
मुग्लिङ–पोखरा सडक: ४८ प्रतिशत प्रगति
काठमाडौँ र पूर्वी नेपाललाई पर्यटन राजधानी पोखरासँग जोड्ने सडक सहज हुँदै गएको छ ।
पोखरादेखि मुग्लिङसम्मको सडक स्तरोन्नतिले गति लिँदा पछिल्लो समय कास्कीको पोखरा महानगर क्षेत्रमा पनि तीव्र गतिमा काम भइरहेको छ । यसअघि मापदण्डका संरचना, बिजुली पोल, खानेपानी पाइप व्यवस्थापन जस्ता समस्याले काम सुस्त थियो ।
तनहुँको कोत्रेदेखि कास्कीको पृथ्वी चोकसम्म १८ किमी राजमार्ग पोखरा महानगरमा पर्छ । खानेपानीको पाइप, बिजुलीका पोल र भौतिक संरचनाको अवरोध हटेकाले निर्माण व्यवसायीले पूर्ण क्षमतामा काम गर्न पाएको आयोजना प्रमुख कृष्णबहादुर कुँवरले जानकारी दिनुभयो । पश्चिम खण्डको भौतिक प्रगति ४८ दशमलव पाँच प्रतिशत छ ।
यो खण्डमा साढे १७ किमीमा दुई तर्फी कालोपत्रे भएको छ भने साढे १६ किमीमा एकतर्फी कालोपत्रे भएको छ । पश्चिम खण्डमा कतै कालोपत्रे नभएको सडक खण्ड अब चार किमी मात्र छ । तनहुँको थर्पुमा र मौरी भिरमा गरी डेढ किमी सडक कच्ची छ भने पोखरा क्षेत्रमा साढे दुई किमी जति सडक कच्ची छ ।
अमरसिंह चोकदेखि औद्योगिक क्षेत्र गेट, ताल चोक र घोतघोते क्षेत्रमा साढे दुई किमी बाटो कालोपत्रे हुन बाँकी छ । आयोजना प्रमुख कुँवर अमरसिंह चोकदेखि औद्योगिक क्षेत्रसम्म अबको हप्ता नै कालोपत्रे गर्ने गरी तयारी भएको बताउनुहुन्छ । पश्चिम खण्डमा अहिले बिजुलीका पोलको समस्या नरहेको आयोजनाले जनाएको छ । अब ५५ वटा पोल गाड्न बाँकी छ भने हटाउनुपर्ने पोल साढे चार सय जति छन् । आयोजनासँगको समन्वयमा काम नरोकिने गरी विद्युत् प्राधिकरणले पोलको काम गरिरहेको छ ।
आँबुखैरेनीदेखि पोखरासम्मको ८१ किमी सडक विस्तार तथा स्तरोन्नति पूर्वी र पश्चिम गरी दुई खण्डमा जारी छ । जामुनेदेखि पोखरासम्मको पश्चिम खण्डमा चार लेनको १८ मिटर चौडा सडक १२ किमी, चार लेनको २३ किमी चौडा सडक ८.५ किमी र छ लेनको ४६ मिटर सडक १८.३ किमी बनाइँदै छ । यो खण्डमा चार ठुला र आठ साना पुल छन् ।
चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले सात अर्ब ४० करोड ४६ लाखमा पश्चिम खण्ड निर्माणको जिम्मा लिएको छ । गएको भदौ १२ मै पहिलो म्याद सकिएकोमा दुई पटक थप भई ३१ डिसेम्बर २०२५ सम्म यसको म्याद छ ।
