
माओवादी केन्द्रले आजबाट मध्यपहाडी राजमार्गकेन्द्रित अभियान सुरू गर्दै
प्रमूख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले आजबाट पुष्पलाल मध्यपहाडी लोकराजमार्गकेन्द्रित अभियान जनतासँग माओवादी जनजागरण अभियान सुरू गर्दैछ।
त्यसका लागि माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका पदाधिकारी नेताहरु बैतडी पुगिसकेका छन्। यस अघि फागुन १२ गतेबाट हुलाकी राजमार्ग केन्द्रीत तराई मधेश जागरण अभियान सञ्चालन गरेको माओवादीले बैतडीको पाटनबाट आज अभियानको शुरुवाथ गर्न लागेको हो । अभियानको उद्घाटन अध्यक्ष प्रचण्डले नै गर्नेछन्।
कूल १ हजार ७६७ किलोमिटर लामो यो राजमार्गकेन्द्रित अभियान जेठ महिनाभरमा पूरा गर्ने माओवादी केन्द्रले जनाएको छ।
फागुन १२ गतेदेखि सुरू भएको उक्त अभियान वैशाखसम्म चलेको थियो। बैसाख २२ गते कञ्चनपुरमा पुगेर अभियानको समापन गरिएको थियो ।
अभियानमा मध्यपहाडी लोकमार्गमा पर्ने विभिन्न स्थानहरूमा जनसभासमेत आयोजना गरिएको छ ।
प्रत्येक जिल्ला समन्वय समितिले एक(एक स्थानमा जनसंवादको कार्यक्रम आयोजना गर्ने माओवादी केन्द्रले जनाएको छ।
बैतडीबाट सुरू भएको अभियान आजै डोटीको दिपायल पुगेर जनसंवादमा परिणत हुनेछ। जेठ ३ गते अछामको मंगलसेन जनसंवाद हुनेछ भने जेठ ४ गते दैलेख सदरमुकाम दुल्लुमा जनसभा हुनेछ। जेठ ५ गते जाजरकोट खलगांमा जनसंवाद तय भएको छ। जेठ ६ गते पश्चिम रूकुमको चौरजहारी जनसभा र मुसिकोट जनसंवाद हुने माओवादी केन्द्रले जनाएको छ। जेठ ७ गते पूर्वी रूकुमको रुकुमकोट जनसंवाद र रोल्पाको थवाङमा जनसभा हुने माओवादी केन्द्रले जनाएको छ।
त्यस्तै जेठ ८ गते बागलुङमा जनसंवाद हुने र जेठ ९ गते पर्वतको कुश्मामा जनसंवाद हुनेछ। माओवादी केन्द्रको अभियान जेठ १० गते कास्की पोखरा आइपुग्नेछ र जनसभामा परिणत हुनेछ। त्यसपछिको अभियानको कार्यतालिका सार्वजनीक गरिएको छैन । वर्षयामको अवस्था र अन्इ गतिविधिको समिक्षा गरेर मात्रै थप कार्ययोजना सार्वजनीक गरिने प्रवक्ता तथा उपाध्यक्ष अग्नी प्रसाद सापकोटाले जनाएका छन् ।