माओवादी विधान सम्मेलनको संश्लेषणः नेतृत्व चयनमा आन्तरिक लोकतन्त्रको अब्बल अभ्यास

मूलखबर संवाददाता
काठमाडौं

नेकपा माओवादी केन्द्रको विधान सम्मेलनमा प्रधानमन्त्री एवं अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको विधान परिमार्जनसहित पारित भएको छ।

विधान अधिवेशनमा समूहगत छलफलबाट सुझावका आधारमा तयार गरिएको परिमार्जित विधान पारित गरिएको हो। अधिवेशनमा अध्यक्ष प्रचण्डले विधानलाई समृद्ध बनाउनका लागि महत्त्वपूर्ण सुझाव प्राप्त भएको उल्लेख गर्दै पार्टी नयाँ तवरले अगाडि बढ्ने विश्वास व्यक्त गरे।

विधान अधिवेशनलगतै विशेष महाधिवेशनमा तयारीको प्रक्रिया सुरु हुने जानकारी दिँदै अध्यक्ष प्रचण्डले विचारलाई अझ बढी केन्द्रित र संश्लेषित हुने बताए। उनले पार्टीको रक्षा र विकास गर्न सहयोग पुगेको बताए।

अध्यक्ष ‘प्रचण्ड’ले यही फागुन १ गते प्रस्तुत गरेको विधान मस्यौंदामाथि २० समूहहरुबाट सुझाव सङ्कलन गरिएको थियो।

अबको बाटोः आन्तरिक लोकतन्त्रको अब्बल अभ्यास

माओवादीले अब सबै तहको कमिटी प्रत्यक्ष निर्वाचनबाट निर्वाचित गर्ने भएको छ। विधान अधिवेशनले पार्टीको सबै कमिटी प्रत्यक्ष निर्वाचनबाट निर्वाचित गर्ने निर्णय गरेको हो।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टीले प्रत्यक्ष निर्वाचनको ढोका खोलेको बताए। उनले पदाधिकारीमा भने केन्द्रीय कमिटीको निर्वाचनपछि मात्रै निर्वाचन गरिने जानकारी दिए। केन्द्रीय कमिटीले पदाधिकारी निर्वाचित गर्ने उनको भनाइ छ।

त्यस्तै, विधान अधिवेशनले केन्द्रीय समिति १९९ जनाको र पदाधिकारी ११ जनाको बनाउने निर्णय गरेको छ। आयोगहरुमा १५ जनासम्म सदस्य राख्ने भनिएको छ।

प्रवक्ता सापकोटाले विधानलाई छोटो बनाउँदै सबै कुराहरुलाई नियमावलीमा स्पष्ट पार्ने निर्णय भएको बताए। अधिवेशनले पार्टीको नाम र चुनाव चिह्न तत्काल नफेर्ने तर सन्दर्भ आएपछि फेर्न सकिने निर्णय गरेको पनि उनले जानकारी दिए।

त्यस्तै, माओवादी केन्द्रले सबै जनवर्गीय संगठनहरुको सम्मेलन गर्ने र पुनःगठन गर्ने निर्णय भएको छ। अधिवेशनले भारत, मध्यपूर्व र बाँकी विश्वमा गरी ३ वटा छुट्टाछुट्टै प्रदेशस्तरीय समिति बनाउने निर्णय पनि गरेको प्रवक्ता सापकोटाले जानकारी दिए। आगामी अधिवेशन माथिल्लो तहको कमिटीबाट सुरु हुने उनको भनाइ छ।

नाम र चुनाव चिन्ह अहिले नचलाउने

अधिवेशनमा प्रतिनिधिबाट नाम र चुनाव चिह्न समेत परिवर्तन गर्नुपर्ने आवाज उठे पनि माओवादीले यसलाई तत्कालका लागि रोकेको छ ।

मस्यौदा विधानमा नाम र चुनाव चिह्नका बारेमा कुनै प्रस्ताव गरिएको थिएन । मस्यौदामा फरक मत राखेका उपमहासचिव शर्माले भने नाम पनि परिवर्तन गरेर नेकपा (समाजवादी) राख्नु पर्ने प्रस्ताव गरेका थिए ।

जवाफ दिने क्रममा अध्यक्ष प्रचण्डले विभिन्न समयमा नाम परिवर्तन गरेको उदाहरण दिएर यसमा संकुचित नभएको, तर जतिबेला पनि परिवर्तन गर्न नहुने निर्णय भएको बताएका थिए ।

‘विगतमा कयौं नाम परिवर्तन गरेरै आएका हौं । चुनाव चिह्न पनि फेर्नै नसकिने होइन । तर फेर्न मिल्ने विषय हुन् भन्दैमा जति बेला मन लाग्यो त्यतिबेला, जसरी मन लाग्यो त्यसरी फेर्नु पनि उचित हुँदैन’, जवाफमा प्रचण्डले भने, ‘खास सन्दर्भ, मोड र परिस्थितिमा निर्णय लिनु बढी उचित हुन्छ ।’

उनले केन्द्रीय कार्यालयको बैठकले अरू कम्युनिष्टसँग एकताबारे छलफल गरिरहेको र यस विषयमा टुंगो लागेपछि यस विषयमा सोच्न सकिने बताए । ‘नेकपा चाहिँ छोड्न सकिँदैन, तर नामकै कारण पार्टी एकता रोक्ने भन्ने हुँदैन’, उनले भने । उनले नामसँग पार्टीको पहिचान र इतिहास जोडिएको भन्दै अधिवेशन हलबाटै नाम फेर्न नसकिने बताएका थिए ।

उनले चुनाव चिह्नबाट पनि पहिले जस्तो अप्ठेरो स्थिति नबनेको भन्दै यसलाई आवश्यकता अनुसार परिवर्तन गर्न सकिने बताए ।

‘चुनाव चिह्न गोलाकारभित्रको हसिया हथौडा भन्दा गीत बनाउने साथीलाई पनि गाह्रो, नारा लाउने बेला पनि गाह्रो’, उनले भने, ‘यसले हामीलाई धेरै ठूलो क्षति भयो । एकपटक त हाम्रै चुनाव चिह्नका कारण अर्को पार्टीले ७ सिट जित्यो । अहिले जनताले पनि बुझे, पहिलो जस्तो खतरा छैन ।’

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति १९९ सदस्यीय हुने भएको छ । प्रचण्डले महाधिवेशन हलबाट १९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित हुने गरी गरेको प्रस्ताव हलले पारित गरेको छ । केन्द्रीय सदस्यहरूले ११ सदस्यीय कार्यालय र स्थायी समिति सदस्य चयन गर्नेछन् । माओवादी केन्द्रको ११ जनाको कार्यालय रहनेछ भने ६७ सदस्यीय स्थायी समिति हुनेछ ।

माओवादीले विशेष महाधिवेशन गर्ने तयारी पनि गरेको छ । दुई वर्षपहिला माओवादीको महाधिवेशन भएको थियो । महाधिवेशन हलमा नै छिट्टै विशेष महाधिवेशन गर्ने बताएको थियो ।