर्चा भयो । तपाईं ०८४ को चुनावमा १ नम्बर बन्ने भन्नुहुन्छ । तर, त्यस अगाडि नै पूर्वराजाले टेकओभर गर्ने चर्चा छ नि ?
– त्यस्तो चर्चा छैन । पूर्वराजालाई मैले कुनै महत्त्व दिएको पनि छैन । उनले बोले । मानिसहरूले प्रतिक्रिया दिइरहेका छन् । किनभने इतिहासबाट हामी धेरै अगाडि बढिसक्यौँ । जनताको चेतना, आन्दोलन र परिस्थिति पनि धेरै अगाडि बढिसकेको छ । कसैले उनलाई बोल्न लगाएका होलान् । जसले नजिक बसेर केही पाउँला भन्ने हिसाबले केही बोल्न लगाएका होलान् । त्यसको कुनै अर्थ छैन । त्यसकारण यो देशमा फेरि राजतन्त्र फर्किने कुरा असम्भव छ ।
• पहिचानको मुद्दा छोड्नु भयो । वर्गीय मुद्दा छोड्नु भयो । अब फेरि त्यसैमा फर्किनु भएको हो ?
– हामीले वर्गको मुद्दा, पहिचानको मुद्दा, समावेशी र समानुपातिकताको मुद्दा, प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्णसमानुपातिक निर्वाचन प्रणालीको मुद्दालाई दह्रोसँग पक्डिएको बेला नै हामी एक नम्बर पार्टी बनेका थियौँ । पछि अलिक हामी लचिलो हुन जाँदा जनतामा फ्रष्टेसन आएको हो । अब हामी तिनै मुद्दामा केन्द्रित भएर जाँदा जनताले भरोसा गर्ने आधार बनेको छ । हामी उत्साहित छौँ । जनताले कुरा बुझेको छ ।
मेरो १८ महिनाको कार्यकालमा सुशासन, सामाजिक न्याय र समृद्धिको निम्ति गरिएका काम, अन्तर्राष्ट्रिय पहलकदमी सबैको कारण हामीलाई हटाइयो र भ्रष्टाचारी बचाउन लागियो भन्ने कुरामा जनताले अबको चुनाव परिणाममा देखाउँछन् । अबको चुनाव क्रान्तिकारी हिसाबले अर्कै आउँछ ।
• तपाईंहरू मात्रै होइन, अरु दल पनि ०८४ कै चुनावमा केन्द्रित छन् नि ? मुद्दा र एजेण्डाहरू त कहाँ छ र ?
– जनताले जुन जनमत दियो । परिस्थितिले हामीलाई जुन नेतृत्व दियो । हामीले जनताको पक्षमा । जनताको बिचमा गरेको प्रतिबद्धता या संकल्प जे थियो, त्यही अनुसार नै सुशासनको अभियान सुरु गरेको हो मेरो नेतृत्वको सरकारले । जनतासँग गरेको प्रतिबद्धता अनुसार नै सामाजिक विभेदका विरुद्ध, सामाजिक न्यायको पक्षमा सुरु गरेको हो । जनतासँग गरेको प्रतिबद्धता अनुसार नै आर्थिक संकटबाट देशलाई मुक्त गर्ने अभियान सुरु गरेको हो । यसबाट डेढ वर्षमै निकै सकारात्मक परिणाम देखिएको पनि हो । भ्रष्टाचारीहरू कारबाहीको दायरामा आउँदै गएका पनि हुन् ।
के राजनीतिक नेता, के ठुलाठुला हाकिमहरू, के भू–माफियाहरू, राज्यको जग्गा व्यक्तिको नाममा बनाएर करोडौँ लुट्नेहरू त कारबाहीको दायरामा पर्दै गएपछि न हामीलाई हटाएको हो । त्यसकारण हामी जनताको म्याण्डेट छोडेर ०८४ को चुनावमात्रै भनिरहेका छैनौँ । जनतासँग गरेको बाचा अनुसार इमानदारिताका साथ काम गर्दै थियौँ । त्यही गरेबापत दलालहरू मसँग र हामीसँग रिसाएका हुन् नि । अनि उनीहरूले नै आफ्नो घरघरमा कांग्रेस–एमालेका नेताहरूलाई रातिराति बोलाएर, ढाँटछल गरेर सहमति गरेका हुन् नि । एक जना नेता त ढाँट्न भयंकर सिपालु देख्नु भएकै छ त (हाँस्दै) ।
• नेकपा एकीकृत समाजवादीसँग कहिले एकता गर्ने ?
– हामी समाजवादी मोर्चामा सँगै छौँ । अस्ति हाम्रो बैठक पनि भयो । एउटा कार्यक्रम पनि प्रज्ञा भवनमा भयो । अब चैतको ९ गते मोर्चाकै तर्फबाट हामी जनकपुरमा एउटा सभा गर्दैछौँ । चैत २४ गते काठमाडौँमा एउटा ठुलो सभा गर्दैछौँ । मोर्चाको कामहरूलाई सक्रिय बनाउँदै मोर्चा सिङ्गैलाई पार्टी एउटै बनाउनतिर लान सकियोस् भन्ने हाम्रो चाहना छ ।
• तपाईंले कोशी प्रदेश परिषद् बैठकमा दिनुभएको प्रशिक्षण कार्यक्रममा तराई–मधेस र पहाडको अभियान सकेर टार्गेट काठमाडौँ गर्ने भन्नुभयो । यो टार्गेट भनेको के हो ? कब्जा गर्ने भन्नु भएको हो कि ?
– त्यो भनेको शक्ति प्रदर्शन गर्ने हो । माओवादी फेरि जाग्यो । माओवादी उठ्यो फेरि । जनतासँग माओवादी एकाकार भयो भनेर लाखौँ जनता त्यहाँ पु¥याएर स्थापित गर्ने भनिएको हो ।
• पूर्वउपराष्ट्रपतिलाई चाहिँ अभियानमा किन नल्याउनु भएको ?
– उपराष्ट्रपतिलाई ल्याउने बारेमा हाम्रो पार्टीमा अहिले कुनै विवाद छैन तर, हामीले औपचारिक ढंगले विभिन्न प्रदेशमा पनि साथीहरू सबैको राय सुझाव बुझेरमात्रै उहाँलाई औपचारिक जिम्मेवारी दिँदा ठिक हुन्छ भनेको कारण नल्याएको हो । उहाँलाई उपाध्यक्ष बनाउने हो कि सचिव बनाउने हो कि उपमहासचिव बनाउने हो भन्ने विषयमा निर्णय नगरिएको हुँदा पनि नल्याएको हो ।
• प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशको संख्या थपघट हुनसक्छ भन्नु भएको छ नि ?
– यो विषयचाहिँ मैले थाहा पाएको छैन । हामीले संविधान बनाउने बेलामा नै केही विषय रिजर्भेसन राखेका छौँ । संघीय लोकतान्त्रिक गणतन्त्रमा आइसकेपछि यो हाम्रो परिवर्तनलाई मेल खाने भनेको प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति नै हो भन्ने हामीले ‘नोट अफ डिसेन्ट’ लेखेका छौँ । त्यही कुरा जनताको बिचमा लगिरहेका छौँ । तपाईंहरूले पनि यो देशमा साँच्चै भ्रष्टाचार रोक्ने, स्थायित्व खोज्ने हो भने यो सिस्टम सुहाउँदो शासकीय स्वरुप चाहिन्छ । प्रत्यक्ष निर्वाचित कार्यकारी चाहिन्छ भन्ने हो ।
• प्रत्यक्ष राष्ट्रपति निर्वाचित हुँदा हर्क साम्पाङ, बालेन शाह जस्तो भयो भने के होला भन्नेहरू पनि छन् नि ?
– के फरक पर्छ ? हर्क आए पनि फरक पर्दैन । बालेन आए पनि फरक पर्दैन । के बिग्रन्छ र ? मैले त उनीहरूलाई लोकतन्त्रको फूल भनेको छु । त्यसबाट म दायाँबायाँ पनि छैन । उनीहरूलाई त म आफ्नै मान्छे ठान्छु ।
