माओवादी केन्द्रको मध्यपहाडी लोकमार्ग अभियान जेठभरी, कहाँ कहिले हुँदैछन् जनसभा ?

मूलखबर संवाददाता
काठमाडौं, ३० बैसाख

नेकपा माओवादी केन्द्रको मध्यपहाडी लोकमार्ग केन्द्रित जनजागरण अभियान जेठ २ गतेबाट शुरु हुँदैछ । अभियानअन्तर्गत गण्डकी प्रदेशको राजधानी पोखरामा जेठ १० गते जनसभा गर्ने भएको छ।

जेठ २ गते बैतडीको पाटनमा शुरु हुने अभियान जेठ ८ गते लुम्बिनी प्रदेशको पूर्वी रूकुम हुँदै गण्डकी प्रदेशको बागलुङ प्रवेश गर्ने पार्टीले जनाएको छ।

जेठ ८ र ९ गते गरी बागलङका तीन स्थानमा जनसंवाद कार्यक्रम तय गरिएको माओवादी केन्द्र बागलुङले जनाएको छ। पहिलो दिन बुर्तिबाङ र गलकोटमा जनसंवाद कार्यक्रम हुने माओवादी केन्द्रका जिल्ला संयोजक राजीव घिमिरेले जानकारी दिए।

अभियानका क्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहालसहितका शीर्ष नेता भेटघाट र अन्तरक्रियालगायत कार्यक्रममा सहभागी हुने जनाइएको छ। शहीद, बेपत्ता र घाइतेजनका परिवारलाई पनि भेट्ने कार्यक्रम तय भएको संयोजक घिमिरेले बताए।

माओवादी केन्द्रले लोकमार्गका प्रत्येक प्रदेशमा एक(एक जनसभा र प्रत्येक जिल्लामा कम्तीमा एक–एक अन्तरसंवाद गर्नेगरी अभियानको तयारी गरेको हो । अभियान जेठ महिनाभर चल्ने पार्टीले जनाएको छ ।

कार्यतालिकाअनुसार आगामी जेठ १ गते बेलुका डडेल्धुरामा, २ गते बैतडीको पाटनमा जनसभा र डोटीको दिपायलमा जनसंवाद कार्यक्रम राखिएको छ ।

त्यसैगरी, जेठको ३ गते अछामको मंगलसेनमा जनसंवाद, ४ गते दैलेखको सदरमुकाम दुल्लुमा र ५ गते जाजरकोट खलंगामा जनसंवाद कार्यक्रम तय भएको छ । ६ गते पश्चिम रुकुमको चौरजहारीमा जनसभा र मुसिकोटमा जनसंवाद, ७ गते पूर्वी रुकुमको रुकुमकोटमा जनसंवाद र रोल्पाको थवाङमा जनसभा, ८ गते बागलुङमा जनसंवाद, ९ गते पर्वतकाे कुस्मामा जनसंवाद र १० गते कास्कीको पोखरामा जनसभा तय भएको हो ।