नागरिकता किर्ते आरोपमा पक्राउ परेका सिरोहियाले के दिए अदालतमा वयान ?

मूलखबर संवाददाता
धनुषा, ११ जेठ ।

नागरिकता किर्ते गरेको र दोहोरो नागरिकता लिएको आरोपमा कार्यकक्षबाटै प्रहरीद्वारा पक्राउ गरिएका कान्तिपुर मिडियाका सञ्चालक कैलाश सिरोहियाले अदालतमा १० बुँदै जवाफ मार्फत प्रतिवाद गरेका छन् ।
उनले आफूलाई कसैले प्रतिसोधपुर्ण र उक्साहटमा उजुरी दिएको बताएका छन् ।

उनले कसरी गरे प्रतिवाद ?

१।कसैको प्रतिशोध र इसारामा इन्द्रजितप्रसाद महतोले जाहेरी दिएका हुन् भन्ने मेरो दाबी छ, गृहमन्त्री लामिछाने र रास्वपा सांसद मनीष झासँग एउटै टेबलमा बसेर छलफल गरिरहेको फोटो सार्वजनिक भएपछि मात्र उनलाई मैले देखेको हुँ ।

२।मैले एउटा मात्र नागरिकता लिएको छु, दुई–तीन थरी नागरिकता बनाएको हल्ला गरेर जनसमुदायलाई भ्रमित पारिएको छ तर प्रहरी र सरकारी वकिलले ममाथि यस्तो आरोप लगाएका छैनन् ।

३।मैले प्राप्त गरेको नागरिकता सुरक्षित राखेर सदुपयोग गर्ने मेरो दायित्व हो । राज्यका अभिलेखमा पहुँच भएका कसैको लापरबाही वा दुर्नियतले सरकारी अभिलेख ९ढड्डा० तलमाथि हुन्छन् भने त्यसको सम्पूर्ण दायित्व सम्बन्धित निकायले लिनुपर्छ ।

४।नागरिकतामा नम्बर राख्ने क्षेत्राधिकार मेरो होइन, अरू कसैको नम्बरसँग मिलेको छ भने त्यसको जवाफदेही म होइन । मेरो नागरिकता प्रमाणित गर्ने अधिकारीको हस्ताक्षर र मिति छैन भन्ने हल्ला गरिएको छ, सबै विवरण मेरो नागरिकतामा छन् ।

५।म पिताजीले नागरिकता प्राप्त गरेपछि जन्मिएकाले वंशजको नागरिक हुँ, पिताजीले नागरिकता प्राप्त गर्नुअघि र पछि जन्मिएका सन्तानको नागरिकताको प्रकार पनि कानुनअनुसार फरक भएको होला, जसको जवाफ कानुन र सरकारले दिन सक्छ ।

६।२०१९ साल मंसिर २९ मा मेरो जन्म भएको हो, २०३६ भदौ २५ मा नागरिकता लिएको हुँ, उमेर कति लेखियो भन्ने अधिकार प्राप्त अधिकारीले जान्ने विषय हो, मेरो इच्छा र रोजाइले लेखाउन पाउने विषय होइन ।

७।मेरो नागरिकतामा फाँटवालाले उमेर १८ वर्ष लेखेकामा प्रमाणित गर्ने अधिकारीले कोष्ठभित्र २०१९र०८र२९ भनेर थप स्पष्ट पारेका रहेछन्, थपिएको अक्षरलाई दुवैतिर हस्ताक्षरले बन्द गरिएको छ, जसमा रातो मसी प्रयोग भएको छ । फोटोकपी पाएका केही व्यक्तिले हस्ताक्षरलाई केरमेट भनी प्रचार गरेका छन् ।

८।पत्र काटेर बोलाएको भए म नागरिकता बोकेर आफैं उपस्थित हुने थिएँ, एक्कासि म अध्यक्ष रहेको सञ्चारमाध्यमको कार्यालयमा हतियारधारी प्रहरी परिचालन गरेर पक्राउ गरिएको छ, यो राज्यशक्तिको चरण दुरुपयोग हो ।

९।यो कैलाश सिरोहियाको नागरिकताको विवाद हुँदै होइन, गृहमन्त्री रवि लामिछानेको दोहोरो नागरिकता, दुई देशका पासपोर्ट र सर्वसाधारणले गाँस कटाएर सहकारीमा बचत गरेको रकम हिनामिनाको समाचारमाथिको प्रतिशोध मात्र हो ।

१०।राहदानी दुरुपयोग अनुसन्धानको विषय गृह मन्त्रालयअन्तर्गत पर्छ तर दुई देशका राहदानी बोकेर हिँडेका लामिछाने यो देशको गृहमन्त्री भएका छन् र सार्वभौम नागरिकलाई तर्साउने प्रयास गरिरहेका छन् ।

९कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाका कानुन व्यवसायीले जनकपुरमा सार्वजनिक गरेको वक्तव्यको संक्षिप्त अंश०