‘क्रसरोड’मा पाकिस्तानः आएन कसैको बहुमत, इमरान शक्तिशाली, अब के होला !

मूलखबर संवाददाता
काठमाडौं

पाकिस्तानमा विहीबार भएको चुनावमा कुनै पनि दलले स्पष्ट बहुमत ल्याउन सकेनन्। जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानले बिहीवारको चुनावमा जित हासिल गरेको दाबी गरेका छन्। उनको साथ पाएका स्वतन्त्र उम्मेदवारहरूले हालसम्म सबैभन्दा धेरै स्थानमा जित हासिल गरेका छन्।

तर अर्का पूर्व प्रधानमन्त्री नवाज शरिफले आफ्नो दल सबैभन्दा ठूलो बनेको भन्दै अन्यलाई गठबन्धनमा सहभागी हुन आग्रह गरेका छन्।

निर्वाचनमा पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तेहरिक–ए–इन्साफ (पिटिआई) लाई दलको मान्यता र चुनाव चिन्ह ‘क्रिकेट ब्याट’ प्रयोग गर्न दिइएको थिएन । त्यसो हुँदा बिलावल भुट्टो नेतृत्वको पाकिस्तानी पिपुल्स पार्टी र पूर्वप्रधानमन्त्री नवाज सरिफ नेतृत्वको पाकिस्तान मुस्लिम लिगबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान थियो । अझ मुस्लिम लिगले बहुमत हासिल गर्ने धेरैको आकलन थियो ।

तर, निर्वाचन परिणाम भने त्यस्तो देखिएन । पार्टी नाम र चुनाव चिन्ह प्रयोग गर्न नपाएपछि पिटिआई समर्थकले स्वतन्त्र उम्मेदवारी दिए । पिटिआई समर्थक स्वतन्त्र उम्मेदवारले पहिलो स्थान हासिल गरे भने पाकिस्तान मुस्लिम लिग दोस्रो र पाकिस्तान पिपुल्स पार्टी तेस्रो स्थानमा सीमित भयो ।

तर, पाकिस्तानको इतिहासमा यस्तो भएको यो पहिलोपटक भने हैन । सन् १९८५ मा जर्नेल जियाउल हकले गराएको संसदीय चुनावमा पार्टी प्रतिबन्धित थिए । शतप्रतिशत स्वतन्त्र उम्मेदवारले चुनाव जितेका थिए । यो चुनावपछि संसदभित्र ‘फ्लोर सपोर्ट’ को क्रममा पार्टीको जन्म भएको थियो । पाकिस्तान मुस्लिम लिगको जन्म त्यही क्रममा भएको थियो ।

स्वतन्त्र उम्मेदवारका रूपमा जितेपनि पिटिआई समर्थित सांसदले संसदभित्र एक अनौपचारिक समूहका रूपमा काम गर्न सक्नेछन् । तर, यसको कानूनी जटिलताको पाटो भने अर्कै छ । पाकिस्तानको संसद ‘नेसनल एसेम्बली’ ३३६ सिटको हुन्छ । यसमध्ये २६६ सिटको मात्र प्रत्यक्ष निर्वाचन हुन्छ । बाँकी ६० सिट महिला र १० सिट गैरमुस्लिम अल्पसंख्यक समुदायका लागि आरक्षित छ ।

यो संख्या पार्टीहरूले प्राप्त गर्ने मतका आधारमा समानुपातिक वितरण गर्ने हुँदा यसको लाभ पाकिस्तान मुस्लिम लिग, पाकिस्तान पिपुल्स पार्टी र अन्य साना दललाई हुनेछ ।

सरकार गठन गर्न कम्तीमा १६८ सिट चाहिन्छ । स्वतन्त्र उम्मेदवारहरूले प्रत्यक्ष निर्वाचन तर्फबाट बहुमत हासिल गर्न सम्भव देखिएको छैन । तसर्थ स्वतन्त्र सांसदबाहेकका दल मिलेर सरकार गठन गर्ने बाटो सबैभन्दा सहज देखिन्छ । त्यसो भएमा पिटिआई समर्थित स्वतन्त्र सांसदले प्रतिपक्षको भूमिका गर्न सक्दछन् ।

मुस्लिम लिगका नेता नवाज सरिफले त्यसको संकेत गरिसकेका छन् । उनले दलहरू मिलेर गठबन्धन सरकार गठन गर्न आव्हान गरेका छन् । दोस्रो स्थानमा सीमित हुनुका बाबजुत उनले आफ्नो दललाई पहिलो ठूलो दलका रूपमा विजयी भएको दाबी गरेका छन् ।

पिटिआई समर्थित स्वतन्त्र सांसदलाई भिन्नाभिन्नै मान्दा उनको दाबी ठीकै हो तर, यो प्राविधिक कुरा मात्रै हो, दुनियाँलाई थाहा छ कि ती स्वतन्त्र सांसद पिटिआई र इमरान खान समर्थक हुन् । तिनले एक समूहको रूपमा संसदमा कुनै काम गर्नेछन् वा कुनै राजनीतिक निर्णय लिनेछन् ।

पाकिस्तान पिपुल्स पार्टीका नेता बिलावल भुट्टो जर्दारी जियाउल हकले फासी दिएका पूर्वप्रधानमन्त्री जुल्फीकार अली भुट्टोका नाति तथा सन् २००७ मा हत्या गरिएकी प्रधानमन्त्री बेनजिर भुट्टोका छोरा हुन् । कमजोर भइसकेको भनिएको यो पार्टीले सम्मानजनक तेस्रो स्थान हासिल गरेको छ ।

यो चुनावको सबैभन्दा रोचक पक्ष पूर्वप्रधानमन्त्री तथा पिटिआई नेता इमरान खानको राजनीतिक भविष्य थियो । भ्रष्टाचारको मुद्दामा उनी जेलमा छन् । उनको पार्टीलाई चुनाव लड्न प्रतिबन्ध गरिएको थियो । यी घटनापछि इमरान र पिटिआईको राजनीति उल्लेखनीयरूपमा कमजोर हुने पूर्वानुमान गरिएका थिए । मुस्लिम लिगले एकल बहुमत हासिल गर्ने र नवाज सरिफ चौथोपटक प्रधानमन्त्री हुने अपेक्षा थियो ।

एआईद्वारा तयार पारिएको एक भिडिओ सन्देश एक्समा राख्दै इमरान खानले आफ्नो पीटीआई पार्टीले विशाल जित हासिल गरेको बताएका छन्।

उनले आफ्नो दलविरुद्धका अनेकौँ कारबाहीबीच आफूहरूले उक्त सफलता हासिल गर्न सकेको बताएका छन्।

उक्त सन्देशमा भनिएको छ: “म तपाईँहरू प्रत्येकलाई सन् २०२४ को चुनाव जितेकोमा बधाई दिन चाहन्छ…तपाईँहरूले इतिहास रच्नुभएको छ।”

खान यतिखेर जेलमा छन्। आफू दोषी पाइएका मुद्दालाई उनले राजनीतिक मनसायबाट प्रेरित बताएका छन्।

भ्रष्टाचारजस्तो कठोर आरोपका बाबजुद इमरान खानलाई निर्वाचनले एक बलियो र लोकप्रिय नेताका रूपमा स्थापित गर्दिएको छ । तर, नयाँ चुनावपछि पनि पाकिस्तानी राजनीतिको दुर्भाग्य भने अन्त्य भएको छैन । पाकिस्तान फेरि क्रस रोडमा उँभिएको छ।